बिश्व घटना

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी, व्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा

ताइवान नजिक चीनको सैन्य अभ्यास जारी, व्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा


बेइजिङ । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ । 
 
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले  यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ । 
 
पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ(फायर सैन्य अभ्यास गरिरहेका छन् । यो सँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् ।
 
केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखा जस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन्, ।
 
चीनले ताइवानलाई  विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने  कुराको विरोध गरिरहेको छ तर साभामुख  पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ। 
 
यसैबीच, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जापानलगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । 
 
उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् । एएनआई