मुख्य समाचार

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छ : महानिरीक्षक पौडेल

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छ : महानिरीक्षक पौडेल


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घले आज एक समारोहकाबीच सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई आज बधाई तथा शुभकामना प्रदान गरेको छ ।

नेपाल पूर्वसशस्त्र प्रहरी सङ्घका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सङ्घकोतर्फबाट बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।

Advertisement

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल र पूर्वसशस्त्र प्रहरी सङ्घबीचको सम्बन्ध केबल औपचारिक मात्र नभई अनुभव र ऊर्जाको इतिहास र वर्तमान, समर्पण र निरन्तरताका सम्बन्ध रहेको बताउदै बहालवाला सङ्गठन र पूर्वसङ्गठनबीचको सम्बन्ध जति बलियो हुन्छ सङ्गठनको संस्थागत स्मृति, क्षमता र विश्वसनियता पनि त्यति नै सुदृढ हुँदै जानेसमेत उल्लेख गरे ।

महानिरीक्षक पौडेलले भने, “आज सङ्गठनले प्राप्त गरेको प्रतिष्ठा, जनविश्वास र संस्थागत पहिचान सहजै निर्माण भएको होइन यसको पछाडि अग्रजहरुको त्याग, बलिदान, सङ्घर्ष, समर्पण र व्यावसायिकताको लामो इतिहास जोडिएको छ त्यो इतिहासलाई भविष्य निर्माणको प्रेरणाको रुपमा ग्रहण गर्नुपर्दछ ।”

उनले सङ्गठनको हित र छविसँग सम्बन्धित विषयमा पूर्वसङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिर्दै सङ्गठनको हित, मनोबल र दीर्घकालीन प्रभावसँग सम्बन्धित विषयमा पूर्वसङ्घ सक्रिय हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सङ्गठनमा विगतदेखि नै प्रत्येक नेतृत्वले उल्लेख्य कार्य गर्दै आइरहेको बताउदै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको कार्यकालमा सङ्गठनले आफ्ना विभिन्न क्षेत्रमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्वसशस्त्र प्रहरी सङ्घका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सङ्गठनमा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै यससँगै वृत्तिविकासको प्रक्रिया अघि बढ्ने बताए ।

कार्यक्रममा महानिरीक्षक पौडेललाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकलगायत अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।