मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकामा राजनीतिक प्रतिशोध

एनआरएन अमेरिकामा राजनीतिक प्रतिशोध


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएन) को गत महिना काठमाडौंमा सम्पन्न सम्मेलनको क्रममा दलबल सहित नेपाली कांग्रेसमा प्रवेश गरेको घटना सेलाउन नपाउँदै एनआरएन अमेरिकाका एक पदाधिकारीलाई भने फरक राजनीतिक आस्थाका आधारमा स्पष्टीकरण सोधिएको  छ ।
 
एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर (कार्यसमिति सदस्य) प्रितीसागर खत्रीलाई एनआरएन अमेरिकाले नेपालको राजनीतिक दलको प्रचार गरेको आरोप लगाउँदै शुक्रबार स्पष्टीकरण सोधेको छ । खत्रीले सामाजीक सञ्जाल विशेषगरि फेसबुकमा नेकपा एमालेका पक्षमा भोट मागेको आरोप एनआरएन अमेरिकाका केही पदाधिकारीहरुको छ ।
 
खत्रीलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । उनलाई एनआरएन अमेरिकाको विधानको दफा १४६ र १४७ को ठाडो उल्लंघन गरेको आरोप छ । यो दफामा राजनीतिक दलको गतिविधिमा कोही पनि पदाधिकारीहरु आफ्नो पदमा बहाल रहेसम्म संलग्न हुन नपाउने उल्लेख छ ।
 
सबैभन्दा रमाइलो पक्ष त के छ भने एनआरएन अमेरिकाका अधिकांश पदाधिकारीहरु एक महिना अघि काठमाडौंमा भएको सम्मेलनको क्रममा नेपाली कांग्रेसका नेताहरु सँग भेटेर खादा ओढेर पार्टी प्रवेश गरेका थिए । एनआरएन अमेरिकाजका तत्कालिन क्षेत्रीय संयोजक सोनाम लामा त नेपाली कांग्रेसमा प्रवेशनै गरेको समाचार सार्वजनिक भएको थियो । 
 
 
‘यो राजनीतिक प्रतिशोध भन्दा अरु केही होइन । नत्र भने प्रितीसागरजी एनआरएन नेतृत्वमा आएर एमाले प्रवेश गरेका होइनन् । उनी नेपालको विद्यार्थी राजनीतिमा लामो समय बिताएका व्यक्ति हुन् । उनी एमाले हुन् भन्ने जानेरै एनआरएनमा विजयी भएका हुन्,’ उनी निकट एक एनआरएन सदस्यले हिमालय खबरसँग भने । ती सदस्यका अनुसार एनआरएन अमेरिकाभित्र अहिले आफ्नो आङको भैँसी नदेख्ने र अरुको आङको जुम्रा भने देख्ने प्रवृत्ति मौलाएको छ । 
 
खत्रीलाई स्पष्टीकरण सोधिएपनि उनलाई के कारवाही हुन्छ भन्ने बारेमा विधानमा कुनै उल्लेख छैन । उनलाई कारवाही गर्ने क्षमता र हैसियत एनआरएनको कार्यसमितिलाई बिधानले दिएको छैन । स्पष्टीकरणको उद्वेश्य खाली राजनीतिक प्रतिशोधमात्र रहेको देखिएको छ। होइन भने कारवाहीको सुरुवात वर्तमान अध्यक्ष डा. केशव पौडेलबाटै गर्नुपर्ने अवस्था छ । जो काठमाडौं गएर नेपाली कांग्रेसमा प्रवेश गर्ने र गराउने अभियानमा थिए ।
 
यो विषयमा अध्यक्ष पौडेलसँग प्रतिकृया लिने प्रयास गर्दा उनी टेलिफोन सम्पर्कमा आउन चाहेनन् । एनआरएन अमेरिकाका नवनियुक्त मिडिया कोअर्डिनेटर बाल जोशीले भने विधान अनुसार खत्रीलाई स्पष्टीकरण सोधिएको पुष्टी गरे । उनले भने–‘खत्रीजीले चित्तबुझ्दो स्पष्टीकरण दिएपनि र नदिएपनि हामीसँग कारवाही गर्ने हैसियत भने छैन । किनकी विधानले हामीलाई त्यो अधिकार पनि दिएको छैन र न्यायीक समिति पनि गठन भैसकेको छैन ।’
 
 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।