मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरी जोशी समूहको उम्मेदवार सूचि तयार

गौरी जोशी समूहको उम्मेदवार सूचि तयार


हिमालयखवर संवाददाता
न्यूयोर्क (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्ष पदका उम्मेदवार गौरीराज जोशी समूहका उम्मेदवारहरुको सूचि तय भएको छ ।
 
सोमबार साँझ भएको गौरी जिताउ अभियानको कन्फरेन्स बैठकले उम्मेदवारको सूचि तय गरेको हो । बैठकमा जनसम्पर्क समिति अमेरिका, प्रवासी मञ्च, राप्रपा निकट प्रवासी संगठन लगायत अमेरिकामा रहेका नेपालीमुलका प्रवुद्ध व्यक्तिहरुको सहभागिता थियो । 
 
उक्त बैठकले तय गरेको गौरी जोशी समूहका उम्मेदवारहरुमा वरिष्ठ उपाध्यक्षमा तेम्बा नोर्बु शेर्पा न्यूयोर्क छन् । त्यस्तै उपाध्यक्षहरुमा जेदु पोखरेल, उमा कार्की थापा, पुरुषोत्तम बोहोरा र सञ्जीव श्रेष्ठ छन् ।
 
महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः धर्म भट्टराई, पूर्ण चन्द्र बानिया र रेवती अधिकारीको नाम तय गरिएको छ । महिला संयोजकमा लक्ष्मी खरेल थापा र युवा संयोजकमा स्वराज खातीको नाम तय गरिएको बैठकमा सहभागी एक सदस्यले हिमालय खबरलाई बताए ।
 
गौरी जोशी टीमबाट सदस्यको उम्मेदवारहरुमा शशी अधिकारी, तिर्सना शर्मा, बिष्णु शाह, प्रितीसागर खत्री, उत्तम शर्मा लामिछाने, सञ्जय थापा, लाक्पा लामा, परशु भण्डारी रहेका छन् । 
 
‘यो समूहबाट आकांक्षीहरुको सूचि लामो रहेकोले केही पदहरु खाली राखिएको छ,’ ती नेताले भने । केही दिनभित्रै सबैको नाम समावेश सूचि तयार भएर सार्वजनिक गरिने समेत उनले बताए ।
 
अमेरिकाको भूगोल, विचार, जातीगत, क्षेत्रगत सबै हिसाबले निकै गहन रुपमा अध्ययन गरेर सूचि बनाइएको दावी ती नेताले गरेका छन् । ‘यो टीम एनआरएन अमेरिकालाई हाँक्नसक्ने क्षमता भएका, जोश जाँगर बोकेकाहरुले भरिएको छ,’ उनले भने । 
 
यो समूहलाई एमाले निकट प्रवासी मञ्चले सहयोग गर्ने देखिएको छ । किनकी मञ्चका पूर्ब अध्यक्ष थापा यो समूहबाट सदस्यको उम्मेदवार बनेका छन् । 
 
‘गौरी जोशी आफैँमा युवाहरुमा लोकप्रिय छन्, त्यसमाथि जनसम्पर्क समिति अमेरिका, प्रवासी मञ्च, जनजाती महासंघ, अमेरिकामा लोकप्रिय श्री पराजुली लगायतका व्यक्तिहरुको साथ र समर्थनले सबैभन्दा बलियो टीम यही हुने देखिएको छ,’ गौरी जिताउ अभियान समन्वय समितिका एक नेताले भने । 
 
समन्वय समितिमा एनआरएन अमेरिका तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी संयोजक छन् । समितिमा आनन्द विष्ट, संजय थापा, श्री पराजुली, नगेन्द्र पौडेल, अम्बिका अधिकारी, विनोद शाह, सानुबाबु सिलवाल, लुईसांग वाईवा, शुन्दर गुरुङ, मुकुन्द दुंगाना, बिनोद भट्ट लगायत छन् । 
 
उता अध्यक्षका अर्का उम्मेदवार डा.केशव पौडेल समूह जोशी समूहको सूचि हेरेर आफ्नो रणनीति तय गर्ने तयारीमा छ । गत हप्ता पौडेलले हिमालय खबरसँग प्यानल नबनाउने बताएपनि भित्री रुपमा प्यानल बनाएर अघि बढ्ने तयारीमा पौडेल समूह अघि बढेको छ । 
 
अध्यक्षकी अर्की बलिया उम्मेदवार रविना थापा पनि टीम बनाएर अघि बढ्ने तयारीमा छिन् । उनलाई वरिष्ठ उपाध्यक्षमा मनाएर आफु अध्यक्ष बन्ने प्रस्ताव लिएर डा. पौडेलको समूह पुगेको थियो । तर रविनाले त्यो प्रस्तावलाई ठाडै इन्कार गरेकी छन् । 
 
रविनालाई जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसी लगायतका नेताहरुको साथ र समर्थन छ ।  
 
अध्यक्षका उम्मेदवार राम सी पोखरेलले भने प्यानल नबनाई अघि बढ्ने बताए ।
 
प्यानल बनाएर चुनावमा जान उचित नहुने सुझाव आएपनि जोशी समूह भने टीम बनाएरै जाने रणनीति अनुसार अघि बढेको हो । ‘टीम आएन भने योजना अनुसारका कामहरु गर्न गाह्रो पर्छ, खिचडी पाराले अब एनआरएन चलाउन सकिँदैन । त्यही भएर बलियो टीम बनाएर जाने निधोमा पुगेका हौँ,’ ती नेताले भने ।