मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

प्रदर्शनी केन्द्र निर्माण गर्न एनआरएनले हातेमालो गर्ने

प्रदर्शनी केन्द्र निर्माण गर्न एनआरएनले हातेमालो गर्ने


चितवन– चितवन उद्योग संघको प्रदर्शनी केन्द्र निर्माणका लागि गैरआवासीय नेपालीहरुले पनि आर्थिक तथा भौतिक सहभागिता जनाउने भएका छन् । 
 
चितवनको भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल सरकारका माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलाई गरिएको सम्मान तथा विभिन्न देशबाट उपस्थित गैरआवासीय नेपालीहरुसँगको परिचायत्मक कार्यक्रममा गैरआवासीय नेपालीहरुको सो अभियानमा आफूले पनि भूमिका निर्वाह गर्ने जीवा लामिछानेले बताएका हुन् । 
 
कार्यक्रममा प्रमुख अतिथि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले देशले राजनीतिक संक्रमणकालबाट लगभग उन्मुक्ति पाइसकेकाले अबको क्रान्ति भनेको औद्योगिक क्रान्ति रहेकोले अब देश त्यसतर्फ उन्मुख हुने बताए । 
 
विभिन्न कालखण्डमा चितवन राजनीतिक भाषा र भाषणमा राजधानी हुने र बनाइनुपर्ने राजनीतिक राजधानीको सरगर्मी बढे पनि चितवन अब राजनीतिक राजधानीको रुपमा नभई आर्थिक राजधानीको रुपमा आफैँ उन्मुख भइसकेको बताए । 
 
चितवनको मुटु भरतपुरमा एक्स्पो सेन्टर निर्माण हुँदै गरेको अवस्थामा निर्माणाधीन एक्स्पो सेन्टरबाट करिब १० किलोमिटर उत्तर पूर्वमा २ हजार विगाहमा निर्माण हुने भनिएको नेपालकै सबैभन्दा विशाल औद्योगिक क्षेत्र यसको लागि अर्को आकर्षण र एक्स्पो सेन्टर स्थापित हुनु सार्थकसिद्ध हुने बताए । 
 
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले चितवनबाट विभिन्न मुलुकमा बस्दै आएका गैरआवासीय नेपालीहरु शैक्षिक क्षेत्रलगायत उद्योग तथा व्यापारमा त्यतिकै सफल रहेको जानकारी दिए । 
 
भावुक हुँदै लामिछानेले भने, ‘आफ्नो जन्मजिल्ला छोडेर बाहिर गएर शैक्षिक तथा आर्थिक रुपमा आफू दह्रो हुँदै गएपछि त्यो गैरआवासीय नेपालीले पहिलोपटक सम्झिने भनेको आफू पढेको स्कुल, कलेज, आफू जन्मेको गाउँ र जिल्लाप्रति केही गरुँ भन्ने भावना पलाउँदो रहेछ ।’ 
 
विभिन्न देशमा रहेका चितवनका गैरआवासीय नेपालीहरुको यस एक्स्पो सेन्टर निर्माण गर्न अभियानमा जुट्न अनुरोध गर्दै र विभिन्न देशमा रहने चितवनका गैरआवासीय नेपालीहरुलाई आफूले पनि समेट्न भूमिका खेल्ने प्रतिबद्धता जनाए । 
 
उनले विभिन्न १५ मुलुकमा रहेका चितवनवासीहरुको संगठनको एकाकार संस्था चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समितिको यही अक्टोबर १८–१९ मा चितवनमा हुने विश्व सम्मेलनमा आफ्नो पनि सहभागिता रहने जानकारी दिए । 
 
चितवनवासीहरुको साझा संस्था र चितवन सहायता समाज बेल्जियमकी सीता सापकोटा र एनआरएनए जापानका अध्यक्ष ओम गुरुङलाई पनि यस अभियानलाई संस्थागत रुप तथा व्यक्तिगत रुपमा सहयोगीको भूमिका खेलिदिन पनि आग्रह गरेका छन् । 
 
व्यवसायी भेषराज दुवाडीले नेपालमा प्रदर्शनी केन्द्रको रुपमा काठमाडौँस्थित भृकुटीमण्डपको भन्दा नेपालकै विशाल र अतिसुविधासम्पन्न प्रदर्शनी केन्द्र निर्माण गर्न लागिएकोमा यो प्रदर्शनी केन्द्र चितवनको मात्र नभै नेपालकै गरिमा बढाउने कुरामा आफू विश्वस्त रहेको बताए । 
 
कुल ३७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको प्रदर्शनी केन्द्रमा २०–२० हजार वर्गफिटको हललाई ३ वटा भागमा विभाजित गर्न मिल्ने किसिमको हलको साथै बाल मनोरञ्जन केन्द्र, सचिवालय पनि निर्माण गरिने जानकारी दिए । 
 
नेपाल सरकारको उद्योग मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयबाट १५ करोड प्राप्त भएपछि र संघमा आवद्ध समिति सदस्यलगायत अन्य सहयोगदाताबाट रकम प्राप्त भएपछि निर्माण कार्य तीव्र गतिमा भएको पनि दुवाडीले जानकारी गराए । 
 
यही आउँदो कार्तिक १८ र १९ गते हुने अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सोही स्थलमा गरिने घोषणा पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले गरे । संघका अध्यक्ष भीमबहादुर पाण्डेको सभापतित्व रहेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्णराज अधिकारीले प्रदर्शनी केन्द्र निर्माण गर्नुको औचित्य र उपलब्धिको बारेमा प्रष्ट्याएका थिए ।