मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

स्थानीय विधान अनुसार चुनाव गर्न अध्यक्ष घलेको सुझाव

स्थानीय विधान अनुसार चुनाव गर्न अध्यक्ष घलेको सुझाव


हिमालयखवर संवाददाता
न्यूयोर्क (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन स्थानीय विधान अनुसार गर्नका लागि एनआरएन आइसिसीका अध्यक्षले सुझाएका छन् ।
 
एनआरएन आइसिसीका अध्यक्ष शेष घलेले मंगलबार कसैलाई पनि संबोधन नगरि प्रेशित गरेको पत्रमा एनआरएन राष्ट्रिय समन्वय परिषद (एनसिसी) को विधानलाई मानेर चुनावी प्रकृयामा लाग्न सुझाव दिएका हुन् । एनआरएन अमेरिकाका अध्यक्षका प्रभावशाली उम्मेदवार गौरीराज जोशीको उम्मेदवारीको संबन्धमा उनको योग्यतामाथि विवाद उत्पन्न भएको छ । 
 
उक्त विवादको समाधानको लागि घलेले एनसिसीको विधान मानेर अघि बढ्न भनेका हुन् । एनआरएन आइसिसीका क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले जोशीको योग्यता नपुग्ने भन्दै तीन महिना अघिदेखि रोक्ने प्रयास गरिरहेका छन् । एनआरएन अन्तर्राष्ट्रिय  समन्वय परिषदका महासचिव बद्री केसीले जोशीको संबन्धमा हालै निर्वाचन समितिलाई पत्र पठाएर योग्यता पुग्ने जानकारी दिएका थिए ।
 
घलेले महासचिवको पत्रलाई थाँती राखेर एनआरएनको स्थानीय विधान अनुरुप चुनावी कार्यक्रममा लाग्न भनेका छन् । उनले पत्रमा लेखेका छन्– ‘एनसिसी अमेरिकाको चुनावी कार्यक्रम अरु एनसिसी सरह स्वतन्त्र, हस्तक्षेपरहित र निष्पक्ष रुपमा हुनुपर्छ । चुनाव एनसिसीको स्थानीय विधि विधान अनुसार र आइसिसीको विधानको परिधीभित्र रहेर हुनुपर्छ ।’  –(The election process of NCC USA, like all other NCC elections, must be conducted in a free and fair manner, free from interference, and the accordance with the requirement set out in the NCC's governing constitution, any applicable local laws and with in the boarder framework of NRNA-ICC constitution.)
 
महासचिव केसीले लेखेको पत्रलाई हाललाई थाँती राखेर जुलाई ३० मा हुने बैठकमा छलफलका लागि पेश गर्ने समेत घलेले उल्लेख गरेका छन् । क्षेत्रीय संयोजक लाम र उपसंयोजक शेर्पाले आफुलाई जानकारीनै नदिइ महासचिवले पत्र लेखेको हुँदा ‘कारवाही गरिपाउँ’ भन्दै अध्यक्ष घलेलाई उजुरी गरेका  थिए । 
 
अध्यक्ष घलेको पत्रमा क्षेत्रीय संयोजक र उपसंयोजकप्रति पनि लक्षित गर्दै ‘कुनै पनि हस्तक्षेप नगर्न’ संकेत गरिएको छ । लामाले उम्मेदवारको नामावली प्रकाशित हुनुभन्दा दुई दिन अघि निर्वाचन समितिलाई पत्र लेखेर जोशीको नाम समावेश नगराउने नियतले आइसिसीको विधान उल्लेख गरेका थिए । 
 
घलेको मंगलबारको पत्रलाई एनआरएन अमेरिकाको संस्थापन पक्ष (डा. केशव पौडेल) र गौरी जोशी दुबैले आ–आफ्नो सुविधा अनुसार व्याख्या गरेका छन् । डा. पौडेल पक्षले महासचिवको पत्रलाई अध्यक्षले अवैध ठहर्याएका कारण जोशी उम्मेदवार हुन नपाउने व्याख्या गरेका छन् । 
 
उता जोशी पक्षले भने एनआरएन अमेरिकाको विधान अनुसार चुनाव गर्न सुझाव दिएका कारण अब आफ्नो पक्ष चुनावमा जाने जनाएका छन् । एनसिसीको विधानले दुई वर्षदेखि नियमित साधारण सदस्य भएको व्यक्ति पनि अध्यक्षको उम्मेदवार हुन पाउने व्यबस्था गरेको छ ।
 
निर्वाचन समितिले अक्षमताले गर्दा बाहिरबाट चलखेलको अवसर पाएको धारणा अमेरिकामा रहेका धेरैको छ । समितिले समयसीमा अनुसार काम नगरेको गुनासो सदस्यहरुले गरेका छन् । 
 
अनावश्यक ढिलासुस्ती, पत्रचारका हस्तक्षेपले एनआरएन अमेरिकालाई कमजोर बनाएको धारणा यसका अभियन्ताहरुको छ । ‘एनआरएको चुनाव अब समयमा हुन मुस्किल छ, यसले हामी जस्तालाई दुखित बनाएको छ,’ एनआरएन अमेरिकाका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार राम सी पोखरेलले भने ।