जेन्जी आन्दोलनको तीन सातापछि म संयोगवश नेपाल पुगेँ । दशैँ तिहार मनाउने पूर्व योजना अनुसार पुगेको मलाइ पर्वको रापले भन्दा पनि भरखरै सकिएको जेन्जी आन्दोलनको रापले बढ्ता तान्यो । जताततै त्यसैको चर्चा र परिचर्चा थियो ।
पर्व भन्दा पनि पियन देखि प्रोफेसर सम्म; इनड्राइभ चलाउने ड्राइभर देखि एआई रोबोट बनाउने इन्जिनियर सम्म; वकिल देखि विशिष्ठ सम्म; सडकका फूलमाला बेच्ने देखि दरबारमार्गका साहुजी सम्म मात्र नभएर सडकका चिया पसल देखि तारे होटेलको डाइनिङ्ग सम्म; वडा सदस्य देखि मन्त्री भएका सम्म, जहाँ जसलाई भेटे अहिलेको राजनीति अवस्थाको बारेमा ती मान्छेहरुको मनोविज्ञान बुझ्न राजनैतिक कुरा मात्रै गरें।
यी सवैका कुराहरु सुन्दा प्राय: निराशा, भोलिको दिनको डर र चिन्ता, भविष्यको अन्योलता रहेको पाएँ। मूल कारकको रुपमा प्रमुख तीन राजनीतिक दलहरुले विस्तारै चाङ्ग लगाउदै गएको विकृतिको अग्लो चाङ्ग ठडिन नसकेर ढलेको पाएँ। दोश्रो कारण भने धेरैले बाह्य हस्तक्षेप बताएका थिए। यो लेखमा भने आन्तरिक राजनीतिको मा कुरा गर्नेछु। बाह्या हस्तक्षेपको बारेमा अर्को छुट्टै लेख्नेछु।
विकशित देशहरुमा राजनीति गर्ने चाहना गर्नेहरु राम्रो पढ्छन, राम्रो जागीर वा ब्यावशाय गर्छन, पैसा कमाउँछन, अनुभव बटुल्छन अनि देश र समाजको लागि केही गरौं भनेर सामाजिक गतिबिधि गर्दै राजनीतिमा आउछन। हाम्रो देशमा राजनीति आफैंमा एउटा पेशा बनेको छ।
राजनीतिलाई पेशा बनाउनेहरु वा राजनीतिज्ञबाट फाइदा लिइरहेकाहरुलाई यतिखेर विचलित छन। त्यसैले, ती मानिसहरु भदौ २३ (सेप्टेम्बर ८) किन र कसरी आयो भनेर त्यसको आत्मसाथ नगरी, मात्र भदौ २४ को कुरा गरेर “युवा स्पिरिट” लाई मृत्युवरण गराउन खोजिरहेका छन।
म २३ वर्षे छोरा र १५ वर्षे छोरीको पिता हुँ। म हुर्किएको परिवेश, समय भन्दा उनीहरु हुर्किएको समय र परिवेश फरक छ। मैले तिम्रो उमेरमा यसो गर्थे, उसो गर्थे तिमीले पनि त्यही गर्नुपर्छ भनेर छोराछोरीलाई पाठ पढाउन थाले भने न त मेरो कुरा उनीहरुले सुन्छन, न त हाम्रो सम्बन्ध सहज बन्छ, न त त्यो सही अप्रोच हो। त्यसरी छोराछोरी संग प्रस्तुत हुनु भनेको त केवल घर भाड्ने, परिवार बिगार्ने मेलो मात्र हो।
घरलाई घर जस्तो बनाउन घरमुलीले परिवारका सदस्यहरुलाई बुझ्नुपर्छ, तिनलाई बुझ्न पहिले आफूले आफूलाई समय अनुकुल परिमार्जन गर्न सक्नुपर्छ। देश चलाउन पदधारण गर्नेहरुले परिवर्तित सोचको मूल्यांकन गर्न सकेनन्। पदमा बस्ने बित्तिकै आफूमा बुद्दि पलाएको सम्झिए र सवैभन्दा जान्ने, बुझ्ने आफूलाई मात्र ठाने।
पछिल्लो समय अपधस्त प्रधानमन्त्री जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ युवाले तिनका बिरुद्दका नारा लगाए। आफू बिरुद्द नारा किन लाग्यो, कहिल्यै बुझ खोजेनन्, यसलाई सामान्य हिसावले उछृङ्खल हुल भनेर बुझे। तिनको अवमूल्यन गरेर रमाए, फाइदा लिन अघिपछि लाग्नेहरुले ताली पिटिरहे।
नेता र तिनका अघिपछि लाग्नेहरु विभिन्न बहानामा देश-विदेश घुमे र त्यहाँको विकास हेरे। तर त्यो विकासको मोडेल आँखाको रमाइलो मात्र बन्यो। त्यसलाई बुझ्ने प्रयत्न नै गरेनन्।
पछिल्लो १५ वर्षमा शिक्षा प्रणाली संसारमा ब्यापक एडभान्स भयो। यो शैक्षिक एडभान्समेण्टले मानव जीवनका सवै क्षेत्रमा परिवर्तन ल्यायो। अझ सूचना, संचार र प्रविधिको असीमित फड्को मार्यो र प्रविधिमा खेल्न सक्नेहरुको लागि सिंगो संसार एउटा शहर बन्यो। नेपालमा सरकारी नीतिले त्यसलाई आत्मसाथ गर्न सकेन। न त सरकार चलाउनेहरु, न त ब्युरोक्र्याटिक नेतृत्व कसैले यो परिवर्तन बुझ्न चाहेन। सरकार बनाउने, परिवर्तन गर्ने, हरेक महिना मूख्य मान्ती र प्रदेश सरकार परिवर्तन गर्ने यस्तै खेलमा रमाइरह्यो राजनीति।
इन्टर्नेटको ब्यापक प्रयोगले ३० वर्ष मुनिकाले ३० वर्ष माथिकाले भन्दा सन्सारको विकास र प्रगतिको मोडेल बढी बुझे र सोही अनुसारको अपेक्षा राखे। संसार अघि बढिरह्यो, युवाको चाहना र नेताको भ्रमको दूरी बढिरह्यो। त्यसैको प्रतिफल वि. सं. २०७४ देखिकै स्थानीय होस् वा संसदीय निर्वाचनलाई हेर्ने हो भने युवा सहभागीताको संख्या बढ्न थाल्यो। युवाले बुढालाई कटाक्ष गर्न थाले।
यो रियालिटिको ठीक विपरित पुराना राजनीतिक पार्टीहरुमा ‘बाउले छोरालाई मैले भनेको टेरिनस भने तलाई अंश दिन्न’ भन्ने शैलीमा युवा पुस्तालाई नियन्त्रण गर्दै लगे। जो ‘एस म्यान” को फर्मूलामा बसेनन् ती बिद्रोही बने, स्वतन्त्र भए, पार्टी छोडेर हिड्ने क्रम शुरुभयो। २०७९ को स्थानीय निर्वाचनले युवामा उत्साह थप्यो, संसदीय निर्वाचनले सानो परिणाम दियो।
प्रमुख तीन पार्टी भित्रै रहेका “एस म्यान” युवाहरु बाहिर गएकाले उछिन्ने भए भनेर हडवडाए, लडबडाए। आफ्नो स्थान सुरक्षित बनाउन, नेतृत्वको गल्तीको विरुद्द बोली लुकाए। राजनीतिले झन् गलत कोर्ष लियो। विदेशी ज्ञान, सीप र अर्थ बोकेर स्वदेशमै केही गरौं भन्ने चाहना राख्नेहरुलाई पाइला-पाइलामा खोट लगाउन थालियो। विदेशी एजेन्ट भनियो। राजनीति झनझन बिग्रदै गयो। अन्तत: घरघरबाट विद्रोहको बिगुल फुक्यो र भदौ २३ जन्मियो।
मैले भेटेका शतप्रतिशतले भदौ २३ को कारण तत्कालिन सरकारलाई देखेका रहेछन। तर, जीवनभर देश बनाउनै भनेर बिताएको यी राजनीतिकर्मीको उत्तरार्ध जेलमा नहोस भन्ने चाहना पनि केही मात्रामा सुने मैले। सम्भवत: अहिले भदौ २४ ले भदौ २३ लाई ढाक्न खोजिदैछ, त्यो त्यही विचारको प्रतिबिम्ब हो भन्ने लाग्छ मलाई।
मैले भेटेका ती धेरै व्यक्तिहरुको कुरालाई संस्लेषण गर्ने हो भने हिजो आर्मीको सुरक्षामा आफूलाई जोगाउनेहरुले, अव अर्को आन्दोलन गर्ने अवस्था आए आफूलाई जोगाउनै नसक्ने दिन आउन सक्छ।
यतिखेर मूल पार्टीका मूल नेताहरु प्रति जनताको मात्र हैन आफ्नै दोश्रो पुस्ताका नेताहरु र कार्यकर्ताहरुमा समेत वितृष्णा छ। पार्टी भित्रै पदीय जिम्मेवारीमा रहेका धेरै नेताहरु समेत आफ्नै नेतृत्वसंग असन्तुष्ट थिए। तसर्थ पनि यो आन्दोलनको विरुद्द कोही बोलेनन्आ, सरकारको पक्षमा आवाज नै सुनिएन। कसैले वचाउ गरेनन्, केवल खुच्चिंगको हिसावले हेरिरको पाएँ मैले।
अहिलेको सरकारको कुरा सुन्दा भदौ २३ र २४ को दोषी उपर उचित दण्ड र कारवाही गर्ने सामर्थ्य देखिदैन। पुरानै प्रणाली अनुसार निर्वाचन हुने सम्भावना देखिन्छ, जसको अर्थ २०८४ मा हुने निर्वाचन २०८२ मा हुनु मात्र हो। यसो हुनु भनेको युवाको चाहनाको अवमूल्यन हुनु रहेको पाएँ मैले। यदि त्यस्तो भयो भने यिनै तीन प्रमुख दलहरु निर्वाचन फाल्गुण २१ मा होस वा वैशाखमा पुगोस, मिलेर उठ्नेछन र यी तीनको संबैधानिक संयुक्त संख्याले (समानुपातिक सहित) बहुमत सांसद पुग्नेछ। अनि सरकार तिनैको बन्नेछ।
तर मैले बुझेको यथार्थ के हो भने चुनाव जितेर सरकार बनाए पनि तिनको मनोभावना कमजोर नै हुनेछ। पुन: आफ्नै नेतृत्वमा सत्ता फर्किएकोमा उनीहरुमा अहमता अझ बढ्नेछ र यसले युवाहरुको सुसासनको चाहना पुरागर्न सक्ने छैन। त्यसपछि पुन: युवाका माँगहरु बढ्नेछ जुन “इगो” का कारण सम्बोधन हुनेछैन र क्रमश: यो आन्दोलनमा परिणत हुनेछ।
यी धेरै फरक तह-तप्काका कुराहरु सुनिसके पछि मैले निकालेको निर्क्योल के हो भने – अहिले नेपालका युवाहरुको मनोवृत्ति एकै साथ क्रुद्ध, सतर्क र आशावादी मिश्रित अवस्थामा छ। हो, नेतृत्व विहीन आन्दोलनबाटै आएको परिवर्तन ह्याण्डल गर्न उनीहरु कमजोर देखिएका मात्र हुन। तर, पुराना दलका पुराना नेताहरु र तिनका पछुवाहरुले खेदो खनेझें कमजोर छैन यो उमेर समुह।
विश्व राजनैतिक बहस बुझेका युवाहरु आफ्नो भविष्यमा चिन्तित छन्। डिजिटल जीवन र रोजगारी दुवै क्षेत्रमा उनीहरुले हासिल गरेको प्रगतिले उनीहरूलाई तर्कशील बनाएको छ। स्मार्ट डिभाइस, सामाजिक सञ्जाल चलाउन र मात्र मनोरञ्जनको माध्यम भनेर बुझेको पुरानो विचार बोकेकाहरुले यो डिजिटल पुस्ताको राजनीतिक चेतना र सामुहिक सक्रियताको नेतृत्व गर्न सक्दैनन्।
पुरानो पार्टीहरुको नेतृत्व परिवर्तन बिना अहिलेकै नेतृत्वमा चुनावमा गएर अहिलेकै निर्वाचन प्रणालीबाट आएको परिणामले न त देशलाई निकाश दिन्छ न त जितेर आउने नेताहरुलाई। नयाँ र युवा भनिएकाहरु पनि आफैँ आफैँ मा मैं हुँ भन्दै संगठित हुन नसके पुराना पार्टीहरु झैं जिम्लिएको पानी हुनेछन। त्यसपछि बढ्ने असन्तुष्टीको कारण हुने आन्दोलनले भने ती नेतृत्वकर्ताले देश भित्रै टाउको लुकाउने स्थान पाउन गाह्रो हुने स्थिति बन्नसक्ने छ।
तसर्थ, समयको परिवर्तनलाई आत्मसाथ गर्दै गल्ति-कमजोरीमा क्षमा याचना गर्दै सुधार हुँदा, पुराना पार्टी भित्रका नयाँ विचारहरु फस्टाउनेछ। नयाँहरुका पनि निर्णायक शक्तिको रुपमा स्थापित हुनेछन र देशले समृद्दिको बाटो समाउनेछ अन्यथा देश सुधार हुँदैन भन्ने अभिमत पाएँ मैले र सहमति जनाएँ।












प्रतिक्रिया