मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीको पुस्तक राष्ट्रकवि र शताब्दीपुरुषद्वारा सार्वजनिक

प्रधानमन्त्री ओलीको पुस्तक राष्ट्रकवि र शताब्दीपुरुषद्वारा सार्वजनिक


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनको ६९औँ जन्मोत्सवको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे । 
 
प्रधानमन्त्री ओली आइतबार ७० वर्ष टेक्दै छन् । उक्त समारोहमा ९० वर्षीय उनका पिता मोहनप्रसाद ओलीले ६९औँ जन्मोत्सवको अवसरमा मञ्चमा राखिएको पुस्तकको आवरण खोलेर प्रधानमन्त्री ओलीलाई शुभकामना दिए । प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा लेखेको पुस्तकलाई ‘कल्पना र कर्म’, ‘मित्रता र कूटनीति’, ‘व्यापार र लगानी’ तथा ‘काम र श्रम’ गरी चार भागमा विभाजन गरेका छन् । 
 
आन्तरिक र विदेशी नीतिका बारेमा विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ । देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट भएको छ । प्रधानमन्त्री ओलीले मुलुक सञ्चालनका दौरान प्राप्त गरेको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सारेको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेटेका छन् । 
 
पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारणले मानिसले खान, लगाउन र बस्ने ठाउँ नपाएको उल्लेख गर्दै वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको बताए । उनले मुलुकलाई २१औँ शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताउँदै भने, “अटोक्रेसी टु डेमोक्रेसी त आइहाल्यो, अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो ।”
 
उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढङ्गले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीले जानकारी गराए । मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावनाहरु अथाह रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिष्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुन्छ भने । 
 
प्रधानमन्त्री ओलीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक र वैदेशिक सम्बन्ध विकास गर्दै भिन्दाभिन्दै राजनीतिक, आर्थिक र सामाजिक प्रवृत्ति बोकेको छिमेकीसँग सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “हामी दुई ठुला ढुङ्गा बीचमा छौँ भने फैलिन नपाउने होला, यसैमा समृद्धि हासिल गर्न सक्छौँ ।”
 
सूर्य, चन्द्रमा, पृथ्वीसमेत सन्तुलनमा घुमिरहेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले दुनियाँ नै सन्तुलनमा चलेको अवस्थामा नेपालले दुई छिमेकीसँग सन्तुलन मिलाउन नसक्ने भन्ने कुरै नहुने बताए ।
 
पारस्परिक लाभ र पारस्परिक मागका आधारमा अघि बढ्नुपर्नेमा उनको जोड थियो ।