ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आउँदो नेतृत्वको चुनावी दिन नजिक आउँदै गर्दा ड्यालसको सेरोफेरो निकै गर्माएको छ ।
६ हजार भन्दा बढी सदस्य रहेको नेपाली समाज टेक्सस २७ वर्ष अघि स्थापना भएको संस्था हो । यो संस्थाको नयाँ नेतृत्वका लागि आउँदो डिसेम्बर १३ तारिकमा चुनाव हुँदैछ । चुनावका लागि विगतमा कहिल्यै नदेखिएको प्रतिस्पर्धा यसपटक देखिएको छ ।
हरेक दुईदुई वर्षमा हुने नयाँ नेतृत्व चयन अन्तरगत यस पटकको चुनाव अझै रोचक र घोचक हुने अनुमान समाजका अगुवाहरुले गरेका छन् । विगत लामो समयदेखि अध्यक्षका लागि दुईजनाको प्रतिस्पर्धा हुने गरेको थियो । तर एक पटक तीनजनाको प्रतिस्पर्धा भएको थियो । तर यसपटक भने अध्यक्षका लागि चार जनाको नाम चर्चामा छ ।
यस पटक अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी, उपाध्यक्ष बलराम पौडेल, महसचिव विजय भुसाल र प्रवक्ता किरण पौडेलको नाम चर्चामा छ । चारैजनाले आफू अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएको सामाजीक सञ्जालबाट जानकारी दिएका छन् । तर उम्मेदवारी दर्ता गर्ने अन्तिम समय मंगलबार साँझसम्म धेरै चलखेल र उम्मेदवारीमा फेरवदल हुनसक्ने अनुमान पनि गरिएको छ ।
महासचिवमा वर्तमान कोषाध्यक्ष रामकृष्ण यादव र युवा संयोजक प्रविश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महिला उपाध्यक्षमा राधिका खराल र शान्ता गिरीले उम्मेदवारी सामाजीक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।
अन्य पदहरुमा समिकरण र प्यानल मिलाएर जाने प्रयास चारैजना उम्मेदवारहरुले गरिरहेका छन् ।
स्रोतका अनुसार पुरै प्यानलका साथ प्रतिस्पर्धामा जानका लागि विजय भुसाल र जनक भण्डारीको टीम तयार भैसकेको छ । नेपाली समाज टेक्ससका विभिन्न पदका आकांक्षीहरु धेरै भएपछि टीममा पार्न र हटाउनका लागि अध्यक्षका उम्मेदवारहरु निकै कसरथमा व्यस्त देखिन्छन् ।
एउटा टीमबाट उम्मेदवारी दिन नपाए अर्कोमा जाने मात्र होइन, मलाई त फलानोले यो पद दिन्छु भनेका छन्, नभए उताबाट उम्मेदवारी दिन्छु भन्दै अर्को पक्षसँग वार्गेनिङ्ग गरेका घटनाहरु समेत बाहिरिएका छन् ।
नेपाली समाज टेक्ससको इतिहासमै यसपटक सबैभन्दा बढी सदस्य भएका छन् । ६ हजार १ सय ९१ सदस्य भएका छन् । यो संख्याले पनि यसपटकको चुनाव बढी प्रतिस्पर्धात्मक र रोचक बनाउने अनुमान गरिएको छ ।
यसपटकको चुनावमा विगतमा जस्तो नेपालको राजनीतिक दलको सिधा प्रभाव नपर्ने संकेत देखिएको छ । विगतको चुनावमा कांग्रेस निकट जनसम्पर्क समिति र एमाले निकट प्रवासी मञ्चबीच टक्कर पर्ने गरेको थियो । तर यसपटक त्यस्तो इण्डोर्समेण्ट कसैले गराएमा वा गरेमा उल्टो असर पर्ने संभावना बढेको छ ।
अहिले उम्मेदवारको तय गर्न चारैजना अध्यक्षका आकांक्षीहरु व्यस्त छन् । वास्तविक चुनाव भने मंगलबार साँझ उम्मेदवारी दर्ता प्रकृया समापन भएपछि लाग्ने संभावना छ ।
चुनावको लागि प्रहरी सुरक्षाः
यसबीच निर्वाचन समितिले आइतबार साँझ आयोजना गरेको कार्यक्रममा चुनाव आयुक्त विजयराज भट्टराईले हालसम्मका गतिविधिबारे प्रकाश पार्नुका साथै चुनावी कार्ययोजना सार्वजनिक गरे ।
चुनाव डिसेम्बर १३ तारिक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार युलेसमा हुनेछ । सुरक्षाका लागि निर्वाचन समितिले युलेस प्रहरीको सहयोग मागेको छ ।
चुनावमा एउटा मतपेटिका उम्मेदवारहरुको मतपत्र खसाल्न र अर्को मतपेटिका नेपाली समाज टेक्ससको विनियमावली परिवर्तनका लागि राखिने समेत उनले जानकारी दिए । १६ वटा पदको चुनाव हुनेछन् ।
उम्मेदवारको मनोनयन शुल्क महंगो भएको जनगुनासो प्रति निर्वाचन समितिले विगतमा भन्दा घटाइएको दावी गरेका छ । ‘विगतमा अध्यक्षको लागि पाँचहजार डलर मनोनयन शुल्क थियो, अहिले क्रमशः घटाइएको छ’ भट्टराईले भने ।
त्यस अवसरमा चुनाव अायुक्तद्वय बासुदेव भण्डारी र बेदराज बस्नेतले चुनावी तयारी र योजनाका बारेमा जानकारी दिएका थिए ।












प्रतिक्रिया