मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा दैनिक संक्रमितको संख्या पाँच महिनापछिकै न्यून

भारतमा दैनिक संक्रमितको संख्या पाँच महिनापछिकै न्यून


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पाँच् महिना अर्थात् १६० दिनपछिकै सबैभन्दा न्यून देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् । 
 
पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो । दैनिक सङ्क्रमितहरुको सङ्ख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुसी व्यक्त गरेका छन् । 
 
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड २४ लाख ४९ हजार ३०६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार १५७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ८० हजार ६२६ पुगेको छ ।
 
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या १५५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३४ हजार ७५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घन्टामा ३८९ जनाको मृत्यु भएको हो । 
 
कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ७५ लाख ५१ हजार ३९९ जनाको परीक्षण भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कूल ५८ करोड २५ लाख ४९ हजार ५९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ । एएनआई