लन्डन । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेन माथिको आक्रमण रोक्न रुसलाई दबाब दिने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन् ।
युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले युक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाब दिनुपर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उनीहरुले आआफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस उपलब्धि हुन सकेको छैन ।
त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथि रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर, पनि आक्रमण अहिलेसम्म जारी नै छ । एएनआई
प्रतिक्रिया