मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको अध्यक्षमा कुमार पन्त १४७ मतअन्तरले विजयी

एनआरएनएको अध्यक्षमा कुमार पन्त १४७ मतअन्तरले विजयी


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वसम्मेलनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुमार पन्त विजयी भएका छन् ।
 
अध्यक्षका लागि पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भएकोमा पन्तले आचार्यलाई १४७ मतअन्तरले पराजीत गरेका हुन् । पन्तको पक्षमा १२१७ र आचार्यको पक्षमा १०७० मत खसेको थियो । 
 
उपाध्यक्षमा डा बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२६), मन केसी (९६१),  सोनाम लामा (८९८) र महिला उपाध्यक्षमा रवीना थापा (१२३२) विजयी भएका छन् । थापाकी प्रतिस्पर्धी सपिला राजभण्डारीले ८६३ मत प्राप्त गरेकी छन् । 
 
यस्तै, महासचिवमा हेमराज शर्मा विजयी भएका छन् । महासचिवमा शर्माले १२३९ मत ल्याउँदा प्रतिस्पर्धी जानकी गुरुङले १०५३ मत प्राप्त गरेकी छन् । 
 
सचिवमा गौरीराज जोशी (९१६) र आर के शर्मा (८६८) विजयी भएका छन् । यस्तै, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ (१६५३), सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल (११८४) र भोमादेवी लिम्बू (७०२) विजयी बनेका छन् ।  यस्तै, युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी  भए ।
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको संयोजक (आरसी) पदमा राजन त्रिपाठी (१५४) र उपसंयोजक (डीआरसी) पदमा राम सी. पोखरेल (१५०) विजयी  भएका छन् । यस्तै, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी उमा कार्की थापा (१४४) विजयी भएकी छन् । अमेरिकाजको क्षेत्रीय युवा संयोजकमा विमला सापकोटा निर्विरोध भएकी छन् ।  
 
यस्तै क्षेत्रीय संयोजक एसिया प्रशान्तमा गोविन्द श्रेष्ठ रोविन्द (२१७), क्षेत्रीय उपसंयोजक एसिया प्रशान्तमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) विजयी बनेका छन् । एसिया प्रशान्तकै क्षेत्रीय महिला संयोजकमा अमृता थापा निर्विरोध निर्वाचित भएकी छन् भने एसिया क्षेत्रकै क्षेत्रीय युवा संयोजकमा पनि दीपकप्रसाद कँडेल निर्विरोध निर्वाचित भए ।
 
यसैगरी, मध्यपूर्वको क्षेत्रीय संयोजकमा प्रवीन गुरुङ निर्विरोध भए भने उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध भए । क्षेत्रीय महिला संयोजकमा पनि मध्यपूर्वबाट सुमित्रादेवी पौडेल निर्विरोध भइन् भने युवा संयोजकमा राजु रेग्मी निर्विरोध चयन भए ।  
 
यसैगरी, ओसेनियाको क्षेत्रीय संयोजकमा नवीन कँडेल १०७ मतसहित विजयी बने । उनले प्रतिस्पर्धी हरि राम्जालीलाई ७ मतअन्तरले पराजित गरेका हुन् ।ओसेनियाको महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्विरोध भए ।
 
युरोपको क्षेत्रीय संयोजकमा नारायणप्रसाद आचार्य २७४ मतसहित विजयी बने । उनका निकटतम प्रतिस्पर्धी सन्तोषकुमार भट्टराईले २७१ मत ल्याएका थिए । युरोपको क्षेत्रीय उपसंयोजकमा मुक्तबहादुर गुरुङ (३६९), कृष्णप्रसाद तिमिल्सिना (३५७), शुक्रराज न्यौपाने (२८३) मतसहित निर्वाचित भए । क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर निर्वाचित भएका छन् । 
 
ढिलोगरी सुरु भएको मतदानमा कूल २५ सय ७० प्रतिनिधिमध्ये २३ सय ४२ मत खसेको थियो । जसमा अमेरिकाबाट २६१, युरोपबाट ९२०, मध्यपूर्वबाट ४७०, ओनेसियाबाट २१४, एसियाबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो ।
 
जसमा पन्तको पक्षमा १२१७ र आचार्यको पक्षमा १०७० मत खसेको थियो । 
 
मत परिणाम सार्वजनिक भएसँगै नाचगान र बाजागाजासहित विजयी जुलुस भइरहेको छ । जुलुसमा पन्तका समर्थकले विजय जुलुस गरिरहेका छन् । 
 
बुधबार राति विवादका कारण बिहीबार बिहान १० बजेबाट मतदान सुरु भई साँझ ६ बजे सकिएको थियो । 
 
महाधिवेशनमा अध्यक्ष पदका लागि लोकतान्त्रिक खेमाबाट बेलायतमा बस्दै आएका कुल आचार्य र वामपन्थी खेमाबाट जर्मनीमा बस्दै आएका पन्तबीच रस्साकस्सी भएको थियो । 
 
बुधबार झण्डै ६ घन्टा मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसिसकेपछि विद्युतीय भोटिङ्ग मेसिन बिग्रेको भन्दै मतदान रद्द गरिएको थियो । 
 
बिहीबार मतपत्रमार्फत् मतदान भएको थियो । महाधिवेशनमा विश्वका ८१ मुलुकबाट  २५ सय ७० प्रतिनिधि निर्वाचनमा सहभागी भए । 
 
एनआरएनएको विश्वसम्मेलन एवम् नवौँ अधिवेशनको उद्घाटन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । समापन कार्यक्रम बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने तय भए पनि मतदान रद्द भएका कारण कार्यक्रम पछाडि सरेको हो ।