हिमालयखबर संवाददाता-
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि सोमबार हुने निर्वाचनका लागि यतिबेला धमाधम उम्मेदवारी दर्ता गर्ने कार्य भइरहेको छ ।
सोमबार बिहान जमुना घलेले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । घलेले आइतबार राति अध्यक्षमा भवन भट्टले उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी दर्ता गराउँदा एनआरएन अध्यक्ष शेष घलेको सहभागिता रहेको थियो ।
यसैबीच, एनआरएनएमा चुनावी सरगर्मी बढिरहँदा अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न सहमतिको प्रयास भए पनि बाकी पदमा सहमति हुन नसकेपछि सहमति प्रयास असफल भएकोहो । अध्यक्षमा भट्ट कि घले भन्ने विवाद हटाउन र सकभर सहमति गरेरै अघि बढाउन संस्थापक अध्यक्षहरु आफैँ खटिएका थिए ।
शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनको आगामी कार्यकालका लागि आइतबार साँझदेखि सोमबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्ताका सोमबार ९ बजेसम्मको समय तोकिए पनि अपुग भएपछि दुईघन्टा थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यक्रममा करिब ७० देशका गैरआवासीय नेपालीको सहभागिता रहेको विश्व सम्मेलनमा करिब १८ सय प्रतिनिधि चयन भएर आएका छन् । उनीहरुले मतदानद्धारा सोमवार नयाँ नेतृत्व चयन गर्ने छन् ।
एनआरएनएको सन् २०१७-१९ का लागि अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने छन् । यस्तै अमेरिका, युरोप, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक-एक जना गरी छ क्षेत्रीय संयोजक र ६ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक-एक जना तथा युवा संयोजक र उपसंयोजक एक(एक जना निर्वाचित हुनेछन् ।
सोमबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म मतदान हुने निर्वाचन आयुक्त शिव रिजालले हिमालय खबरलाई जानकारी दिए । मतदान गर्नका लागि भिसा भएको पासपोर्ट वा ग्रिनकार्ड र आइडी कार्ड अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको निर्वाचन आयुक्त रिजालले बताए ।
यसपटक विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम सार्वजनिक हने आयोजकले जनाएको छ
प्रतिक्रिया