मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक : नेता कोइराला

लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक : नेता कोइराला


कास्की । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक हुने बताएका छन् । 
 
प्रजातान्त्रिक विचार समाज कास्कीको नवौँ अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उनले सुशासन, पारदर्शिता र जावफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको बताए । 
 
आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिए । देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उनले रु १८ खर्बको व्यापार घाटा गम्भीर विषय भएको बताए । सरकार सञ्चालन र निर्वाचनको तालमेल फरक विषय भएको बताउँदै उनले तालमेलसँग जोडिएका धेरै विषय र त्यसले आगामी दिनमा पार्टी सङ्गठनमा पार्ने प्रभावलगायत विषयमा गम्भीर समीक्षा गरेर बढ्नुपर्ने आवश्यकता औँल्याए ।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कांग्रेस लाग्नुपर्ने जनाउँदै प्रजातान्त्रिक विचार समाजले पार्टीले लिनुपर्ने नीति, विचार लगायतमा बहस र छलफल गराउनुपर्ने बताए ।
 
प्रजातान्त्रिक विचार समाजका केन्द्रय अध्यक्ष डा केदारनरसिंह केसीले आर्थिक विकास भएमा प्रजातन्त्रको सुदृढीकरण हुनसक्ने उल्लेख गर्दै आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
 
समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्लेले समाजले लोकतन्त्रको सुदृढीकरणमा वैचारिक बहससँगै प्रकाशनलगायतका काम गर्दै आएको बताए ।
 
कार्यक्रममा समाजका महासचिव गोकर्ण अर्याल, पूर्वमन्त्रीद्वय, यज्ञबहादुर थापा र महादेव गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कमलराज सापकोटा, ट्रेड युनियन कांग्रेस कास्कीका सभापति विजयराज भण्डारी, प्रजान्त्रिक विचार समाज कास्कीका अध्यक्ष प्रा डा गिरीधारी शर्मा, उपाध्यक्ष डा वीरबहादुर कार्की, सचिव शिशुकला पराजुलीलगायतले बोलेका थिए । 
 
प्रजातान्त्रिक विचार समाजका पदाधिकारीद्वारा मुख्यमन्त्रीसँग भेट
 
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय समितिका पदाधिकारीले आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेट गरेका छन् ।  मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटमा समाजका केन्द्रीय अध्यक्ष डा केसीले लोकतन्त्रको सवलीकरणमा समाजले वैचारिक बहससँगै छलफल अन्तरक्रिया एवं प्रकाशन गर्दै आएको जानकारी गराए ।  
 
भेटमा आसन्न निर्वाचन, दलहरूबीचको गठबन्धन र त्यसले पार्ने प्रभावलगायत विषयमा छलफल भएको थियो । उक्त अवसरमा समाजका वरिष्ठ उपाध्यक्ष वाग्ले, महासचिव अर्याललगायतको उपस्थिति थियो । रासस

शेयर गर्नुहोस:

108
Shares