झण्डै एक दशक अघि हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य अमेरिकाको ड्यालस आउँदा पाँचहजार दर्शक अटाउने हलमा पाइला राख्ने ठाउँ थिएन । दर्शकहरु ‘उभिएर हेर्ने टिकट भएपनि दिनुपर्यो’ भन्दै खोजिरहेका थिए । कार्यक्रमस्थलमै थेगी नसक्नु भीड थियो ।
त्यसको पछिल्लो वर्ष सन् २०१५ मा धुर्मुस सुन्तली लगायतका कलाकारहरु आउँदा मदनकृष्ण र हरिवंशको जस्तो नभएपनि उल्लेखनीय सहभागिता थियो दर्शकको ।
नयाँवर्षका अवसरमा नेपाली समाज टेक्ससले गर्ने कार्यक्रमहरु हुन् या इन्द्रेणी सांस्कृतिक संघले तीजमा गरेका कार्यक्रमहरुमा सहभागिता देखेर नेपालबाट आएका कलाकारहरुनै उत्साहित बन्थे । ड्यालस र न्यूयोर्कको सहभागितानै कलाकारहरुको लागि मुख्य आम्दानीको क्षेत्र हुन्थे ।
त्यही वर्षको सेरोफेरोमा नायक भुवन केसीको कार्यक्रममा पनि त्यस्तै विशाल सहभागिता रह्यो । उनले नेपालबाट आफ्नो केही मूभीको सिडी समेत ल्याएर कार्यक्रमस्थलमा बेचे । ल्याएको सिडीले नपुगेर तत्काल बजारबाट खाली सिडी ल्याएर डबिङ्ग गरेर बेचे । डबिङ्ग त गरे, तर अधिकांश सिडी चक्काहरु खाली थिए ।
खाली चक्का बेचेको गुनासो यति आयो कि, त्यसपछि भुवन केसी फर्किएर पनि ड्यालस आउने आँट गरेनन् । एकपटक आएका थिए । तर कार्यक्रम गर्न सकेनन् । कसैले साथ दिएनन् । उनी प्रतिको छाप ड्यालसको नेपाली समुदायमा निकै खराब रुपमा गढेको छ ।
सन् २०१७ को दशैंमा हाँस्य कलाकार मनोज गजुरेल आउँदा दर्शकको संख्या घटेको देखेर उनले आयोजकलाई व्यंग्य कसे–‘कि मनोज गजुरेलको पसल चलेन, कि आयोजकहरु प्रतिको विश्वास गुमेको उदाहरण हो यो ।’ हुन पनि ठ्याक्कै एक दशक यता कार्यक्रममा दर्शक सहभागिता बर्षेनी पातलिँदो छ । नेपाली बढेका छन्, तर सहभागिता घट्दो छ । घरको व्याकयार्डमा गरिने कार्यक्रम भन्दा पनि संस्थाहरुले गर्ने कार्यक्रमहरुमा उपस्थिती उल्लेख्य ढङ्गले पातलिएको छ ।
पछिल्ला केही वर्ष यता नेपालबाट कलाकारहरु ल्याएर कार्यक्रम गर्ने ट्रेण्ड निकै घटेको छ टेक्ससमा । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र ९० हजारको हाराहारीमा नेपालीभाषीहरु रहेको अनुमान छ । कोरोनाकालपछि नेपालीहरुको संख्या ह्वात्तै बढेपनि कलाकारका प्रस्तुति हेर्न जानेको संख्या भने दिनानुदिन घट्दो छ । जसले गर्दा कलाकार ल्याएको खर्च उठ्नु त परको कुरा भयो उल्टो घाटा हुने अवस्था आएपछि कतिपय प्रोग्रामका मोड्यालिटी फेरिएका छन् भने अमेरिकामै रहेका नेपाली कलाकारलाई प्राथमिकता आयोजकले दिन थालेका छन् ।
पछिल्लो दशकमा ड्यालसमा दर्शकको उल्लेख्य सहभागिता भएको कन्सर्ट नेपथ्यको थियो । गत वर्ष आयोजित उक्त कार्यक्रम ड्यालसमा मात्र नभएर अमेरिकाका जे जति स्थानमा भए ती सबै सफल र भव्य रुपमा भएका थिए । हलमा उपस्थित संख्याले पनि नेपथ्यको कार्यक्रम जहाँजहाँ हुन्छन् सफल र भव्य भएका देखिएका छन् ।
भरखरै एक महिना अघि ड्यालसमा मम फेस्टिबलमा पनि दर्शकहरुको उल्लेख्य सहभागिता थियो । तर मम फेस्टिबल एउटा ब्राण्ड भैसकेकोले कलाकारका नामले भन्दा पनि कार्यक्रममा हुने विविधताले गर्दा कलाकारको नाममा कलौटे नै आएपनि, नआएपनि सहभागिता उल्लेख्य हुन्छ । किनकी व्यबस्थापनको चुस्तता र विविधताले सहभागिता तान्दै आएको छ ।
ड्यालसमा मात्र नभएर पछिल्लो दशकमा नेपालीहरुको संख्या अमेरिकाभरि निकै बढेको भएपनि कन्सर्ट र सांगितिक कार्यक्रममा सहभागिता पातलिँदै गएको छ । यसको कारण धेरै हुनसक्छन् । मनोरञ्जनका साधनहरु थपिएका छन् । कलाकारले गाउने गीत युटूब, टिकटक, रिल्सभरि छताछुल्ल छन् । अर्कोतिर आयोजकहरुले वाध्यताले टिकटको मूल्य पनि अलिक महंगो रुपले तय गर्दा सहभागिता घट्दो क्रममा छ । मम फेस्टबलमा दीपक–दिपा, शिवहरिले दिएका प्रस्तुति देखि लिएर अस्मिता अधिकारी र महेश काफ्लेले गाएका गीत युटूबमै छन् । कलाकारले पनि पहिलेनै कतै सुनाइसकेका हाँस्य प्रस्तुती दिने, गायक गायिकाले पनि पुरानै गीत सुनाउने गर्छन् । अनि दर्शकहरु युटूब र टिकटका सित्तैमा पाउने र घर बसिबसी हेर्न पाउने कन्टेन्ट भएपछि किन टिकट किनेर कार्यक्रमस्थलमा जाने ?
अमेरिकामा नेपाली कलाकारका प्रोग्राममा दर्शकहरुको सहभागिता पातलो हुँदै जानुमा कलाकारहरुको एटिच्युड पनि त्यत्तिकै जिम्मेवार हुँदै गएको पाइन्छ । पाँचयस डलर दियो भने कसैको घरको व्याकयार्डमा गएर पनि गाइदिने प्रवृत्ति कलाकारहरुमा देखिएको छ ।
कलाकारको रुपमा आइसकेपछि कलामै केन्द्रित हुनुपर्नेमा कतै गहना पसलको उद्घाटन, कतै बुटिकको उदघाटन, कतै शैलुनको उदघाटन गर्दै हिडेर आफ्नो भाउ र महत्व आफैं घटाइरहेका छन् । अर्थात व्यबसायीकता अलिकति पनि देखिदैन ।
ख्यातीप्राप्त सेलिब्रेटी कलाकारहरु र कुनै रेष्टुरेन्टमा गएर गाउनेका बीचमा पक्कै अन्तर होला । नभए रेष्टुरेन्टमा गाउनेलाई शरिरका जहाँसुकै छोएर दिएको टिप्स जस्तै गरि कलाकारहरुले शरिरभरि डलरका बील (नोट) टाँस्न दिएर गरेको हर्कत अर्को कुप्रथाका रुपमा विकास भैरहेको छ । देख्ने दर्शक लजाएका छन्, कुरा काटेका छन् । तर शरिरमा छोएर डलर टाँस्न दिने कलाकारहरुलाई लाज लाग्या छ कि छैन कुन्नि ?
कतिपय कलाकारहरु त राजनीतिक रुपमै मुछिन, रंगिन र नांगिन थालेपछि पनि कलाकार प्रतिको सम्मानको पर्खाल ढलिरहेका छन् । कलाकारहरु पनि सचेत नागरिक हुन् । सचेत नागरिकको हिसाबले मतदानमा सहभागिता हुनु, मन परेको दललाई समर्थन गर्नु अस्वभाविक होइन । यो संसारभरिनै हुन्छ । अमेरिकामा त झनै सेलिब्रेटीहरुले उम्मेदवारहरुलाई इण्डोर्स गर्ने चलनै छ । कतिले गर्छन, कति मौन बस्छन् ।
तर जनतामा वितृष्णा फैलाउन, हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिएका दृश्य जब बाहिरिन्छन् त्यसले कलाकारको इमेज ध्वँस्त बनाउन बल पुग्छ । भरखरैको घटनामा नेपालका केही कलाकारहरु विवादमा तानिए । संभवतः यसैको परिणाम पनि अमेरिकामा दीपक दीपा लगायतको कार्यक्रममा सहभागिता पहिले जस्तो न चार्मिङ्ग छ, न चासोपूर्णनै देखिन्छ ।
जतिसुकै कुरा गरेपनि अमेरिकामा रहेका पहिलो पुस्ताका अधिकांश नेपालीहरु नेपालको राजनीतिबाट पुर्णत अलग छैनन् । एउटा राजनीतिक दललाई कलाकारले गाली गर्दा त्यो दल निकटका व्यक्तिहरुले सहभागिता नजनाउँदा पनि कार्यक्रम असफल हुने संभावना हुन्छ । यसतर्फ केही कलाकारहरुले ध्यान दिनुको वदला भीडले जे रुचाउँछ त्यसतर्फ अघि बढ्दा उनीहरुलाई हानी पुगेको तथ्य अमेरिकामा पक्कै पनि अनुभव गरे होलान् ।
अर्को तर्फ अमेरिका भन्नासाथ कलाकारहरु आयोजकको विगत वर्तमान नबुझि, हुने आम्दानी र त्यसबाट अमेरिकी सरकारलाई तिर्ने कर, नेपाल रकम पठाउने वैधानिक च्यानल नबुझि भिसा पाउनासाथ आउने चलन देखिएको छ ।
अहिले अमेरिका पहिले जस्तो सहज र ‘चल्ता हे’ को अवस्थामा छैन । वर्तमान ट्रम्प प्रशासनले आर्थिक क्षेत्रको सानोभन्दा सानो छिद्र समेत खोजबिन गरिरहेको छ । कार्यक्रम गर्दा कतिको टिकट बिक्री भयो ? कति कलाकारलाई भुक्तानी गरियो ? भुक्तानी गरेको रकम कसरी र कुन च्यानलबाट नेपाल पठाइयो ? जस्ता कुराहरु अमेरिकी आन्तरिक राजश्व विभाग (आइआरएस) को नोटिसमा कुनै दिन अवश्य पर्नेछ । नेपालीको कन्सर्ट र टिकट बिक्रीको परिमाण सानो हुने भएर मात्र हो अमेरिकी सरकारले ठूलो चासोमा नपरेको ।
कतिपय कलाकारहरुको भुक्तानी यता कसैलाई डलर दिएर उता काठमाडौंमा नेपाली रुपैयाँमा दिने चलन रहेको बुझिएको छ । अर्थात बैंकिङ्ग या रेमिट्यान्सको च्यानल बाट नभै हुण्डी र पैसा साटासाट जस्तो च्यानलबाट जाँदा नेपाल सरकारको आधिकारिक च्यानलमा डलर गएको देखिदैन । केही महिना अघि राष्ट्रपति ट्रम्पले अमेरिका बाहिर पठाउने रेमिट्यान्समा समेत कर लगाउने प्रस्ताव गरेका थिए ।
अहिलेलाई त्यो स्थगित भएपनि कुनै पनि बेला कार्यान्वयनमा आउनसक्छ । त्यस्तो बेलामा हुण्डी कारोवारी वा आयोजकसँग नगदैमा डलर बुझ्ने कलाकारहरुमाथि यो बज्रिन सक्छ ।
अमेरिकामा आयोजक र कलाकारहरुबीच स्पष्ट सम्झौता बेगरनै कतिपय कार्यक्रमहरु हुने गरेका छन् । स्पष्ट सम्झौता नहुँदा बीचमै कार्यक्रम छाडेर कलाकारहरु फर्किने, आयोजक र कलाकारबीच अन्तरद्वन्द्व भएर कार्यक्रम फिका हुने, कार्यक्रम समापन पनि आर्थिक पारदर्शिता नहुँदा कलाकारहरु चिढिएका धेरै दृष्टान्तहरु छन् । मुखबोलीका भरमा धेरै कलाकारहरु अमेरिका भन्नासाथ फुरङ्ग परेर आउने र पछि विवाद परेका सन्दर्भका लागि धेरै पुराना घटनातिर जानै पर्दैन, कला लम्साल र एलिना चौहान अनि आयोजकको लफडालाई नियाल्दा मात्र पनि पुग्छ ।
कुनै लिखित सम्झौता नभै मुखले भनेका भरमा आएका कलाकारहरु मध्य लम्साल बिरामी भएर उपचार नपाई फर्किइन् भने चौहान आयोजकबाट प्रोफेसनल व्यबहार नभएको भन्दै कार्यक्रम पुरा नभै फर्किइन् ।
दीर्घकालिन सम्बन्ध राख्ने हो भने र पटक पटक अमेरिका आउने हो भने कलाकार र आयोजक दुबैले प्रोफेसनल व्यबहार गर्नैपर्छ । पारिश्रमिक कति ? कर कस्ले तिर्ने ? कतिवटा कार्यक्रममा प्रस्तुति दिने ? एउटा प्रोग्राममा कति वटा गीत गाउने ? कुनै ठाउँमा अतिरिक्त कार्यक्रमको प्रस्ताव आयो भने कति लिने ? कार्यक्रम वापतको पारिश्रमिकको भुक्तानी कसरी लिने ? जस्ता कुराहरु अन्तर्राष्ट्रिय प्राक्टिसलाई हेरेर गर्न जरुरी भैसकेको छ । नभए भोलीका दिनमा आयोजकले अमेरिकामा कार्यक्रम गर्नै नपाउनेगरि र कलाकारहरु अमेरिका पस्नै नपाउनेगरि ब्ल्याकलिष्टमा पर्न बेर छैन ।
देशपनि घुमिने र मुख पनि फेरिने हिसाबले मात्र आउने भए फरक कुरा । नभए प्रोफेसनल हिसाबले आयोजक र कलाकार दुबै अभि नबढ्ने हो भने गुम्दै गएको कलाकारको साख पनि धुलीसात हुने त पक्कै छ, नेपाली कलाकारका कार्यक्रम भनेपछि किन त्यहाँ पुग्नुपर्यो युटूबमै हेरे भैहाल्छ नि, युटूबकै त गाउने हुन् भन्ने अवस्था नआओस् ।












प्रतिक्रिया