गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा गोरखा भूकम्पको स्मृतिमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेपालमा विभिन्न खालका विपद्ले ठूलो नोक्सानी गर्दै आएको भन्दै राज्यले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ ढङ्गले तयारी थाल्नुपर्ने बताए ।
“भूकम्प, बाढीलगायत अन्य विपद्का हिसाबले नेपाल जोखिमयुक्त देश हो”, उपाध्यक्ष श्रेष्ठले भने, “यहाँ भूकम्पको जोखिम सधैँ रहेको विज्ञहरूले चेतावनी दिइरहेकाले राज्यले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्नुपर्छ ।” विगतमा भएका विपद्बाट शिक्षा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
विपद्लाई रोकेर रोक्न नसकिने भए पनि न्यूनीकरण गरेर ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले जोखिम न्यूनीकरण गर्नु राज्यको महत्त्वपूर्ण पक्ष रहेको उपाध्यक्ष श्रेष्ठले उल्लेख गरे ।
“गोरखा भूकम्पले देशलाई पुनर्निर्माणको एउटा अवसर पनि दिएको थियो । त्यसले हामीले कति सकारात्मक ढङ्गले अवसरलाई उपयोग गर्न सक्यौँ, कति आफ्नै कमजोरीका कारण अवसर सदुपयोग गर्न सकेनौँ त्यसको समीक्षा गर्दै जानुपर्छ”, उनले भने ।
सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धि हासिल गर्दै जनताको जीवनस्तर उठाउनु देशको मुख्य कार्यभार रहेको उपाध्यक्ष श्रेष्ठले धारणा राखे । “युवालाई नयाँ जीवन दिन मुलुकभित्र प्रशस्त सम्भावनाहरू छन्”, उनले भने, “ती सम्भावनालाई समातेर फड्को मार्न सक्नुपर्छ ।”
प्रतिक्रिया