टोकियो । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नु भएको छ । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् ।
त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।
जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उनले सर्वसाधारणसँग बिहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्बन्धमा रुपान्तरण भएको हो । उनीहरुको मगनी गत सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन ।
जापानका राजा नारुहितोकी ३० वर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन् । विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएकी छन् ।
उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको थिएन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्याग्न गरेकी छन् ।
यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उनीहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो ।
विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभर भने सकारात्मक चर्चाको विषय भएको छ । एएफपी
प्रतिक्रिया