मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

– घर डढाएर खरानी बेच्ने ध्याउन्न

– घर डढाएर खरानी बेच्ने ध्याउन्न

बब्लु र विकास माथि बदनामीको मूल्य कस्ले चुकाउने ?


नेपाली समाजमा एउटा भनाई छ-‘घरमा आगो झोसेपछि खरानीको के दुःख ?’ भैरहेको चिजलाई ध्वँस्त बनाएर महत्वहिन सानो चिजको उपलव्धी हाँसिल गर्ने प्रवृत्तिलाई लिएर व्यङ्ग्य गर्न नेपाली जनजीब्रोमा यो उखान अहिले पनि निकै लोकप्रिय छ ।

प्रसङ्ग खरानीको भएपनि सन्दर्भ भने अहिलेको तात्तातो विषयको हो ।

Advertisement

प्रवासको नेपाली समाजमा खरानीकै लागि घरमा आगो लगाउनेहरुको कमि रहेनछ भन्ने तथ्य केही दिन यताका चर्चा परिचर्चाहरुले पुष्टी गरिरहेका छन् ।

सिंहदरबार खरानी उत्पादनस्थल भएपछि बनेका नेपालका एकजना मन्त्री अमेरिका आउने भए । उनी आफ्नै रहरले होइन, अमेरिकामा रहेका युवाहरुले उनलाई ल्याएर उनका कुरा सुन्ने रहर गरे । त्यो प्रस्ताव गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष विकास उप्रेतीसँग राखे । पछिल्लो समयमा एनआरएनए भित्रको पदीय लफडाबाजी, नीति भन्दा नेतृत्वमा देखिने छिनाझप्टीले युवाहरु विकर्षित भैरहेका छन् । एनआरएनएलाई पनि युवाहरुले नेपालका राजनीतिक दलको भातृसंस्थाका रुपमा बुझिरहेका छन् ।

यस्तो पृष्ठभूमिमा निकै सोचविचार गरेर उप्रेतीले युवाहरुको प्रस्ताव अनुसारको प्रोग्राम एनआरएनए अमेरिकाको व्यानरमा गर्न सहमति दिए । हुनत उप्रेती आफै पनि नेपालको पछिल्लो आन्दोलनमा देखिएको विध्वँसात्मक प्रवृृत्ति प्रति असहमति राख्ने व्यक्ति हुन् । नेपालमा रहँदा नेपाल विद्यार्थी संघको राजनीति गरेका उप्रेती अमेरिकामा पनि नेपाली काङ्ग्रेस प्रति सद्भाव, शुभेच्छा राख्ने व्यक्तिहरुको सूचिमा अग्रपंक्तीमै पर्छन् ।

उनले बैठक अनौपचारिक रुपमा बैठक गरेर युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई ल्याउने कुरामा सहमति दिए । आफ्नो व्यक्तिगत स्वार्थलाई पछि हटाउँदै युवालाई समेट्ने, युवाहरुको चाहना अनुसार संस्थाका कृयाकलापहरुलाई अघि बढाउन उप्रेतीले स्विकृती दिएका थिए । सोही अनुसार जनवरी १७ तारिक शनिबार ड्यालसमा कार्यक्रम हुने गरि तय भयो ।

यसैबीच गैर राजनीतिक व्यक्तिहरु सम्लग्न रहेर चुनाव गराउनका निम्ति पूर्ब प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषदका केही सदस्यहरु राजनीतिक दलमा संलग्न रहेको सन्दर्भ उठ्यो । प्रमं कार्कीले राजनीतिमा लाग्न रहर भएका मन्त्रीहरुलाई ‘राजिनामा दिन निर्देशन दिएको’ खबर बाहिरियो । कुलमान घिसिङ्ग, जगदीश खरेल र बब्लु गुप्तालाई राजिनामा दिन भनेको चर्चा चल्यो । घिसिङ्गले आफ्नै पहल, प्लानमा उज्यालो नेपाल पार्टी गठन गरेको र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गरेर पद समेत लिइसकेको भनेर बाहिरिएको तथ्यलाई ढाँट्दै ‘कुनै पनि दलमा सहभागी नभएको’ हास्यास्पद तर्क राखे । बब्लु गुप्ताले ‘अमेरिका भ्रमणको निम्तो आएको र त्यहाँ पुग्ने ठूलो रहर भएकोले फर्किएर राजिनामा दिने’ भनेको कुरा चर्चा चल्यो ।

बब्लुको जिन्दगीमा अमेरिका जाने ठूलो रहर भएको र फर्केपछि राजिनामा दिने कुराले धेरेका कान ठाडा भए । गुप्ताको यही भनाईले अवस्था बिग्रियो, भाँडभैलो निम्तियो ।

गुप्तालाई कस्ले बोलाएको अमेरिकामा भन्ने कुराको खोजीनीति सुरु भयो । सुरुमा त कस्ले बोलाएको भन्ने कुरै धेरैले भेउ पाएनन् । त्यसैले आयोजकै नभएको कार्यक्रम भनेर समाचार आए । पछि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले गर्ने कार्यक्रममा आउन लागेको भन्ने कुरा तथ्य बाहिरियो ।

अमेरिकामा दुई एनआरएनए छन् । एउटा संस्थापन पक्ष (बद्री केसी) मातहतको, जसको अध्यक्ष विकास उप्रेती हुन् । अर्को चाहि महेश श्रेष्ठ मातहतको, जसको अध्यक्ष सत्येन्द्र साह छन् ।

उप्रेती अध्यक्ष रहेको एनआरएनएले गर्न लागेको कार्यक्रम भन्ने कुरा साह र उनका टिममा रहेकालाई जानकारी नहुने कुरै भएन । उप्रेती नेतृत्वको एनआरएनएलाई बदनाम गराउने स्वर्ण अवसर यही हो भन्ने सोचले हुनुपर्छ ‘मानव तस्करी’ जस्तो गम्भीर गैरकानुनी गतिविधिहरु भैरहेको र अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी, दुतावासमा औपचारिक रुपमा जानकारी दिने उल्लेख गर्दै साह नेतृत्वको संस्थाले विज्ञप्ती निकाल्यो ।

साह नेतृत्वको एनआरएनएले ‘हामी यो कार्यक्रममा संलग्न छैनौ र कार्यक्रमका बारेमा हामीलाई कुनै जानकारी नभएको व्यहोरा जानकारी दिन चाहन्छौ’ भनेर दुई लाइनको विज्ञप्ती प्रयाप्त हुन्थ्यो । तर खराब नियत राखेर मानव तस्करीमा संलग्न भनेर गंभीर आरोप नेपालका मन्त्रीदेखि लिएर उप्रेती नेतृत्वको लगाएपछि त्यसबाट अहिले संभावित दुर्घटनाको डरलाग्दो दृश्यले समाजका अगुवाहरु चिन्तित छन् ।

मन्त्री र संस्थालाई मानव तस्करीको आरोप लगाउनु आफैंमा अप्रमाणित विषय हो । त्यसमाथि अमेरिकी वर्तमान प्रशासनले आप्रवासी माथि निकै कठोर नीति र नजर लगाइरहेको बेलामा पुरानै नेपाली उखान ‘सौताको रिसले लोग्नेको काखमा पिसाब’ भनेजस्तो भएको छ । संस्थाको लेटरहेडमा यस्तो गंभीर आरोपले भरिएको विज्ञप्ती जारी गर्नुपूर्ब अध्यक्ष साह र संस्थाका पदाधिकारीले निकै गहन रुपमा सोच्नुपर्थ्यो । किनकी बोल्नुभन्दा पनि लेखेर आरोप लगाउनुले भोली मुद्धा मामिला परिहाल्दा त्यसको मूल्य निकै चर्को पर्नसक्छ । त्यसको बदनामीको भार साह र उनको नेतृत्वको एनआरएनले मात्र होइन आप्रवासी नेपाली समुदायमै चर्को रुपमा पर्ने संभावना त्यत्तिकै छ ।

त्यसमाथि संस्थाभित्रको आन्तरिक विवादमा तेस्रो पक्ष (अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटी र काठमाडौंस्थित अमेरिकी दुतावास) लाई समेत तान्ने प्रयासले नेपाली समुदाय किन यति घीनलाग्दो गरि एकले अर्कालाई गिराउन तल्लिन भएको छ भन्ने प्रश्न पनि त्यत्तिकै उठेको छ । पद भन्ने कुरा जीवनमा कहिलेकाँही आइमिल्ने चिज हुन् । पद नभएपनि समाजमा बाँच्न सकिन्छ, इज्जत आमोदसाथ जीवन निर्वाह र समाजमा प्रतिष्ठा हाँसिल गर्न सकिन्छ । संवन्ध भन्ने कुरा एक पटक बिग्रिएपछि वा चीरा परेपछि टाल्न निकै कठिन हुन्छ । झन् व्यक्तिगत विषय उठाएर गरिएको चरित्रहत्याको मूल्य त निकै महङ्गो पर्छ ।

नेपाली समुदायका अगुवा हौं भनेर घोक्रो पसार्ने र बुद्धि अनि विवेक चाँही पेनी बराबर पनि नभएकाहरुका यस्तै हरकतले ठूलो संख्यामा नेपालीहरु संघसंस्थामा आउन, सदस्य हुन रुचाउँदैनन् । ७० हजार नेपाली समुदाय भएको ड्यालस फोर्टवर्थमा ६ हजार हाराहारीमा मात्र नेपाली समाज टेक्ससको सदस्य छन् ।

अमेरिका भरि नेपालीको संख्या पाँचलाखको हाराहारीमा पुगिसक्यो, तर एनआरएनको सदस्य संख्या बर्षेनी घट्नुको कारण यस्तै विवाद हुन् ।

वर्तमान अमेरिकी प्रशासनले आउँदो जनवरी २१ तारिकदेखि नेपालीले भिसा लिँदा ५ हजारदेखि १५ हजार डलर धरौटी राख्नुपर्ने नीति लागु गर्दैछ । पोर्ट अफ इन्ट्रीका लागि सियाटलदेखि लसएञ्जलससम्म, ड्यालसदेखि डेनभरसम्मका नेपालीहरूलाइ सिमित विमानस्थल तोकिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका ३४ प्रतिशत नेपालीहरुले सरकारी सुविधा लिएर बसेका छन् भनेर तथ्य बाहिर ल्याए ।

यस्तो परिवेश र पृष्ठभूमिबीच नेपालका मन्त्री र एनआरएन संस्था मानव तस्करीमा लागेको भनेर आरोपले भरिपूर्ण विज्ञप्ती बाहिरिँदा त्यसको असर निकै ठूलो पर्नेछ । त्यसले नेपाली समुदायलाई फाइदा होइन चर्को घाटा पर्ने निश्चित छ । यसले मातृभूमि नेपालको इज्जत प्रतिष्ठा बढाउने होइन, बेइज्जती बढाउन मद्धत पुग्ने चिन्ता समुदायका धेरै अगुवाहरुले गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरु एउटै डुङ्गाका यात्री हौं भन्ने तथ्यलाई बिर्सिएर बेलाबेलामा देखाइने उत्तेजनाले कसैको हित गर्दैन । डुङ्गामा प्वाल पार्दा सबै डुब्छन् ।

‘म चाँही डुब्दिन’ भनेर कसैले सोचेको छ भने त्यो अर्को भ्रममात्र हुनेछ । प्रतिस्पर्धा हुनुपर्ने प्रवासी नेपालीहरुको हित, क्षमता अभिवृद्धि, अमेरिकी मुलधारको राजनीतिमा प्रवेश र स्थापित हुनका लागि थियो । तर एकले अर्कालाई खुइल्याउने नियतले भैरहेका हर्कतले सबैलाई पुग्छ । ‘एकले बिराउने, सारा पिराउने’ भन्ने उखान धेरै तिरबाट चरितार्थ हुँदै गएको सन्दर्भमा मिल्न नसकेर पोल खोलाखोल र आरोप प्रत्यारोपमै रमाउने हो भने त्यसले पुर्याउने क्षतीको परिणाम समस्त समुदायले भोग्नुपर्ने दिन अब धेरै टाढा छैन ।

तसर्थ प्रवासको घर (समुदाय) मा आगो झोसेर खरानीको व्यापारमा नलागौँ । समुदायले इज्जत आर्जन गर्ने तपाई हाम्रा कृयाकलापले हुन् । हाम्रा कृयाकलापबाटै संस्थाहरु इज्जतिलो र दर्बिलो बन्ने हुन् । नेतृत्वका लागि संस्थालाई बदनाम बनाउँदा भोली त्यो संस्थाको नेतृत्व आफ्नो पोल्टामा पर्दा संस्था इज्जतिलो कुनै हालतमा पनि हुँदैन ।

पदमा भएकाहरुले मस्तिष्कमा आएको शव्द बोलीका रुपमा बाहिर निकाल्दा दुई चोटी सोच्नुपर्छ, त्यही शव्द लेख्नु अघि दश पटक सोच्नुपर्छ । लेखेको कुरा अकाट्य प्रमाण बन्छ ।

उसै त नेपालमा एनआरएन प्रति हेर्ने दृष्टिकोण सकारात्मक छैन । त्यसमाथि बेलाबखतमा नेतृत्वमा रहेकाहरुले देखाउने बचकना, आलोकाचो स्वभाव, दम्भ, घमण्डले संस्था प्रति नेपालका सर्वसाधारणदेखि लिएर शासक प्रशासक, सांसददेखि लिएर प्रधानमन्त्री, मन्त्रीसम्म सकारात्मक छैनन् । अघिल्तिर चाँही एनआरएन प्रति गज्जब भनेपनि भित्रभित्रै हक अधिकार दिनमा कञ्जुस्याई देखिनुमा हाम्रै बचकना धेरै हदसम्म जिम्मेवार छन् ।

अमेरिका आउन रहर गरेका एक मन्त्रीलाई मानव तस्कर भनेर विवादमा तान्दा केही व्यक्तिहरुलाई रमाइलो र संसार जितेजस्तो भ्रम त भयो होला । तर यसको परिणाम भोली के पर्ला ? प्रधानमन्त्रीले के सोच्नुभयो होला ? जेन्जीका अभियन्ताहरुले एनआरएनलाई कसरी लिए होलान् ?

हुनतः वदनामी भोगिसकेपछि विवाद देखेर मन्त्री गुप्ताले अमेरिका नजाने घोषणा गरेको समाचार पनि बाहिरिएको छ । यसको क्षती कति पर्छ भन्ने कुरा चुनाव पछि कस्को परिणाम कस्तो अाउँछ भन्ने कुराले पनि देखाउनेछ ।

यसको संभावित क्षती चर्को पर्ने देखेरै हुनुपर्छ हिजो एनआरएनएका दुबै अध्यक्ष (बद्री केसी र महेश श्रेष्ठ) ले संयुक्त विज्ञप्ती जारी गरेका छन् । दुबैले नेपाल सरकारका मन्त्रीमाथि लागेको आरोप प्रति दुःख मनाउ गरेका छन् । तर नहुनु बेइज्जती आफ्ना कार्यकर्ताले गरिसकेपछि क्षमा मागेर, दुःख मनाउ गरेर क्षतीपूर्ति हुन्छ र ? अवश्य हुँदैन ।

शेयर गर्नुहोस:

6.1k
Shares