जापान । भारत भ्रमणबाट फर्किएको लगतै केही सातापछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जापान आउने भएका छन् ।
सत्तारुढ दलका एक प्रमुख नेतासमेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्त ६ तारिक जापान आउने भएका हुन् । नेपाल र जापान सरकारबीचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए । प्रचण्डले जापान रहदाँ जापान सरकारका उच्च अधिकारीहरुसँग भेटघाट हुने पन्तले बताए ।
जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा प्रचण्डले सहभागिता जनाउने मञ्चका महासचिव बाबुराम पौडेलले जनाए ।
उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५ः३० बजेदेखि सो अन्तरक्रिया कार्यक्रम हुनेछ । नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरी द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बताइएको छ ।
त्यस्तै प्रचण्डको गृहजिल्ला चितवन रहेको र उनी त्यहीबाट प्रतिनिधि सभामा निर्वाचित भएको हुँदा चितवन समाज, जापानले पनि प्रचण्डसँग भेटघाट कार्यक्रम गर्ने र त्यस्का लागि व्यवस्थापनमा जुटिएको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए।
प्रचण्डलगायतको टिमसँग नेपाली समुदाय र जापानिज समुदायसँग थप कार्यक्रम तय हुन सक्ने बताइएको छ। साथै प्रचण्डलाई जापानमा रहेका नेपाली समुदायले भोग्न परेको विभिन्न समस्याहरु पनि नेपाली समुदायले राख्ने छन् । जापानमा अध्ययन, रोजगारी अनि व्यवसायमा लागेका १ लाखको हाराहारीमा नेपालीहरु रहेको तथ्याङ्ग छ।
जापान रहँदा प्रचण्डलगायतको टिमले जापानको एतिहासिक एवं उत्कृष्ट गन्तव्यहरुको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रतिक्रिया