अहिले नेपालको राजनीतिक परिवेश केवल परिवर्तनको आकांक्षाले होइन, गहिरो संक्रमण, थकान र असन्तोषले निर्देशित छ। दशकौँदेखि सत्तामा घुमिरहने पुराना दलहरूप्रति जनआक्रोश बढ्दो छ, नयाँ अनुहारप्रति अपेक्षा अस्वाभाविक रूपमा उचाइमा पुगेको छ । सामाजिक सञ्जालले सिर्जना गरेको क्षणिक लोकप्रियताले राजनीतिलाई भावनात्मक र अस्थिर बनाइदिएको छ। यही जटिल परिवेशमा उदाएका नयाँ राजनीतिक पात्रहरूमध्ये एक हुन् रास्वपाका सम्भावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह, जसले आफूलाई फरक शैलीको प्रतिनिधि ठान्छन्।
तर फरक शैली हुनु र फरक नेतृत्व हुनु एउटै कुरा होइन। काठमाडौं महानगरपालिकाको पाँच वर्षे कार्यकालका लागि निर्वाचित मेयरले पदत्याग गर्दा कुनै औपचारिक कार्यक्रम नगरी, पत्रकार सम्मेलन नगरी, आफूलाई विश्वास गरेर मत दिने काठमाडौंवासीलाई ढङ्गले धन्यवाद समेत नदिई, एकाएक प्रधानमन्त्रीको दाबेदारका रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु जिम्मेवारीबाट पलायन र राजनीतिक अपरिपक्वताको स्पष्ट संकेत हो।
त्यसैगरी, चुनावअघि जनतालाई सुनाइएका ठूला वाचा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान, सार्वजनिक यातायातमा डिजिटल कार्ड प्रणाली, शिक्षा सुधार र रोजगारी सिर्जना जस्ता विषयहरूमा जनताले अन्तिम समयसम्म प्रश्न गर्न पाउने कि नपाउने भन्ने नै अस्पष्ट छ। यदि नागरिकले आफ्नै निर्वाचित नेतृत्वलाई प्रश्न गर्ने आधारभूत लोकतान्त्रिक अधिकारसमेत प्रयोग गर्न नपाउने हो भने, बालेन र परम्परागत राजनीतिज्ञबीचको भिन्नता के रहन्छ ?
काठमाडौंको सडक चिप्लो छ भन्ने कथन असाध्यै फलाकिएको छ । विकासका ठूला भाषण गरिन्छ। तर राजधानी बाहिर गाउँ–गाउँ डुल्दा फरक यथार्थ देखिन्छ। गाउँ सुनसान छन्, युवाहरू विदेशिएका छन्, तर सडक, बिजुली र खानेपानीजस्ता पूर्वाधार अपेक्षाकृत राम्रो अवस्थामा छन्। समस्या पैसाको अभाव होइन, समस्या राज्यको खर्च गर्ने क्षमता, प्राथमिकता र दृष्टिकोणको अभाव हो। यस्तो अवस्थामा नेपाललाई साँच्चै सुखी र समृद्ध बनाउने आधार आत्मनिर्भर अर्थतन्त्र र व्यापक रोजगारी सिर्जना नै हो, जसका लागि भावनात्मक नाराभन्दा स्पष्ट नीति, दीर्घकालीन रणनीति र संस्थागत सोच आवश्यक पर्छ।
तर यहाँ गम्भीर चिन्ता के छ भने मौन बसेर, नीतिगत स्पष्टता नदिई, हजारौँ युवाहरूको आक्रोश र आशालाई भावनात्मक रूपमा प्रयोग गरेर सत्ता कब्जा गर्ने प्रयास। यस्तो राजनीति परिवर्तन होइन, केवल अर्को असफलताको बीजारोपण मात्र हो। यसले फेरि नयाँ पुस्तामा निराशा, वितृष्णा र राजनीतिक पलायन जन्माउनेछ। प्रश्न उठ्छ जनता फेरि कहाँ जाने। यही दुष्चक्रमा नेपाली समाज कति दशकसम्म फसिरहने ? आजको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो।
के फरक शैली मात्र पर्याप्त छ, वा त्यस शैलीलाई स्पष्ट दृष्टि, व्यवहारिक योजना, खुला बहस र सार्वजनिक उत्तरदायित्वले पनि साथ दिनुपर्दैन ? कांग्रेस र एमालेका सम्भावित प्रधानमन्त्री गगन थापा र केपी शर्मा ओलीसँग खुला बहसको चर्चा भइरहेका बेला, बालेनले बहसबाट पन्छिन खोज्नु, केपी ओलीमाथि बालबालिकाको हत्या जस्तो गम्भीर आरोप लगाउनु र अर्कोतर्फ १० वर्षे जनयुद्धका प्रमुख नेतृत्वकर्ता डा. बाबुराम भट्टराईलाई सम्भावित सल्लाहकार र त्यसपछि राष्ट्रपतिका रूपमा अगाडि सारिने चर्चा, यी सबै विरोधाभासहरूले बालेनको राजनीतिक दृष्टि, नैतिकता र उत्तरदायित्वको मापदण्डमाथि गहिरो प्रश्न उठाउँछन्। डा. भट्टराई स्वयम् १७ हजारभन्दा बढी नेपालीको ज्यान गएको सशस्त्र द्वन्द्वका केन्द्रीय पात्रमध्ये एक हुन्। यो तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन।
अर्कोतर्फ, केपी ओलीमाथि यति गम्भीर आरोप लगाउने बालेनले अहिलेसम्म आफ्नै स्पष्ट वैकल्पिक नीति, आर्थिक कार्यक्रम वा दीर्घकालीन राष्ट्रिय रणनीति सार्वजनिक रूपमा प्रस्तुत गर्न सकेका छैनन्। उनी जेन-जी उमेर समूहको भावनात्मक समर्थन त पाउन सफल देखिन्छन् । तर राष्ट्रिय नेतृत्व केवल एक पुस्ताको भावनामा टेकेर सम्भव हुँदैन। नीति, अर्थतन्त्र र राज्य सञ्चालनको स्पष्ट खाका नहुँदा उनका दाबीहरू राजनीतिक रूपमा कमजोर र अस्थिर देखिन्छन्।
झापा निर्वाचनको सम्भावित परिदृश्य हेर्दा, यो केवल एउटा संसदीय सिटको प्रतिस्पर्धा होइन। यो दुई राजनीतिक युगबीचको टकराव बन्ने संकेत देखिन्छ। यदि बालेन विजयी भए भने, करिब दुई दशकदेखि नेपाली राजनीतिमा प्रभाव जमाउँदै आएका केपी ओलीको संसदीय यात्रा मात्र नभएर राजनीतिमै पूर्णविराम लाग्नसक्छ । एमालेमाथि आत्मसमीक्षाको गहिरो दबाब पर्न सक्छ। अर्कोतर्फ, मधेस क्षेत्रमा बालेनप्रतिको आकर्षणले रास्वपालाई राष्ट्रिय पार्टीका रूपमा बलियो बनाउने सम्भावना पनि देखिन्छ।
तर यथार्थ के हो भने रास्वपा पहिलो दल बने पनि स्पष्ट बहुमत हासिल गर्ने अवस्था देखिँदैन। यसको अर्थ सरकार गठनका लागि गठबन्धन अपरिहार्य हुनेछ। यदि बालेन पराजित भए भने, त्यो धेरैका लागि बालेन युगको अन्त्यका रूपमा व्याख्या हुन सक्छ। उनको अहंकार र आत्मकेन्द्रित राजनीतिक शैली हेर्दा, पुनः स्थानीय राजनीतिमा फर्कने सम्भावना कमजोर देखिन्छ। आगामी पाँच वर्षपछिको चुनावमा फेरि रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने सम्भावना पनि न्यून देखिन्छ। यस्तो अवस्थामा उनको हारलाई व्यक्तिगत मात्र नभइ यो पार्टीको अपरिपक्व रणनीति र कमजोर राजनीतिक निर्णयको परिणाम मान्न सकिन्छ, जसले पार्टीलाई गम्भीर धक्का दिनेछ।
यदि बालेन विजयी भए भने रास्वपाले माओवादी वा अन्य दलसँग सहकार्य गरेर सरकार बनाउन सक्छ, जसले कांग्रेस र एमालेलाई प्रतिपक्षमा सीमित गर्न सक्छ। तर त्यो समीकरण असफल भएमा, माओवादी वा अन्य दलको समर्थनमा केपी ओलीले गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गर्ने सम्भावना पनि खुला नै छ, जसमा रास्वपा प्रतिपक्षमा सीमित हुनेछ।
विशेषगरी, आगामी दिनहरूमा गगन थापा र केपी ओलीबीच आ–आफ्नो निर्वाचन क्षेत्रमा रणनीतिक सहकार्य हुने सम्भावना देखिन्छ। यसको उद्देश्य दुबैको संसदीय यात्रा सुरक्षित गर्नु र क्षेत्रीय सन्तुलन कायम गर्नु हो। कांग्रेस र एमाले संसदीय राजनीतिका अनुभवी र संस्थागत खेलाडी हुन्। स्थानीयदेखि प्रदेश तहसम्म उनीहरूको संरचना अझै बलियो छ, जुन नयाँ राजनीतिक शक्तिका लागि चुनौतीपूर्ण यथार्थ हो।
यो सम्पूर्ण चित्रले एउटा कुरा स्पष्ट पार्छ। भावनात्मक राजनीति, सामाजिक सञ्जालको लोकप्रियता र आरोप–प्रत्यारोप मात्र दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित गर्न सक्दैन। नेतृत्वको वास्तविक परीक्षा स्पष्ट दृष्टि, व्यवहारिक योजना, खुला बहसको साहस र उत्तरदायित्व वहन गर्ने क्षमतामा हुन्छ। नेतृत्व केवल चुनाव जित्ने कला होइन। यो सार्वजनिक विश्वास निर्माण गर्ने दीर्घकालीन प्रक्रिया हो।
यदि बालेन साँच्चै आफू गगन थापा र केपी ओलीभन्दा अग्रणी र सक्षम नेता हुन् भनेर प्रमाणित गर्न चाहन्छन् भने, खुला बहस स्विकार्न किन डराउने ? यही बहस नै नेतृत्वको वास्तविक परीक्षा हो। यहाँ लोकप्रियता होइन, नीति, तर्क, योजना र दृष्टिकोण निर्णायक हुन्छ। आजका पुराना नेताहरू पनि हिजो नयाँ नै थिए। नारा सच्चा थिए, सपना गहिरा थिए। तर यदि आजका नयाँ पात्रहरू पनि पुरानाजस्तै निक्लिए, नाम फेरियो तर नियत उस्तै रह्यो भने, परिवर्तनको मूल्य कहाँ रहन्छ।
आज बालेन जेन-जीको भावनात्मक समर्थन पाउन सक्छन्। तर केवल जेन-जी को मतले राष्ट्रव्यापी नेतृत्व सम्भव हुँदैन। प्रधानमन्त्री बन्ने आकांक्षा राख्ने हो भने, उनले सम्पूर्ण नेपाल, जेन-एक्स, जेन-वाइ सहित सबै वर्ग र क्षेत्रलाई समेट्ने, इतिहासको सम्मान गर्दै भविष्यको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्छ। लोकप्रियता क्षणिक हुन सक्छ, तर नेतृत्व दीर्घकालीन उत्तरदायित्व हो। खुला बहस, स्पष्ट नीति, व्यवहारिक योजना र जवाफदेहिताबाट मात्र नेतृत्वको वास्तविक परीक्षा पास गर्न सकिन्छ।












प्रतिक्रिया