टेलिभिजनमा अमाजन प्राइम भित्र पस्ने क्रममा एकाएक परिचित अनुहारको फोटो देखापर्यो । नेपाली कलाकार हरिवंश आचार्य हो कि जस्तो लागेर स्क्रोल गर्न रोकिएँ । फिल्मको नाम अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ मा नेपाली फिल्म ‘भूठान’ लाई अमेजनको ओटिटी प्लाटफर्ममा राखिएको रहेछ ।
फिल्म हेर्नका लागि पे-वाल राखिएको थियो । अर्थात एचडी क्वालिटीमा हेर्नका निम्ति ४८ घण्टाका लागि ५ डलर भाडा रहेछ । गत वैशाख (अप्रिल) मा रिलिज भएको यो फिल्मका सन्दर्भमा नेपाली मिडियामा मिश्रीत रिभ्यू थियो । कसैले भुटानी शरणार्थीका अमेरिका बसाईको यथार्थ कथाव्यथा भनेका थिए भने कसैले सानो कथामा रुमल्लिएको र सस्तो बजेटको फिल्म भनेर टिप्पणी पनि गरेका थिए ।
एकातिर त्यतिखेर हलमा गएर हेर्न नपाएको, अर्कातिर अमेरिकामै रहेका नेपालीभाषी/नेपालीमुलका भुटानीका कथावस्तुमा बनेको हुँदा ‘पाँच डलर त हो नि तिरेर हेरौँ हेरौँ’ मनमा जाग्यो । भीषण हिमपातले तीन दिनसम्म बाहिर जान नसकेको अवस्थामा आइतबार दिउँसै घरमा बसेर भूठान हेरियो ।
मैले तेस्रो देश पुनर्स्थापना कार्यक्रम अन्तरगत अमेरिका आएका धेरै नेपालीभाषी भुटानीहरुलाई चिनेको छु । केहीसँग गहिरो मित्रता पनि छ, केहीसँग लामै समय सहकार्य पनि गरेको छुु । अझै केहीसँग सहकार्य जारी छ । उनीहरुको कथा, व्यथासँग थोर बहुत जानकार पनि छु ।
सन् २०१६ को सुरुवातताका म फोर्टवर्थ सिटीमा एउटा कम्पनीमा काम गर्थे । जहाँ ठूलो संख्यामा भुटानीहरु थिए । लञ्चब्रेकमा उनीहरुसँगै खाना खान्थेँ । सँगै काम पनि गर्थे । उनीहरु मध्य केहीले अन्तरआत्माबाटै भन्थे ‘हामीलाई एकपटक हाम्रो पुर्खाको थलो भुटान पुगेर त्यहाँको माटो चुम्ने रहर छ ।’
भुटानको धमिलो सम्झना भएकाहरु चाहि भन्थे ‘हाम्रो खेतबारीमा बाह्रैमास कति फलफूल हुन्थ्यो । हावापानी कति राम्रो थियो । कहाँ यहाँको जस्तो नत जाडोमा बाहिर निस्कन सक्ने, नत गर्मीमा बाहिर हिँडडुल गर्न सक्ने थियो र त्यहाँ ?’
वयष्कहरुको भनाई चाहि अलिक पृथक थियो । ‘भुटानमै भैरहेको भए बढीमा कलकत्ता, दिल्ली, दार्जिलिङ्गसम्म पुगिन्थ्यो होला । जिग्मेले खेदेर हामीलाई गुन नै लगायो । त्यसले नखेदेको भए कहाँबाट अमेरिका आइपुगिन्थ्यो होला र ?’
तर उनीहरु सबैको रहर अर्थात यो जुनिको सबैभन्दा अन्तिम चाहना चाहि भुटानको माटो एकपटक टेक्ने थियो ।
उनीहरुसँग पूर्बी नेपालको झापा, मोरङ्गका बिभिन्न शिविरमा बस्दाको दुःखद जीवनको अलग्गै कथा व्यथा थियो । ‘पेटभरि खान पाइदैन्थ्यो । बाहिर काम गर्न जाँदा पुलिसको डर थियो । नेपाली दाजुभाईहरु मध्य धेरैले राम्रो व्यबहार गरे पनि केहीले शोषण, दुर्व्यवहार गरेको’ पीडा सुनाउँथे ।
उनीहरु रहरले होइन, नियतीले अमेरिका ल्याइए । सँगै बसेका साथी, सँगै पढेका सहपाठी, शेल्टर जोडिएका छिमेकी अलग अलग देश पुर्याइए । इन्टरनेसनल माइग्रेनस अर्गनाइजेसन (आइओएम) को पहलमा अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, न्यूजील्याण्ड लगायतका देशहरुले उनीहरुलाई स्विकार गरे ।
त्यतिखेर ठूलो संख्यामा भुटानीहरु टेक्ससको ड्यालस फोर्टवर्थ आइपुगेका थिए । करिब एकलाख भुटानीहरूलाइ पुनर्थापना कार्यक्रम अन्तरगत अमेरिकाका बिभिन्न स्थानमा उनीहरुलाई राखिएको थियो । ड्यालस फोर्टवर्थमा बसेका ठूलो संख्याका भुटानीहरु एकपछि अर्को गर्दै अमेरिकाको उत्तरी राज्य ओहायो, पेन्सलभेनिया सरे । ती राज्यहरुमा वृद्धवृद्धाहरुलाई सुविधा, स्वास्थ क्षेत्रमा सहजता भन्दै उनीहरु त्यता लागे । एक हिसाबले ती दुई राज्य अहिले नेपालीभाषी भुटानीहरुको घनाआवादी भएको राज्यमा पर्छन् ।
भूठान चलचित्र पनि त्यही ओहायो राज्यका विष्णु (हरिवंश आचार्य) को कथाको सेरोफेरोमा घुमेको छ ।
एक्रोन सिटीमा बस्ने उनका दुई पत्नी हुन्छन् । दुबै पत्नीहरुलाई उनले पुनस्र्थापना कार्यक्रम अन्तरगत अमेरिका ल्याएका छन् । दुबै पत्नीबाट एकएक छोराहरु पनि छन् । मैले माथि भनेजस्तै विष्णुलाई आफ्नो अन्तिम धोको एक पटक आफू जन्मेको, हुकेको भुटानको गाउँ टेक्ने हुन्छ । त्यसका लागि उनले भुटानी कन्सुलर अफिसमा १० पटक भिसा आवेदन गरिसकेका छन् । तर हरेक पटक रिजेक्ट भैरहेको छ ।
उनले आफू भुटानमा छँदा फुटबल खेलाडी रहेको र देशलाई पदक पनि दिलाएको जानकारी दिँदा पनि भिसा अफिसरले दिन अस्विकार गर्छन् । शायद त्यसैका कारण हुनुपर्छ उनलाई मानसिक समस्या छ ।
अर्कातिर दुई पत्नीमध्य एक जेठी परम्परागत रुपमा पुर्खाले मानि आएको सनातन हिन्दु धर्म संस्कार प्रति आगाध आस्था राख्ने र त्यस अनुसार चल्ने स्वभावकी छिन् । उनी तर्फका छोरा पनि आफ्नो धर्म संस्कार प्रति कटिवद्ध छन् ।
कान्छी पत्नी र उनीतर्फका छोरा (दयाहाङ्ग राई) भने क्रिश्चियन बनेका छन् । उनीहरु बिष्णुलाई चर्चमा जान वाध्य पार्छन् । त्यसरी दवाव दिनेमा भुटानीमुलकै एकजना पास्टर पनि हुन्छन् ।
बिष्णुलाइ क्रिश्चियन बन्नका लागि ती पास्टर दवाव, प्रभाव दिइरहन्छन् । तर उनको भाव बुझ्दा आफ्नो सनातन धर्मप्रतिनै आस्थावान र धर्म परिवर्तन प्रति इच्छुक देखिदैनन् ।
‘भुटान टेक्न पाउँ’ भनेर उनले भुटानी राजाको बखान गर्दै विन्तीपत्र पनि हुलाकबाट पठाउँछन् । त्यसका लागि उनले नातिनीको सहारामा अंग्रेजी भाषामा लेखेर पठाएका हुन्छन् । तर ती कुनै चिजले जिग्मेका सन्तानको मनमा दया जाग्दैन, विष्णुले भिसा पाउँदैनन् ।
यो फिल्मले अमेरिकामा हुर्किएका बालबालिकाहरुको जिद्धीपन, उचित अभिभावकत्व नपुग्दा गलत संगत, युवाहरुमा देखिएको विकृतीलाई पनि थोरै प्रस्तुत गरेको छ । तर बढी मिहिन ढंगले भने वृद्धावस्थाका अमेरिका आइपुगेकाहरुमा देखिने आफ्नो माटोको न्यास्रोपन, संस्कार र संस्कृति नमिल्दा हुने मानसिक समस्यालाई मिहिन रुपले बाहिर ल्याएको छ ।
विष्णुले फिल्ममा संवादका क्रममा भन्छन् ‘एक ठाउँमा जरा गाडीसकेको रुख अर्को ठाउँमा सार्दा पाप लाग्छ ।’
वृक्षका रुपमा वृद्धवृद्धाहरु प्रति संकेत गर्दै आइओएम लगायत संयुक्त राष्ट्रसंघीय निकायहरुले भुटानलाई दवाव दिएर आफ्ना नागरिकलाई स्विकार गर्न वाध्य नबनाएर सजिलो तेस्रो देश पुनर्स्थापना कार्यक्रम मार्फत नयाँ ठाउँमा सारिएकोमा गुनासोलाई यो संवाद मार्फत भनिएको स्पष्ट बुझ्न सकिन्छ । उनी भन्छन्-‘जरा समेत भएका रूख त फक्रिन सकेनन् भने चारैतिर जरा काटेर ल्याइएकाको के हविगत ?’
फिल्म सललल बगेको छैन । कतिपय दृश्यहरु गज्याङ्ग मज्याङ्ग छन् । अमेरिका बाहिरका दर्शकले हेर्दा सन्दर्भहरु नबुझ्ने समस्या पनि छन् । महामृत्युञ्जय मन्त्र जप्ने क्रममा नाङ्गो देखाइएको छ । यो किन हो दर्शकले बुझन नसक्ने अवस्था छ ।
धर्म परिवर्तन, भिसा अस्वीकृतका दवावबीच विष्णुले रेलवे लाइनमा गएर आत्महत्या गर्छन् । रेलले किचेको उनको शव सग्लो रुपमा कफिनमा राखिएको देखाइन्छ । रेलले किचेको मान्छे सग्लो हुन्छ ? यसले पनि फिल्म निर्माणपक्षले सानो कुरामा पनि ध्यान नदिएको जस्तो महसुस हुन्छ ।
अर्कातिर अमेरिकामा दुई पत्नी राख्नु कानुनी रुपमा दण्डनीय र बर्जित हुँदाहुँदै उनले कसरी ल्याए ? कसरी दुबैलाई पत्नीको मान्यता दिन सके ? यो दर्शकको दिमागले अर्को खोज्ने प्रश्न हो ।
जिउँदो छँदा पनि सुख र चयनसाथ जिउन नपाएका विष्णुको निधन पछि अर्को लफडा सुरु हुन्छ । कान्छीपट्टीका छोरा, जो सेनामा कार्यरत छन् । उनी (दयाहाङ्ग राई) आइपुग्छन् र जेठी आमा पट्टीका दाईसँग लफडा सुरु गर्छन् बाउको अन्तिम संस्कार क्रिश्चियन परम्परा अन्तरगत गाडेर गर्नुपर्छ भन्दै । हिन्दु धर्म अनुसार शवदाह गरेर गर्ने कि क्रिश्चियन परम्परा अनुसार गाडेर गर्ने पारिवारिक विवादमा उनको शव कोल्डस्टोरमा राखिन्छ । स्टोरमा राखिएकै क्रममा उनको आत्मा त्यहाँबाट कफिनमै कतै अज्ञात स्थान तर्फ लागेको दृश्य सँगै फिल्म अन्त्य हुन्छ ।
पहिलो पुस्ताका भुटानीहरू, जो भुटानै जन्मिएर त्यहाँको माटोमा भिजेर जीवन बिताइरहेका र अहिले प्रौढ भएकाहरुलाई आप्रवासी जीवन निकै कठिन छ । अधिकांशमा भाषागत समस्या, स्थानीय कानुनलाई अवज्ञा गर्ने परिपाटीले उनीहरुमा मानसिक दवाव परेको छ । जसरी विष्णुलाई दवाव मात्र नपरि त्यसबाट मानसिक बिरामीको ओखती समेत सेवन गरिरहेका छन् । यही पुस्ताहरु भेला भएर चाडपर्व मनाउँछन् । पूजापाठ, भजन गर्छन् ।
दोस्रो पुस्ताका भुटानी, जो भुटानमै जन्मिएर बाल्यकालमै नेपालको शिविरमा आइपुगे, अनि जो शिविरमा जन्मिए । उनीहरुका निम्ति अमेरिका मोजमस्तीको थलो, नेपालमा भोगेको अभाव, पीडालाई बिर्सिएर नयाँ जीवनको सुरुवात गर्ने ठाउँ भएको छ । मनग्गे सरकारी सुविधाका कारण उनीहरु मध्य केही बिग्रिएका पनि छन् । त्यसैको फलस्वरुप हालैमात्र अमेरिकी सरकारले डिपोर्ट गरेकाहरु यही वर्गका छन् । यो पुस्ता मध्य धेरैले समय चिनेर, अवसरलाई समातेर प्रगति गरेका छन् । थोरै चाहि बिग्रिएका छन् । यो वर्गका धेरैलाई जीवनमा टन्न पैसा कमाउने र पर्यटक भिसामा भुटान पुग्ने ठूलो रहर छ । यही पुस्ता मध्य धेरैजना आफ्नो विगतलाई सम्झिदै हुर्के बढेको नेपालको शिवीरमा पुगेर आउँछन् ।
तेस्रो पुस्ताका भुटानी, जो थोरै शिविरमा जन्मिएका र अरु बाँकी अमेरिकामा जन्मिएका र हुर्किएका छन् । उनीहरुलाई भुटान भन्ने देश एकादेशको कथा जस्तो मात्र छ ।
समष्टीमा भूठानको कथावस्तु, अभिनय उत्कृष्ठ छ । एकाध ठाउँ बाहेक कथा वस्तु सरल भएकोले बुझ्न त्यति गाह्रो पनि छैन । अमेजन प्राइममा अंग्रेजी सबटाइटल समेत राखिएकोले नेपाली भाषा कमजोर हुनेलाई सजिलो छ ।













प्रतिक्रिया