सेन्टपिटर्सबर्ग । युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको सङ्ज्ञा दिएका छन् ।
सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले अमेरिका तथा उसका सहयोगी यूरोपेली मुलुकको चर्को आलोचना गरे । ‘सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण युरोपेली संघ ( ईयू)ले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेका हुन् ।
“रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,” उनले भने । प्रतिबन्ध पत्युत्पादक भएको उनले दाबी गरे ।
पश्चिमी राष्ट्रहरूले रूसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेका समय पुटिनको उक्त भनाई आएको हो ।
उक्त अवसरमा पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र युरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको बताए । एजेन्सी
प्रतिक्रिया