कोलोराडो, अमेरिका । कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुद, संस्कृति, मित्रता र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना हुन लागेको ‘दसैँ–तिहार कप २०२६’ लेदर बल क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह सेप्टेम्बर २६, शनिबार बिहान ८ः०० बजे हुने भएको छ ।
हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसन इन्टरनेसनल (HHHE) को प्रस्तुतिमा हुने प्रतियोगिता थर्नटन स्पोर्ट्स कम्प्लेक्समा आयोजना हुनेछ । आयोजकले उद्घाटन समारोहमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाइदिन कोलोराडोमा रहेका सम्पूर्ण नेपालीभाषी समुदाय, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, खेलप्रेमी तथा परिवारजनलाई हार्दिक अनुरोध गरेको छ ।
प्रतियोगितामा रकी माउन्टेन क्रिकेट क्लब, गोर्खे ब्वाइज क्रिकेट क्लब, कोलोराडो ड्रागन्स र कोलोराडो राइनोज गरी चार टोली सहभागी हुनेछन्। खेलहरू सेप्टेम्बर २६ र २७ तथा अक्टोबर ३ र ४ तारिखमा सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल अक्टोबर ४ मा शीर्ष दुई टोलीबीच हुनेछ।
उद्घाटन समारोहपछि सेप्टेम्बर २६ बिहान ९ बजे रकी माउन्टेन क्रिकेट क्लब र कोलोराडो ड्रागन्सबीच पहिलो खेल हुनेछ। सोही दिन दिउँसो २ बजे गोर्खे ब्वाइज र कोलोराडो राइनोजबीच दोस्रो खेल खेलिने छ ।
नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले नेपाली संस्कृति, एकता र सामुदायिक सम्बन्धलाई अझ मजबुत बनाउने आयोजकको विश्वास छ ।












प्रतिक्रिया