मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कस्तो नेतृत्व चुनिनुपर्छ नेपाली समाज टेक्ससमा ?

कस्तो नेतृत्व चुनिनुपर्छ नेपाली समाज टेक्ससमा ?


शुक्रबार बिहान अपरिचित नम्बरबाट कल आयो । ड्यालसको स्थानीय एरिया कोडकै नम्बरबाट कल आएको थियो । स्थानीय कसैले गरेको सोचेर कल रिसिभ गरेँ ।

उताबाट आवाज आयो -‘हजुर म नेपाली समाज टेक्ससको उम्मेदवार फलानो बोल्दैछु । चिन्नुभयो नि ?’

Advertisement
ADVERTISEMENT

व्यक्तिगत रुपमा नचिने पनि विगत केही दिनदेखि सामाजीक सञ्जालमा प्यानलकै प्रचार प्रसार, फोटो देखेकोले उहाँको नामसँग म परिचित भैसकेको थिएँ । म दोधारमा परेँ चिन्दछु भनौँ कि चिन्दिन भनौँ ? चिन्छु भनौँ भने विगत, वर्तमान केही जानकारी छैन । चिन्दिन भनौँ भने उम्मेदवार भन्ने कुरासम्म चाहि थाहा छ । उम्मेदवार भन्दा बाहेक उहाँका बारेमा अन्य (पारिवारिक, व्यबसायीक) केही थाहा नभएकोले मैले भने ‘हजुरलाई चिनिन त मैले ।’

उहाँले आफू आउँदो डिसेम्बर १३ तारिकमा हुने नेपाली समाज टेक्सस (एनएसटी) को चुनावमा उम्मेदवार भएको र भोट दिन अनुरोध गर्नुभयो । नेपालभन्दा बाहिर नेपालीहरुले नेपाली समुदायकै हितका लागि भनेर एनएसटी २७ वर्ष अघि स्थापना भएको हो । यही संस्था परिपक्व हुँदै अहिले १६ औं कार्यसमितिको निर्वाचन हुन लागेको छ । यस्तोमा घरघर पुगेर भोट माग्न संभव नहुने भएका कारण उम्मेदवारहरुले अधिकतम रुपमा फोनमा कल गरेर, सामाजीक सञ्जालको मार्फत प्रचार प्रसार, आफ्नो एजेण्डा सदस्य माझ लैजाने चलन केही वर्ष यता सुुरु भएको छ ।
धेरैले भन्छन् ‘उम्मेदवारहरुले हाम्रो प्राइभेसी हनन् गरे । कस्ले दियो हाम्रो नम्बर तिनीहरुलाई फोन गर्न, मेसेज गर्न ?’

जसजसले यसो भन्छन् नि मेरो दृष्टिमा ती पाखण्डी हुन् । किनकी एउटा फोन नम्बर लिएर कसैले कल गर्दैमा, मेसेज गर्दैमा कुनै पहाड खस्दैन । फोन नम्बर भनेको कुनै गोप्य, पत्ता लाग्नै नसक्ने तत्व हुँदै होइन । अमेरिकामा पब्लिकमा शेयर गर्दा जोखिम हुने भनेको सोसल सेक्युरिटी नम्बर र जन्ममिति मात्र हुन् । जन्ममिति पनि सामाजीक सञ्जालका कारण मार्क जुकेरबर्ग, इलोन मस्क र ज्याङ्ग यमिनको कव्जामा पुगिसकेको छ । त्यसोहुँदा कसैले कल गर्यो, मेसेज गर्यो भने ठूलै वित्यास परेको जसरी चियाको कपमा तुफान सिर्जना गर्नु कुनै जरुरी छैन । मन लाग्दैन कल रिसिभ नगर्नुस्, हेर्न मन लाग्दैन टेक्स्ट मेसेज तत्काल डिलिट हानिदिनुस् । आकाश खसेजसरी कोलाहल गर्न जरुरी छैन ।

म चर्चा गर्दैथिएँ फोन गरेर भोट माग्ने उम्मेदवारको । उहाँलाई मैले सोधेँ ‘तपाईका एजेण्डाहरु के छन् त ? के गर्नुहुन्छ जित्नुभयो भने ?’

‘१५/१६ वर्ष भयो अमेरिका आएको, पहिले काम र परिवार भन्दैमा बिजी भइयो । अब यसो समाजलाई समय दिउँ भनेर हो ।’

तपाईलाई अहिलेसम्म कतै प्रोग्रामहरु, मन्दिर, सामाजीक कार्यहरुमा देखेकै थिइन नि मैले ? फेरि मेरो प्रश्न वा चासो रह्यो उहाँलाई ।

‘अँ त्यस्तै भयो अहिलेसम्म । मन्दिरमा चाहि म जनैपूर्णिमा, शिवरात्रीमा आइरहन्छु । मेरी बुढी पनि तीजको पूजा गर्न चाहि आइरहन्छिन् । अब चाँही मन्दिर र सामाजीक काममा निरन्तर सकृय हुनेछु’ उहाँको जवाफ आयो ।

यतिका वर्षसम्म कतै नदेखिएका उहाँलाई कुन तत्वले नेपाली समाज टेक्ससको पद हाँसिल गर्ने तन्तु जगायो त्यो चाहि मैले धेरै प्रश्न गरिन । किनकी जनैपूर्णिमा र शिवरात्रीमा मन्दिरमा देखिए जसरी एनएसटीको पदले थेग्दैन । २७ वर्ष अघि वर्षमा २/४ पटक बैठक हुन्थे, पर्वहरु मनाउन, कसैलाइ विपद पर्दा सहयोग गर्नका लागि गठन गरिएको थियो । तर अहिले नेपाली समुदायको संख्या बढेसँगै एक हिसाबले एनएसटीको पद भनेको पूर्णकालिन स्वयम्सेवकको रुपमा रुपान्तरित भएको छ । एनएसटीका पदाधिकारीहरुको सकृयता, खटाई हेर्दा समय दिन नसक्ने व्यक्तिहरु सबैभन्दा असफल र अपजश बोकेर बिदा हुने लख काट्न उहाँहरुको दिनचर्या अवलोकन गरिरहनै पर्दैन ।

एक सातापछि हुन लागेको एनएसटीको चुनावका लागि अहिले दुई प्यानल खडा छन् । अन्य सबै पदाधिकारीहरुमा २/२ उम्मेदवार छन् भने कार्यसमिति सदस्य ५ जनाको लागि भने ११ जना उम्मेदवार छन् । अध्यक्षमा विजय भुसाल र जनक भण्डारीको उम्मेदवारी परेको छ । दुबै जना यतिखेर व्यापक प्रचार प्रसारमा संलग्न छन् । ४० वर्षिय भुसाल र ५८ बर्षिय भण्डारीको प्रतिस्पर्धाले ड्यालसको समुदायलाईनै विभक्त बनाएको छ ।

निर्वाचनले नेपालका राजनीतिक दलका भातृसंस्थाहरु समेत आन्तरिक रुपमा विभाजित देखिएका छन् । जनसम्पर्क समितिले आधिकारिक रुपमा कसैको पक्षमा मत मागेको छैन । तर यसका नेताहरु भुसाल र भण्डारी दुबैका पक्षमा छन् । उता एमाले निकट प्रवासी मञ्च नेता, कार्यकर्ता पनि विभाजित छन् । संस्थागत रुपमा कसलाई सहयोग गर्ने भन्ने बारेमा औपचारिक निर्णय नभएका कारण प्रवासी मञ्चका ठूलो संख्यामा सदस्यहरुले भुसाललाई सहयोग गर्ने संकेत देखिएको छ भने केहीले भण्डारीको पक्षमा मत मागिरहेका छन् ।

माओवादीको बहुसंख्यक भण्डारीका पक्षमा देखिएका छन् भने रास्वपा र राप्रपाका बहुसंख्यक भने भुसालको पक्षमा खुलेका छन् ।

चुनावी सरगर्मीसँगै अहिले अनेकथरि अनुहारहरुको चहलपहल समाजमा बढेको छ । लामो कपाल पाल्नेदेखि लिएर मुन्द्री लगाउनेसम्म, नेपालको राजनीतिको ह्यांगओभर बोकेकादेखि लिएर पछिल्लो समयका जेन्जी भनाउन चाहनेहरुकोसम्म बाक्लो चहलपहल केही सातादेखि देखिन थालेको छ । मुख्य कुरा चाँही ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेका नेपालीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार आउन समेत नेभिगेसन लगाउनेहरुको सम्मको उपस्थिती बढ्दो छ । थाहा छैन को कस्ले चुनाव जित्छन् ? कति हार्नेहरु चाही कैयौं वर्षलाई समुदायबाटै हराउँछन् ? ती फर्किएरै आउँछन् आउँदैनन् ?

अमेरिकामा समाजसेवा त्यति सजिलो, स्वयम्सेवा त्यति सहज विषय हुँदै होइन । ठूलो कमिटमेन्ट (प्रतिवद्धता) चाहिन्छ समाजसेवामा संलग्न हुनका निम्ति । त्यही भएर स्कुल, कलेजहरुले स्वयम्सेवा गरिएको समयलाई पढाईकै समय र लगानीका रुपमा लिएर क्रेडिट दिने गरेका हुन् ।

समाजसेवा गर्नका लागि सर्वप्रथम त व्यक्ति आफ्नो खुट्टामा उभिएको र आर्थिक रुपमा स्वाबलम्वी हुनुपर्छ । किनकी आर्थिक रुपमा सक्षम नभएका व्यक्तिहरु समाजसेवा भनेर लागिरहँदा घरव्यबहार चौपट, आर्थिक अवस्था डामाडोल हुनसक्छ । समाजसेवामा लाग्न मिलिनियर, बिलिनियरनै हुनुपर्छ भन्ने होइन, तर आर्थिक रुपमा नियमित आम्दानीको स्रोत भैसकेको व्यक्ति संलग्न हुँदा उसले तनावरहित रुपमा समाजलाई योगदान गर्नसक्छ । मेरो धारणा यसमा के छ भने आर्थिक रुपमा सक्षम व्यक्तिहरु संस्थाका १०/२० डलरमा लोभ गर्दैनन् वा र्याल काढ्दैनन् भन्ने पनि हो ।

समाजसेवामा लाग्न अर्थात अमेरिकाका सामाजीक संघसंस्थामा लाग्नेका लागि अर्को महत्वपूर्ण भनेको समयको व्यबस्थापन हो । अमेरिकी व्यस्त जीवन, कार्यस्थलो, व्यबसाय र परिवारबाट समय निकालेर समाजलाई दिन वा सामुदायिक कार्यमा संलग्न हुनका लागि समयको व्यबस्थापन निकै महत्वपूर्ण कार्य हो । समय दिन नसक्ने, निकाल्न नसक्ने, व्यबस्थापन गर्न नसक्ने व्यक्तिले संघसंस्थामा लाग्न रहर नगर्दा पनि हुन्छ ।

सामाजीक संस्थामा लाग्नका लागि अर्को महत्वपूर्ण पक्ष भनेको भिजन हो । पद ओगट्न, रेजुमीमा कार्यअनुभव थप्नका लागि मात्र संस्थामा लाग्न खोजिएको हो भने त्यसले न व्यक्ति, न समाज कसैको हित गर्दैन । संस्थामा लाग्दा मेरो पद कुन हो र त्यसको कार्यक्षेत्र, सीमा, काम, कर्तव्य र अधिकारका बारेमा जानकारी राखेर त्यस अनुसार भिजन साथ अघि बढ्ने हो भने व्यक्तिमा नेतृत्व विकास समेतको संभावना रहन्छ । कसैले उम्मेदवार होउँ भनेका भरमा, रहर गरेर पद लिनु भनेको संस्था र आफ्नो करिअरमा समेत घातक कार्य हो ।

पछिल्लो समयमा नेपाली समाज टेक्ससले अमेरिकामा एउटा चलायमान संस्थाका रुपमा पहिचान बनाएको छ । अमेरिकी सरकारी निकायदेखि लिएर राज्य, काउण्टी, सिटी तहमा समेत अलग्गै पहिचान र परिचय संस्थाले दिन सफल भएको छ । टेक्सस र यसमा पनि विशेषगरि नर्थ टेक्ससमा बढेको नेपाली समुदायको संख्या सँगै यसको कार्यभार पनि बढ्दो क्रममा छ । घरायशी समस्यादेखि लिएर निधन भएका व्यक्तिहरुको दाहसंस्कार, रोजगारी नपाएका विद्यार्थीलाई सहयोग देखि अनेक दुव्र्यसनमा फँसेकाहरुको उद्धार र व्यबस्थापनमा नेपाली समाजको सकृयता बढ्दो छ । परम्परागत रुपमा मनाइदै आएका चाडपर्व अनुसारका संस्कृति, कार्यक्रमहरु, ग्लोबल पाठशाला, नियमित स्वास्थ शिविरहरु त यसैपनि छँदैछन् ।

पछिल्ला केही वर्ष यता संस्थाको गतिविधि असाध्यै भाइब्रेन्ट रुपमा अघि बढेका देखिन्छन् । पदाधिकारीहरु निकै व्यस्त छन् । माथिनै उल्लेख भैसक्यो समुदायका सदस्यका पारिवारिक समस्यादेखि स्वास्थका इस्यु, रोजगारीका समस्यादेखि बच्चाहरुका समस्यासम्ममा संस्थाका पदाधिकारीहरु माग र अनुरोध भए अनुसार खटिरहेका देखिन्छन् । कस्तो देखिएको छ भने नेपाली समाज टेक्ससका पदाधिकारीहरु (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोअर्डिनेटरहरु) पूर्णकालिन जसरी लाग्नुपर्ने अवस्था छ ।

नेतृत्व छनौट गर्दा संस्थाका सदस्यहरुले अब हेर्नैपर्ने सन्दर्भ भनेको पहिले जस्तो कर्मकाण्डी पाराले, शनिबार र आइतबार छुट्टीको दिन समाजसेवा गर्छु भन्दै मन्दिर र एनएसटीको अफिसमा देखिएर मात्र पुग्दैन । वेकोदेखि डेन्टन, शरमनदेखि टेक्सरकानासम्म नेपालीलाई पर्दा पुग्नसक्ने ल्याकत भएको व्यक्तिलाई छान्नका लागि विवेक पुर्याउनुपर्ने अवस्था छ ।

भासन गर्ने र आसन ग्रहण गर्न मरिहत्ते गर्ने व्यक्तिहरु भन्दा अब फिल्डमा खटेर साँचो सामुदायिक सेवा गर्ने व्यक्ति हेर्नुपर्ने त्यत्तिकै जरुरी छ । व्यक्तिको विगतको सकृयता, पृष्ठभूमि, लगाव, उमेर जस्ता कुराहरु पनि ख्याल गर्नुपर्ने त्यत्तिकै आवश्यक छ । किनकी पद लिन अनेक तिकडम अपनाउने, चुनावमा ठूलाठूला कुरा गरेर गफ दिने अनि काम गर्नुपर्दा चाहि अनेक वहानावाजी गर्ने, घरका समस्या देखाउने, संस्थामा फलानो तिलानोले मलाई सकृय हुन दिएन भनेर दोषारोपण गरेर मात्र मुक्ति पाइदैन । समाजसेवामा काम गर्न अनुकुल बनाउने आफैैले हो, अरुले अनुकुलता बनाइदिने होइन । कार्यालयको काममा काम गर्ने वातावरण मिलाउने हाकिमले हो, तर संस्थाको काममा आफ्नो क्षमता अनुसार गर्ने आफैंले हो । यसमा व्यक्तिको विगतको पृष्ठभूमि, संलग्नता, चासो सबै कुराहरुले निर्भर गर्छ ।

धेरै मान्छेलाई लाग्छ संस्थाको नेतृत्व गर्ने मान्छे भद्र र इमान्दार हुनुपर्छ । इमान्दार हुनैपर्छ, आर्थिक रुपमा पारदर्शी र इमान्दारिता सबैभन्दा महत्वपूर्ण पक्ष हो । नैतिक रुपमा सदाचारी पनि हुनैपर्छ । भद्रता अर्को महत्वपूर्ण योग्यता हो । तर भद्रतानै सबथोक चाँही होइन । फेरि ड्यालस जस्तो भाइब्रेन्ट कम्युनिटीलाई भद्र मान्छे भएर मात्र पुग्दैन । अति भद्र मानिसहरुलाई अरुले परिचालन गरेका अनेकन दृष्टान्तहरु छन् । नेतृत्वले सबैलाई खुशी पार्नै सक्दैन । इमान्दारिता चाहिन्छ । खासमा नेतृत्वकर्ता भनेको नेपाली समुदायका हरेक आवश्यकता, समस्या, पीडामा उपस्थिती जनाउन सक्ने र आउँदा दिनमा के कस्ता आवश्यकता समुदायलाई पर्छन् त्यसको निधो गरेर त्यस अनुसार नीति, कार्यक्रम बनाउन सक्ने व्यक्ति चाहिन्छ । त्यस्तै अमेरिकी सिस्टमसँग समन्वय गर्ने व्यक्ति अबका दिनमा सख्त जरुरी देखिन्छ ।

आइतबार बिहान ह्युस्टनका युवा इन्जिनियर सतीश त्रिपाठी भन्दै हुनुुहुन्थ्यो -‘अमेरिकामा रहेका हामी धेरै नेपालीहरु नागरिकता लिने हिसाबले नेचुरलाइज त भयौैँ, तर हाम्रो सोसाइटी, हाम्रा संघसंस्था, हाम्रो काम गर्ने तौर तरिका, व्यवस्थापन चाहि नेचुरलाइज हुन सकेका छैनन् ।’ उहाँको आशय थियो हामी अमेरिकी सिस्टममा भन्दा नेपालकै तौर तरिका, उतैको राजनीतिक प्रभावमा रमाइरहेका छौँ । यसमा सुधार गरेर समष्टीगत रुपमा समुदाय र संघसंस्थाहरु अमेरिकी सिस्टममा नढल्ने हो भने पहिलो पुस्ताका नेपालीहरु त रमाइलोका लागि सहभागि होउँला । दोस्रो पुस्ताको आकर्षण हुनेछैन ।

अहिले पनि भाषण गर्न नबोलाएको निहुँमा, कुनै संस्थाले आशनग्रहणका लागि नाम नलिएको बहानामा मुख अमिलो पारेका अनेकन गुनासो समाजमा छन् । महाकालीको चाँदनी दोधाराका विषयमा धारणा राख्न माइक हातमा पर्दा मेचीपुलदेखि सुरुवात गरेर चुरो कुरा नगर्नेहरु पनि समाजमा छन् । किनकी उहाँहरु अझै अमेरिकी सिस्टममा भिज्न र अभ्यस्त हुन सक्नुभएको छैन ।

ड्यालसको नेपाली समुदाय यहाँको मात्र होइन, समस्त अमेरिकाको नेपाली समुदायको गेटवे हो । झण्डै ८० हजार प्लस नेपालीहरु ४०/५० माइलको सेरोफेरोमा अमेरिकाका न कुनै राज्यमा छन्, नत कुनै सिटीमा । केही वर्ष अघि न्यूयोर्क सर्वाधिक नेपाली जनघनत्व भएको स्थान थियो । तर आज अवसर,खुल्लापन, समुदायको खोजीमा ठूलो संख्या टेक्सस सरेको छ ।

समुदाय वृहद हुँदै गएसँगै मिश्रणका समस्याहरु देखिदा रहेछन् । पहिले नेपाली मात्रले चिनिने समुदाय अहिले चितवने, नुवाकोटे, झापाली, पाल्पाली, गुल्मेली, सुदूर पश्चिमे गुटमा विभक्त हुन पुगेका छन् । पछिल्लो समयमा न्यूयोर्कबाट आएका नेपाली, क्यालिफोर्नियाबाट आएका नेपाली, रैथाने टेक्ससका नेपाली जस्ता खेमा पनि सल्बलाएका छन् । चुनाव आएसँगै जिल्लागत खेमा, अमेरिकाका अन्य राज्यबाट आएकाहरु बीच अनौठो संबन्ध गाँसिएको देखिन थालेको छ । जसले सही र सक्षम व्यक्तित्वलाई नेतृत्वबाट बाहिर तुल्याउने मात्र नभएर जातीय, भेगीय आधारमा भोटबैंकको खतरा बढ्दो छ ।

डिसेम्बर १३ तारिक हुन लागेको एनएसटीको निर्वाचनको मिति नजिकिँदै गर्दा हामीले स्मरण गर्नुपर्ने कुरा के हो भने संस्थालाई गति दिनसक्ने व्यक्तिलाई चुन्नुपर्छ । ड्यालसमा बन्न लागेको एककरोड १० लाख डलरको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारको परियोजनालाई सफल बनाउन तत्पर व्यक्तिहरुलाई अवसर दिनुपर्छ । समाजसेवीको पगरी गुथ्न चाहने तर मन्दिरको परियोजनालाई फुटेको कौडी पनि सहयोग नगर्ने व्यक्तिहरु, बाहिर नकारात्मक टिकाटिप्पणी गर्ने, समाजमा नकारात्मक कुराहरु मात्र कोट्याइरहने र समाजलाई भाँड्न मात्र खोज्ने व्यक्तिहरुले बोकेका उम्मेदवारहरुलाई मत दिनु भनेको संस्थालाई रसातलमा धकेल्नु हो ।

नेपाल छाडेर आइसकेपछि हामीले नेपालको राजनीतिको फेर समात्नेलाई हेरेर होइन क्षमता, संभाव्यता हेरेर पदमा पुर्याउनुपर्छ । नेपालको राजनीतिकै फेर समात्नेप्रति मेरो कुनै पनि आग्रह पूर्वाग्रह छैन । उहाँहरुको लागि उपयुक्त संस्था नेपाली समाज टेक्सस चाहि होइन । उहाँहरु मध्य नेपाली कांग्रेससँग निकटका निम्ति जनसम्पर्क समितिको अधिवेशन हुँदैछ । च्याप्टरदेखि केन्द्रसम्म जनसम्पर्कका पदहरुमा सकृय हुँदा उहाँहरुले त्यहाँ खुलेर काम गर्न, प्रस्तुत हुन पाउनुहुनेछ ।

त्यस्तै एमाले निकटका निम्ति प्रवासी मञ्चका विभिन्न पदहरु खाली भएका छन् । कतै राजिनामा दिएर त कतै कारवाहीका नाममा पदहरु खाली छन् । एमाले निकटहरु त्यता लाग्दा अवश्य पनि क्षमता देखाउनु पाउनुहुनेछ । माओवादी, राप्रपा, रास्वपा लगायत दललाई छाड्नै नसक्नेले पनि ती दलका प्रवासी भातृसंस्थामा स्थान पाउनुहुनेछ । लुकेर, खुम्चिएर, पिल्सिएर कुनै संस्थामा बस्नुभन्दा खुल्ला दिलले छाती फुलाएर जो जहाँ उपयुक्त हुन्छ त्यहाँ सकृय हुँदा समाज, समुदाय सबैको हित हुनेछ ।

शेयर गर्नुहोस:

1.5k
Shares