समकालीन विश्व राजनीति विशेषतः अमेरिकी राजनीति आज दुई अतिवादको साँघुरो गल्लीमा अल्झिएको देखिन्छ। एकातिर डेमोक्र्याटहरू मानव अधिकार, सामाजिक सुरक्षा, अनुदान र सहायताको नाममा यति धेरै उदारवादी दिशातर्फ ढल्किएका छन् कि नीति र दया, अधिकार र दुरुपयोग बीचको सीमारेखा क्रमशः धमिलो बन्दै गएको छ। अर्कोतर्फ यही असन्तुलनको प्रतिक्रियास्वरूप ट्रम्पको राजनीति ठीक विपरीत धारमा अतिदक्षिणपन्थी कठोरता, शक्ति प्रदर्शन र दमनको राजनीतिका रूपमा उभिएको छ।
यो अवस्था आकस्मिक होइन। उदारवादीले जन्माएको अति दक्षिणपन्थ राजनीतिक क्रिया प्रतिक्रियाको स्वाभाविक परिणाम हो। जब राज्य नीति संवेदनशीलता भन्दा भावनात्मक आग्रहमा आधारित हुन्छ तब त्यसको प्रतिक्रियामा कठोरता, नियन्त्रण र दमनको राजनीति बलियो बन्छ। यसको प्रत्यक्ष मार आप्रवासी समुदायले बेहोर्नुपरेको छ। आज धेरै आप्रवासीहरू अब मेरो पनि पालो आउने हो कि भन्ने त्रासमा बाँचिरहेका छन्। जब शक्ति कानुन भन्दा माथि उभिन थाल्छ तब नियम मान्ने र नमान्ने बीचको विभाजन अर्थहीन हुन्छ। भनाइ नै छ नियम मान्नेलाई कानुन लाग्छ नमान्नेलाई शक्ति।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले एकपटक तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै व्यङ्ग्यात्मक प्रश्न गरेका थिए—“ट्रम्पलाई सबै तानाशाह मन पर्छन्, तर मलाई भने किन मन पराउँदैनन्?” यो प्रश्न सतही रूपमा हेर्दा व्यक्तिगत जस्तो देखिए पनि वास्तवमा पूर्णतः जायज थियो।
किनकी यहाँ कुनै एक व्यक्तिलाई दोष दिनेभन्दा पनि एक सार्वभौम राष्ट्रसँग जोडिएको तेल र खनिजसम्बन्धी भू–राजनीतिक स्वार्थ प्रमुख कारण बनेको थियो। भेनेजुएला अमेरिका प्रति नरम नहुनु र चीन तथा रुससँग नजिकिनु अमेरिकाका लागि विश्व बजारमा तेलको राजनीति र अर्थनीतिमा प्रत्यक्ष चुनौतीका रूपमा देखा परेको थियो। यही सन्दर्भले अमेरिकी विदेश नीतिको दीर्घकालीन विरोधाभास उजागर गर्छ—एकातिर तानाशाही विरुद्धको नैतिक भाष्य, अर्कोतिर आफ्ना रणनीतिक स्वार्थसँग मेल खाने तानाशाहप्रतिको मौन सहिष्णुता। आज यही शक्ति–केन्द्रित सोच आप्रवासी नीतिमा पनि प्रस्ट देखिन्छ, जहाँ निरन्तर दोषारोपण र लखेट्ने प्रवृत्ति कायम छ।
अब कुरा नेपालतिरै मोडौँ। यही अतिवाद र प्रतिक्रियाको राजनीति नेपालमा फरक स्वरूपमा देखिन्छ। मञ्च फरक छ, पात्र फरक छन् तर दृश्य उस्तै छ। दशकौँदेखि जनअपेक्षा पूरा गर्न असफल थाकेका र दोहोरिएका नेताहरूको विकल्प खोज्ने चाहना नेपाली समाजमा बलियो हुँदै आएको छ। यही पृष्ठभूमिमा बालेन शाह एउटा राजनीतिक शक्ति र विरोधाभासका रूपमा उदाए।
अन्डरडगबाट काठमाडौं महानगरपालिकाको मेयर हुँदै सम्भावित प्रधानमन्त्रीसम्मको यात्रामा बालेनले देखाएको आत्मविश्वास वैकल्पिक छवि र सामाजिक सञ्जालको कुशल प्रयोगले नयाँ पुस्ताले “वैकल्पिक शक्ति” को रूपमा आफूलाई जन्मायो। परम्परागत दलहरूप्रति गहिरो वितृष्णा भएको समयमा उनी धेरै नागरिकका लागि आशाको प्रतीक बने। कम बोलेर धेरै प्रभाव पार्ने उनको शैलीले भीड केन्द्रित राजनीतिलाई चुनौती दियो र स्थापित राजनीतिक संस्कारलाई प्रश्नको घेरामा ल्यायो।
तर सत्ता सम्हालेपछि बालेनको शैली विवादको केन्द्रमा पर्न थाल्यो। सञ्चारमाध्यम र प्रत्यक्ष जनसंवादबाट दूरी कायम गर्नु लोकतान्त्रिक जवाफदेहितासँग ठोक्किन्छ। जनप्रतिनिधि बोल्दैन भने जनताले कसरी प्रश्न गर्ने? तर रोचक विरोधाभास के छ भने, कम बोल्ने यही शैलीले जनअपेक्षा घटाउँदा उनको लोकप्रियता झन् सुरक्षित रह्यो। धेरै बोलेर असफल भएका नेताहरूको लामो इतिहासका बीच, बालेनको मौनता नै उनको राजनीतिक कवच बन्यो।
कार्यसम्पादनको दृष्टिले उनको कार्यकाल मिश्रित छ। अवैध संरचना भत्काउने अभियान, फुटपाथ विस्तार, विद्यालय छात्रवृत्ति अनुगमन जस्ता पहल प्रशंसायोग्य छन्। तर वैकल्पिक व्यवस्था बिना गरिएका कारबाहीले गरीब र सीमान्तकृत समुदाय प्रभावित भए। फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा समाधान हुन सकेन। बजेट कार्यान्वयनमा अस्पष्टता रह्यो। सामाजिक सञ्जालमा प्रयोग भएका आक्रामक र हिंसालाई संकेत गर्ने अभिव्यक्तिले आलोचना जन्मायो।
काठमाडौँका हजारौँ शटरहरू खाली भइसकेका छन् । बजेट चाहि ३० प्रतिशत पनि मुस्किलले खर्च भएको चर्चा छ । अरू किन भएनन् ? चिल्ला सडक मात्र विकासको सूचक होइन। हिजो मेयर हुनु अघि बोलेका चुनावी नाराहरू कति कार्यान्वयन भए त ? यसको जवाफ दिनु पर्दछ कि पर्दैन ? भएन भने किन र कहाँ रोकीयो, जनताले बुझ्न पाउनु पर्ने होइन र ?
यति हुँदाहुँदै पनि बालेनप्रतिको जनविश्वास कमजोर देखिदैन । यसको मूल कारण उनको भ्रष्टाचार लोभ र बाह्य दबाबबाट टाढा रहेको छवि हो। गल्ती भए पनि आफ्नै निर्णय गर्छ भन्ने धारणा नै धेरै नागरिकका लागि उनको सबैभन्दा ठूलो राजनीतिक पूँजी बनेको छ। अपेक्षाभन्दा कम गरे पनि नबेचेको नझुकेको नेता भन्ने छवि आजको राजनीतिमा दुर्लभ मानिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्यपछि अब प्रश्न स्थानीय शासनको सीमाभन्दा बाहिर पुगेको छ। बालेनलाई सम्भावित प्रधानमन्त्रीका रूपमा रास्वपाले अघि सारेको छ । तर यहीँबाट उनको सबैभन्दा ठूलो परिक्षा सुरु हुन्छ। स्थानीय तहमा चलेको मौनता दूरी र पपुलिस्ट नारामा आधारित राजनीति राष्ट्रिय नेतृत्वका लागि पर्याप्त नहुन सक्छ। प्रधानमन्त्री केवल निर्णयकर्ता होइन संवादकर्ता पनि हुनुपर्छ। संस्थागत सोच निरन्तर जनसम्पर्क र लोकतान्त्रिक जवाफदेहिता बिना राष्ट्रिय नेतृत्व दीर्घकालीन हुन सक्दैन।
यहाँ अमेरिकी राजनीति र बालेन शाहको शैलीबीच एउटा सूक्ष्म समानता देखिन्छ। ट्रम्प बोल्दै कठोरता देखाउँछन्, भाषण धम्की र आक्रामक अभिव्यक्ति मार्फत शक्ति प्रदर्शन गर्छन्। बालेन भने नबोलेर दूरी कायम गरेर र निर्णयलाई संवादभन्दा माथि राखेर कठोरता देखाउँछन्। शैली फरक भए पनि सारमा नबोलेर देखाइने कठोरता र बोलेर देखाइने कठोरताबीच मौलिक भिन्नता छैन। दुवै अवस्थामा संवाद कमजोर हुन्छ जवाफदेहिता सीमित हुन्छ र शक्ति नै केन्द्रमा रहन्छ।
समाजले खोजेको नेतृत्व डर सिर्जना गर्ने होइन विश्वास निर्माण गर्ने हो। आदेश र मौनतामा आधारित शक्ति होइन संवाद सहभागिता र उत्तरदायित्वमा आधारित नेतृत्व नै लोकतन्त्रको आधार हो। अतिवाद जुनसुकै स्वरूपमा आए पनि चर्को भाषणमा होस् वा अर्थपूर्ण मौनतामा यदि त्यसले संवेदनशीलता उत्तरदायित्व र लोकतान्त्रिक संवादलाई विस्थापित गर्छ भने अन्ततः त्यसको परिणाम समाज र लोकतन्त्रका लागि उस्तै घातक हुन्छ।
बालेन झापाबाट केपी ओलीविरुद्ध उम्मेदवार बन्ने भएका छन्, त्यसका लागि उनले महानगरको मेयर पदबाट हिजैमात्र राजीनामा दिइसकेका छन्। केपी ओली र बालेनबीचको यो प्रत्यक्ष प्रतिस्पर्धाले यसपटकको चुनाव हामी देशबाहिर बसेकाहरूका लागि पनि असाध्यै रोमाञ्चक बनेको छ।
तर, ‘म कालो चस्मा लगाएर प्रधानमन्त्री बन्छु र देश बनाउँछु’ भन्ने अभिव्यक्तिबाट उदाएका व्यक्तिप्रति मेरो विश्वास दृढ छैन। आज त्यस्ता अभिव्यक्तिहरूप्रति प्रश्न उठ्ने धेरै आधारहरू स्थापित भइसकेका छन्। बालेनले अबका दिनहरूमा आत्मसमिक्षा गर्दै सच्याउनुपर्ने विषयहरू थुप्रै छन्, नत्र आशाको प्रतीक बनेर उदाएको वैकल्पिक शक्ति र नयाँ पुस्ताले गरेको बलिदानको इतिहासले पुनः हिसाब माग्नेछ।
झापामा चुनाव लड्ने निर्णयले थप गम्भीर प्रश्नहरू पनि जन्माएको छ। यदि उनी पराजित भए भने परिवर्तन चाहने पुस्तालाई के सन्देश जानेछ ? यदि विजयी भए पनि, उनको स्वभाव र व्यवहारलाई हेर्दा ‘केपी ओलीलाई जितेर आएको हुँ’ भन्ने घमण्डले अर्को किसिमको अतिवाद जन्माउने त होइन भन्ने शंका अस्वाभाविक मान्न सकिँदैन।












प्रतिक्रिया