ग्लोबल नेपाली

एनआरएनए अमेरिका विवाद, निर्वाचन समिति तोकिएको समयमै चुनावको पक्षमा

एनआरएनए अमेरिका विवाद, निर्वाचन समिति तोकिएको समयमै चुनावको पक्षमा


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिका निर्वाचन समितिले तोकिएको समयमै निर्वाचन गर्ने जनाएको छ । क्षेत्रीय संयोजक गौरी जोशीलाई पत्र पठाउँदै निर्वाचन सार्नु पर्ने कुनै कारण नरहेको निर्वाचन समितिको दावी छ ।

निर्वाचन तोकिएको समयमै गर्ने वा नगर्ने भन्ने विषयमा समिति भित्र एक मत भने नभएको स्रोतले बतायो । जोशीलाई पठाईएको पत्रमा निर्वाचन संयोजक विश्व बरालको मात्र हस्ताक्षर छ । पत्रमा अध्यक्षका दुई जना उम्मेदवार सुर्य लम्साल र सञ्जय थापाले अर्का उम्मेदवार सुनिल साह माथि लगाएका आरोपको पनि जवाफ दिईएको छ ।

निर्वाचन भयो भने के हुन्छ ?

Advertisement

आईसीसी स्रोतका अनुसार जोशीले उक्त निर्वाचन अमान्य घोषित गर्न सक्छन् । उनले एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति भङ्ग गरी नयाँ कामचलाउ कार्यसमितिपनि बनाउने सम्मको कदम चाल्न सक्छन् ।

एनआरएनए अमेरिकामा पटक पटक विवाद आईरहने गरेकाले यसलाई निमिट्यान्न पार्न पनि यस्तो कदम वाध्यात्मक भएको तर्क पनि उठेको छ ।

तर, जोशी केन्द्रवाट निर्देशन आएपछि मात्र यस्तो कदम चाल्ने पक्षमा छन् ।

एनआरएनए अमेरिका अमेरिकामा दर्ता भएको संस्था हो । एनआरएनए काठमाडौंसँग यसको आवद्धता छ । एनआरएनए नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

अहिले सिर्जित समस्यालाइ सल्टाउन अनौपचारिक वार्ताहरु भने भईरहेका छन् । क्षेत्रिय संयोजक जोशी, एनआरएनए अमेरिका अध्यक्ष डा. केशव पौडेल, एनआरएनएका सल्लाहकार हरिबोल भण्डारीहरु बीच पनि अनौपचारिक वार्ता भईरहेको छ ।