एनएसटीको २०२६–२०२७ को कार्य समितिको चुनाव डिसेम्बर १३ मा सम्पन्न भयो। १९९८ देखि हालसम्म भएका चुनावहरू म सकेसम्म छुटाउँदिन। १९९८ को पहिलो चुनावको चुनाव समितिमा थिएँ, त्यसपछिका धेरै चुनाव समितिहरूमा पनि रहेर काम गरेको छु, चुनाव समितिमा न रहँदा पनि भोलेन्टियर भएर काम गर्छु। यसपालिको चुनाव समितिमा रहेर काम गर्ने अनुरोध आएको थियो तर मन्दिरको संविधान लेखन इत्यादिको बेफुर्सदीले गर्दा समितिमा बस्न नसक्ने भए पनि सक्दो सहयोग गर्ने वाचा मित्र वर्तमान एनएसटी अध्यक्ष वाग्ले जीलाई गरेको थिएँ।
चुनाव समितिमा रहनु भएका मित्रहरू महेश नेपाल, विजय भट्टराई, वेद बस्नेत, दिनेश शर्मा र धिरेन गुरुङ ज्यूहरूले चुनाव सक्दो निष्पक्ष र विवादरहित बनाउने कोशिश गर्नु भयो। चुनाव अगाडि चुनावबारेका केही पेचिला मुद्दाहरूको छलफल गर्न भूतपूर्व अध्यक्ष र चुनाव आयुक्तहरूसँग मिटिङ पनि राखिएको थियो। तदनुरूप चुनाव कुनै विवाद नभई सम्पन्न पनि भयो।
चुनावको दिन मलाई साँझ मत गणनामा भोलेन्टियरको रूपमा काम गर्न अनुरोध आएको थियो। तर त्यही दिन छोरीको बर्थडे पनि परेको थियो। दुई जना छोरीहरूको जन्मदिन एक दिनको अन्तरमा पर्छ, हामी प्रायःजसो छोरीहरूको जन्मदिन सँगै डिनर इत्यादि गरेर मनाउँछौँ। चुनाव भएकाले यसपाला पहिल्यै छोरीहरूसँग सल्लाह गरेर डिनर चाहिँ एक दिन अगावै गर्यौँ। म त्यही अनुसारको तयारी गरेर चुनावको दिन अपरान्ह तीन बजेतिर चुनाव स्थल पुगेँ।
पार्किङ स्थलले नै चुनावको कथा बोलीरहेको थियो, वरपर सबै पार्किङ फुल। यता–उति घुम्दा पार्किङ नपाएपछि पार्किङ स्थलको पुछारमा पुगेर रोकिएँ र कुरेँ—कोही न कोही त पक्कै निस्केला। नभन्दै चार–पाँच मिनेटपछि एक परिवार मतदान सकेर निस्केको रहेछ, मैले धन्यवाद भन्दै गाडी पार्क गरेँ र केही अग्लो ठाउँमा रहेको चुनाव स्थलमा उक्लिएँ।
चुनाव स्थल नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन हो, जसमा एनएसटिले आफ्नो कार्यालय राखेको छ, नेपाली पाठशाला पनि सञ्चालन गर्छ। हाम्रो समुदायमा सेवा प्रवाह गर्ने यी दुवै संस्था आन्तरिक र बाह्य दुवै रूपमा एक रथका दुई पाङ्ग्रा झैँ काम गर्छन्, यही सहकार्यको फलस्वरूप हाम्रो समुदाय बलियो भएको छ।
चुनावको लागि ठुलै घेरा बनाएर वरैदेखि लाइन लागेर सयौँ मतदाताको मेला लागेको थियो। पूरा परिसर दुलही झैँ सजिएको थियो, चुनाव सम्बन्धी सूचना, उम्मेदवारहरूका रंगीन पोस्टर इत्यादिले झकिझकाउ थियो चुनाव स्थल। दुवै तर्फका केही परिचित र केही अपरिचित उम्मेदवारहरूले आ–आफ्ना टिमका फ्लायरहरू ल्याएर दिनुभयो, मैले सबैलाई शुभकामना दिँदै सूचनाहरू लिएँ।
यसै भलाकुसारी गर्दै थिएँ, पार्श्वधुन कथा सङ्ग्रहका कथाकार मित्र कृष्ण कुसुम, जो बिहान सातै बजेदेखि चुनावमा भोलेन्टियर गरिरहनु भएको थियो, र जससँग मैले घरैबाट चुनावको अपडेट पनि लिइरहेको थिएँ, मलाई टाढैबाट देख्नु भएछ र वरैसम्म मलाई लिन आउनु भयो। हामी एकैछिन भीडको बीचमै गफिँदै गर्दा चुनाव समितिका मित्र वेद बस्नेत आइपुग्नु भयो। एकछिन गफिएर म दाइको भोलेन्टियरको ब्याज ल्याउँछु है भनेर जानुभयो र लिएर आउनु पनि भयो।
त्यसपछि हामी सँगै भीड छिचोल्दै मेन लबीमा प्रवेश गर्यौँ जहाँ मतदाताको भेरिफिकेसन भइरहेको थियो। भित्र ठेलमठेल भीड थियो। लाइनमा मेजहरूको पछाडि भोलेन्टियरहरू नामक्रम अनुसार भोटर भेरिफिकेसन गरिरहनु भएको थियो। एक छेउमा पत्रकार मित्रहरू विजय घिमिरे, विकास न्योपाने, सुरज भण्डारी, रामचन्द्र भट्ट ज्यूहरूको निर्वाचन पर्यवेक्षण डेस्क थियो। त्यहाँ उहाँहरूसँग भलाकुसारी गरेर म मतदानका बुथहरू भएको ठाउँ गएँ।
मतदान शान्तिपूर्वक भइरहेको थियो, तर भोलेन्टियरहरू, मतदाताहरू र चुनाव समितिको उपस्थितिले एक खालको हल्लाखोरी पनि थियो—व्यवस्था भित्रको अव्यवस्था भनौँ न। चुनाव समितिको त्यतिबेलाको आकलन के थियो भने एक मतदाता लाइनमा लागेको एक घण्टा बीस मिनेटमा मतदान गर्छ र एक घण्टाको तीन सय पचासको हाराहारी मतदान भइरहेको छ।
पाँच बजेतिर मित्र कुसुम मछेउ आएर अमेरिका भ्रमणमा रहनु भएकी समाजशास्त्री निर्मला ढकालको ट्विट देखाउनु भयो, जसमा थोरै व्यङ्ग र यथार्थ पनि थियो। उहाँ दिउँसो आएर चुनाव स्थल अवलोकन गरी फर्कनु भएको रहेछ। ट्विट जस्ताको तस्तै—
“नेपाली समाज टेक्सासको चुनाव अमेरिकामा भए पनि केही कारणले पूरै गोर्खे पारा देखियो।
१) भोटरलाई द्वारमा बसेर तानातान गर्दै २ इन्च बढाइदिए र सान बढाए
२) अनलाइन नभई ब्यालेटमै खसाल्ने व्यवस्थाले अर्गानिकता जोगाइराखे
३) भोटर भेरिफिकेसनमा घाँटी तन्काइ र चस्मा माथिको हेराइले देश बिर्साउन दिएन
समग्रमा जहाँ पुगे पनि नेपाल र नेपालीपन कायम राखेकोमा धन्यवाद भनियो। हेर्दा पनि आनन्द आयो 😎”
व्यङ्ग नै सही, मलाई यो ट्विट यथार्थपरक लाग्यो।
जम्मा बासठ्ठी सय हाराहारी रजिस्टरड भोटरमा अठतीस सयभन्दा बढी मतदान गरे। सात बजेसम्म दिइएको मतदान समयभित्रै मतदान स्थल प्रवेश गरेका मतदाताले मतदान गरिसक्दा लगभग साढे आठ बज्यो। मत बक्सको मुचुल्का गर्न, मतदान स्थललाई मतगणना स्थलमा परिणत गर्न र दिनभरि खटेका भोलेन्टियरलाई खाना खुवाएर मतगणनाको निम्ति तयारी हुँदै गर्दा लगभग एघार बज्यो।
मत गन्न बाह्र वटा टेबलमा दुई वटा चुनाव समितिका र एक–एक जना दुई वटा उम्मेदवार प्यानलका गरी चार वटा भोलेन्टियर खटाइयो। खसेका मतपत्रलाई पचास–पचासको मुठा पारियो र टेबलहरूमा बाँडियो। चुनाव समितिले मतगणनाका नियमहरू पहिल्यै बनाएको थियो। कुनै विवाद उठेमा समाधान गर्न पूर्व अध्यक्षहरू डा. प्रेम अधिकारी, राम पोखरेल, बैकुण्ठ थापा, सुमन थापा, भुवन आचार्य ज्यूहरू र सदाबहार भोलेन्टियर नीरज श्रेष्ठको टिम बनाइएको थियो। मतदानमा एकरूपता होस् भनेर चुनाव समितिको सन्देश गणकहरूसम्म लैजान विनय अर्याल माइक लिएर खट्नु भएको थियो।
मित्र डा. प्रेम अधिकारी र म टेबुलेशन डेस्कमा गणना भएर आएका मतहरू भेरिफिकेसन र रिकाउन्ट गरेर सिस्टममा इनपुट गर्ने र गणकहरूसँग संयोजन गर्ने काममा खटेका थियौँ। मित्र पदम भण्डारीले गुगल सिटमा रिजल्ट इनपुट र ड्यासबोर्ड आउटपुटको डाटा मोडल बनाउनु भएको थियो। त्यही मोडलले रिजल्ट एनएसटीको वेबसाइटमा र लबीमा रहेका उम्मेदवार र प्रतिनिधिलाई अपडेट गर्ने तथ्याङ्क पनि तयार गर्थ्यो।
मतगणनामा मित्रहरू सञ्जय घिमिरे, अच्युत थापा, भानु खरेल, कमल ओझा, डा. कपिल अधिकारी, नीलिमा श्रेष्ठ, छवि चापागाईं, अर्जुन बगाले, बादल भुजेल लगायत अठचालिस जना खटिरहनु भएको थियो।
गणकहरूमा महिला सहभागिता पनि उल्लेख्य थियो। नेपाल आध्यात्मिक तथा सांस्कृतिक केन्द्रकी कार्य समिति अध्यक्ष समाजसेवी सीता सापकोटा दिनभरि मतदानमा खटेर पनि राति गणना गरिरहनु भएको थियो भने एउटा टेबलमा चारै जना गणक महिला हुनुहुन्थ्यो। चुनाव समितिका सचिव विजय भट्टराईकी बेटर हाफ सबिता भट्टराई पनि टेबलमा गणकको रूपमा खटिरहनु भएको थियो।
कति युवा भोलेन्टियरहरूलाई म चिन्दिन, तर उहाँहरूको समर्पण भाव देखेर गदगद हुन्छु। यो स्तरमा पुगेको संस्थाको सुरुआती चरण सम्झन्छु, जुन त्यति सजिलो थिएन।
यसपाला खसेको मत विगतको भन्दा निकै धेरै थियो, त्यही अनुसारको तयारी पनि थियो, तर गणना यति ढिलो होला भन्ने अनुमान थिएन। सुरुमा हाम्रो अपेक्षा एउटा टेबलले चार सय मत गन्दा ठीकै हुन्छ होला, छ घण्टा जतिमा सकिन्छ होला भन्ने थियो, तर गणकहरूको अपेक्षा तीन सय रहेछ।
सबैभन्दा अनुभवी र छिटो गन्ने गणकहरू टेबल नं. तीनमा थिए, जसमा चुनाव समितिका भोलेन्टियर डा. कपिल अधिकारी र नीलिमा श्रेष्ठ हुनुहुन्थ्यो। अरू टेबलले दुई सय मत गन्न नसक्दै टेबल नं. तीनले तीन सय गन्न सक्यो। नीलिमाको आँखा पनि रातो भएर दुखेछ, साढे तीन बजेतिर “लौ दाइ, म त निस्केँ है” भन्दै आइपुग्नु भयो।
त्यतिबेलासम्म जम्मा चौबिस सय मत गनेर सकिएका थिए, अझै चौध सय गन्न बाँकी थियो। हामी देखिरहेका थियौँ—थाकेका भोलेन्टियरहरू संघर्ष गरिरहनु भएको छ। हामीलाई त्रास थियो—एक–दुई जना भोलेन्टियर निस्केर हिँड्नु भयो भने अरू पनि हिँड्न खोज्नु हुनेछ। यो मानव प्रकृति पनि हो, त्यसमाथि गणकहरू बिहानैदेखि खटेर निस्सोट थाक्नु भएको थियो।
नीलिमाको हालत देख्दा माया लाग्यो। उहाँ हरेक सामुदायिक काममा डटेर भोलेन्टियर गर्नु हुन्छ। मन नमान्दा नमान्दै पनि उहाँलाई गणना जारी राख्न अनुरोध गर्यौँ। थोरै गिल्टी फिलिङ पनि भयो—स्वार्थी भइयो कि जस्तो पनि लाग्यो। कपिल जी र नीलिमाको टिम फेरि टेबलमा फर्कियो।
वेद बस्नेतले बेला–बेला “अब यति मात्र बाँकी छ है” भनेर गणकहरूलाई प्रोत्साहन गरिरहनु भयो। राति गणनास्थलको राउन्ड गरेर टेबुलेशन डेस्कमा फर्किरहेको थिएँ। वेद जी र नीरज जी जीबीचको खाली ठाउँमा उभिएर कुरा गरिरहनु भएको रहेछ। म नजिक पुगेपछि दुवैले हल्का व्यङ्गात्मक र कम्प्लिमेन्ट शैलीमा “के हो दाइ, काउबोय जस्तो पो देखिनु हुन्छ त?” भन्नु भयो—सच्चा मित्रले ठट्टा गर्ने शैलीमा। मैले पनि हाहाहा हाँसेर प्रतिक्रिया दिएँ। बीच–बीचका यस्तै अन्तर्क्रियाले नै कठिन कामलाई पनि केही हल्का बनाउँछ। केही सत्पात्रहरू समुदायमा हुनुहुन्छ जससँग समुदायको काम गर्न मजा आउँछ। वेद जी र नीरज जी तिनैमध्येका हुनुहुन्छ।
मतगणना टेबलकै राउन्ड गरिरहँदा बादल भुजेल जीले “सर, यता आउनुस् त” भनेर बोलाउनु भयो। केही समस्या आएछ कि भनेर हतारमा उहाँ नजिक पुगेपछि “तपाईंले गजब कविता लेख्नु भएको छ नि” भन्नु भयो। केही दिनअघि चुनावलाई व्यङ्ग गरेर लेखेको पुरानो कविता शेयर गरेको थिएँ। मत गन्न झ्याउ लागेको बेला भएर हो कि, त्यसैलाई गजब भन्नु भएको रहेछ। चुनाव सम्बन्धि भएकोले त्यो कविता यहा पनि शेयर गर्न मन लाग्यो-
छर्केर नुनचुक पुरानो घाउमा
समय फेरि होमिएछ चुनावमा
निरन्तर चल्छ जुवाको खाल
फेरि थापिन्छिन् द्रौपदी दाउमा
साँध बाली सखाप हुने पक्का छ
सलह फेरि पस्नेछन् गाउँमा
कृत्रिम शान्तिले बिग्रेको बानी
फेरि बारुद भेटिने भयो ठाउँ–ठाउँमा
बाँड्नेछन् सपनाका रित्तो भकारी
नआउनु कोही अब बहकाउमा
बाह्र बजेतिर होला, प्रेम जीले “चिया खानु पर्यो” भन्नु भयो। बलराम पौडेल जी नजिक हुनुहुन्थ्यो—“ल म बनाउँछु” भनेर जानु भयो, र गजब कडक मरिच हालेको कालो चिया बनाएर ठूलो कन्टेनरमा ल्याउनु भयो। यो चियालाई रातभरि “बलराम टी” भनियो। सबै भोलेन्टियरलाई रातभरि खान पुग्यो।
एनएसटीका वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले जी र दुवै अध्यक्षका प्रत्याशीहरू, भुवन आचार्य जी र अरु केहि समाजसेवीहरु गणनाको गतिविधि नजिकबाट नियालिरहनु भएको थियो।
चार बजेतिर चार मिनेटको फुर्सदमा हामी टेबुलेशन डेस्कबाट कसलाई निद्रा लागेर के–के गर्दैछन् भनेर गसिप गर्दै थियौँ। प्रेम जीले “लौ, कागती खानु पर्यो” भन्नु भयो। वेद जीले सग्लो कागती ल्याएर प्रेम जीको अगाडि राखिदिनु भयो। “काट्नुपर्यो” भनेपछि कागती चार टुक्रा पारेर नुन र रातो खुर्सानीमा लपेटिएर आइपुग्यो। प्रेम जीले क्यान्डी चपाएझैँ स्वाद मानेर चपाउँदा मेरो आङ जिरिङ्ग भयो—म अमिलो खानै सक्दिन।
त्यही बेला छवि चापागाईं जी हाम्रो नजिक आइपुग्नु भयो। प्रेम जीले “लौ, तपाईं पनि खानुस्” भन्नु भयो। उहाँले पनि त्यो कागती गजब मिठो मानेर खानु भयो। कसैले नजिकबाट “प्रेम जीको राति अबेर कागती खाने बानी एसएलसीको तयारी गर्ने बेलादेखिको हो” भनेर कमेन्ट गर्यो। प्रेम जीलगायत हामी सबै हल्लल हाँस्यौँ।
प्रेम जी र मलाई रिचेक र रिकाउन्टमा मन्दिरका युवा मृदुभाषी भोलेन्टियर श्रीकृष्ण भेटवाल जीले पनि सहयोग गरिरहनु भएको थियो। उहाँले आफ्नो व्यक्तिगत कम्प्युटर गणना कार्यको लागि मलाई दिएर पनि सहयोग गर्नु भएको थियो। विकल ढकाल लगायतका कैयौँ एनएसटीका शुभेच्छु, शुभचिन्तकहरू सहयोगी हात लिएर प्रस्तुत हुनु भयो।
यसै गरी सबैजनाको रातभरिको प्रयासले बिहान आठ बजे गणना सकियो। एघार बजे सुरु भएको मत परिणामको बीच–बीचमा धेरै पटक अपडेट दिइएको थियो। साढे आठको हाराहारी मतगणना सकियो। परिणाम घोषणा समारोहमा अध्यक्षका विजयी उम्मेदवार विजय भुसालले टिमको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो नै। उपविजेता अध्यक्षका उम्मेदवार जनक भण्डारी जीले विजेतालाई बधाई र शुभकामनाका साथै आफू अझ ऊर्जाशील भएर समुदायको काममा खट्ने वाचा पनि गर्नु भयो।
एनएसटीको एउटा राम्रो पक्ष के हो भने चुनावी परिणाम घोषणामा विजेता–उपविजेता सबै एकै ठाउँमा उभिएर शुभकामना आदान–प्रदान गर्छन्। निर्वाचन समितिले सधैँझैँ उदाहरणीय काम गर्यो। निर्वाचन समितिका सबै मित्रहरूलाई साधुवाद! यो चुनावले एनएसटीको इतिहासमा एउटा इँटा थपेको छ। विजेता, उपविजेता, मतदाता, भोलेन्टियर, शुभेच्छु, शुभचिन्तक—सबैमा धन्यवाद।
यसपछि मन्दिरको लबीमा अच्युत पौडेल जीलाई श्रीकृष्ण भेटवालको कम्प्युटर बुझाएर निस्किँदा बाहिरको तापक्रम ह्वात्त घटेको रहेछ। चिसोमा स्युँ–स्युँ गर्दै कारसम्म पुगेर बाटो लागेँ।
हिजो दुई बजे निस्केको म, यो सबै सकेपछि घर फर्किँदा बिहानको साढे नौ बज्यो। बीच–बीचमा श्रीमतीलाई ढिलो हुने अपडेट दिएकै थिएँ, तैपनि मनमा अप्ठ्यारो त लाग्ने नै भयो। फेरि मेरो घरमा रेपुटेसन के छ भने बाहिर गएपछि म घर फर्किन जहिल्यै ढिलो गर्छु।
म घरभित्र छिर्दा रोहिणी, आस्था, अञ्जली किचनमै रहेछन्। सँगै विनिता भाउजू र काजल पनि हुनुहुँदो रहेछ। म छिर्नासाथ सबैले म तिर हेरे। मेरो मनमा के आयो कुन्नि, ठूलो स्वरले भनें, “लौ, तिमीहरू सधैँ म घर फर्किन ढिलो गर्छ भन्छौ नि, आज त बिहानै साढे नौ बजे नै फर्केँ, योभन्दा चाँडो कसरि फर्किनु त?” सबै गल्लल हाँसे। आस्थाले हल्का सर्कास्टिक भएर “थ्यांक यु फर योर सर्भिस, ड्याड” भनेर मिलिटरी शैलीमा सलुट गरिन्।
यसरी पटाक्षेप भयो यसपालाको एनएसटि चुनाव!












प्रतिक्रिया