मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादका बीच एनआरएनएको मतदान जारी (उम्मेदवारको नामावलीसहित)

विवादका बीच एनआरएनएको मतदान जारी (उम्मेदवारको नामावलीसहित)


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा उत्पन्न विवादका कारण पछि सरेको मतदान कार्यक्रम आज बिहान बिहान १० बजेबाट सुरु भएको छ । 
 
बुधबार ढिलोगरी विद्युतीय मतदानका लागि मतदाताहरु लाइन बसेका थिए । तर, उम्मेदवारहरुको संख्या नै धेरै भएका कारण भोटिङ्ग मेसिनले काम नगर्दा मतदान रद्द हुन पुगेको थियो । 
 
समयमा मतदान हुन नसक्दा र मतदाताहरु निकै आक्रोशित भएका थिए । सुरुवातदेखि नै विवाद हुँदै आएको एनआरएनए चुनावमा अन्नतः मतपत्रमार्फत् मतदान गर्नुपर्ने अवस्था आएकाले झनै ढिलाइ हुने भएको छ । निर्वाचन तालिकाअनुसार आज एनआरएनए सम्मेलन समापन हुनेथियो । प्राविधिक त्रुटि, व्यवस्थापकीय कमजोरी र अतिशय विवादका बीच आज रातिसम्म नतिजा आउने अपेक्षा गरिएको छ । 
 
एनआरएनको सचिवालयका अनुसार हायात रिजेन्सी होटलको बुकिङ्ग आजसम्मका लागिमात्रै गरिएको थियो । नवौँ अधिवेशनमा आर्थिक प्रतिवेदन पास भएपछि मात्रै मतदान गर्नुपर्नेमा यसपटक विवादका कारण प्रतिवेदन पास हुन सकेको छैन । 
 
मतपत्रबाट मतदान गर्नुपर्ने भएपछि आज मतदानका लागि निकै समय लाग्ने सम्भावना छ । होटलको बुकिङ्ग सकिएका कारण मतगणना कार्यक्रम एनआरएनएको कार्यालयमा हुनसक्ने प्रतिनिधिहरुले जनाएका छन् । 
 
मतदानका लागि २६ सय ५४ प्रतिनिधि सहभागी हुँदैछन् । बुधबार राति मतदान रद्द भएपछि केही बेर विवादसमेत उत्पन्न भएको थियो । सो क्रममा केही प्रतिनिधिको टाउको फुटेको, कागजपत्र च्यातिएको र सरसामान फुटाएका दृश्यहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । 
 
अहिले चुनावी माहोल राम्रोसँग चलिरहेको छ । निर्वाचन समितिले मेसिनको गडबडीबाट मतदान स्थगित गर्नुपरेकोमा दुःख व्यक्त गरेको छ । चुनावमा अध्यक्ष पदमा कुल आचार्य र कुमार पन्तबीच रस्साकस्सी बढेको छ । 
 
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उदघाटन गरेकी थिइन् भने सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।