मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

लाखौँ खर्च गरी अमेरिका आउनु अघि एक पटक सोचौं

लाखौँ खर्च गरी अमेरिका आउनु अघि एक पटक सोचौं


काठमाडौमा यसै साता विदेश पठाउने भन्दै करोडौ रुपैंया ठगी गर्ने पक्राउ परे । उनले कयौँ मध्ये एक जनासँग अमेरिका पठाउने भन्दै ३८ लाख रुपैंया लिएका रहेछन् । दिनेले अमेरिका जाने सपना वुन्दै उक्त रकम नगदैमा दिएको समाचार यसै साता इकान्तिपुरमा प्रकाशित भएको थियो । के यसरी २० लाख, ३० लाख वा यसभन्दा पनि बढी रुपैंया खर्च गरेर अमेरिका आउन उपयुक्त हुन्छ ? अमेरिकामा बस्ने उद्देश्यले पर्यटक भिसामा आएका विभिन्न व्यक्तिहरुका अनुभवका आधारमा यसरी आउनु पनि कम जोखिम युक्त हुदैंन भन्ने देखिन्छ ।
 
कृष्ण (गोप्यताका लागि नाम परिवर्तन) एक वर्ष अघि  पर्यटक भिसामा अमेरिका छिरे । के गर्ने कसो गर्ने भन्दै उनका केही महिना विते । साथिभाईको सल्लाहका उनले यहाँ कानुनी रूपमा बस्ने अनुमति पाउन आश्रय (एसाइलम) का लागि निवेदन दिएका छन् । यो निवेदन पेस गरेपछि उनी कानुनी रूपमा यहाँ काम गर्न त पाउने भए तर, परिवारसँग कति समय टाढा बस्ने उनी चिन्तामा छन् । दुई सन्तानका पिता कृष्णको निवेदन स्वीकृत हुने ,नहुने यो थाहा पाउन पनि दुई वर्ष भन्दा बढी पर्खनु पर्ने बाध्यता छ । यदि निवेदन स्वीकृत भएन भने केश अझ लम्बिन्छ । यो अवस्थामा परिवारसँग कति समय टाढा बस्ने उनी चिन्ता गर्दै प्रश्न गर्छन् । 
 
काम त पाएकै छु, तर परिवार उता कहिलेसम्म यसरी नै बस्नु पर्ने हो थाहा छैन कृष्णले भने परिवार उता छ उनीहरू सधैँ कहिले आउँछ भन्छन् म त फर्किन्छु होला ? 
 
अमेरिकामा ३, ४ वर्ष अघिसम्म पनि आश्रय (शरणार्थी)का लागि निवेदन दिएको करिब ४५ दिनमा निर्णय हुन्थ्यो । पहिलो प्रयासमा निवेदन स्वीकृत नभएपनि केही महिना भित्रै अदालतबाट शरणार्थीको मान्यता पाउन धेरै समय लाग्दैनथ्यो । तर, आवेदनको खातले निवेदन दिएको २ बर्षसम्मपनि अन्तवार्ताका लागि मिति नआएका थुप्रै केश छन् । यसरी पर्खिदां कानुन अनुसार काम गर्न पाइने भए पनि नेपाल गएपछि फिर्ता आउन सकिदैंन । नेपाल जानु भनेको केश छाडेर नआउने निर्णय गर्नु हो । यसले गर्दा लामो समय परिवारसँग बिछोड हुन तयार भएर मात्र अहिले शरणार्थीका लागि निवेदन दिनु उपयुक्त हुन्छ ।
 
अमेरिकामा सुरुका दिनमा भनेजस्तो मनग्गे आम्दानीपनि हुदैंन । राज्यले तोकेको न्यूनतम वेतनमा नियमानुसार  साताको ५ दिन अर्थात् ४० घण्टा काम गर्ने हो भने महिनामा मुस्किलले एक हजार डलर जोगिन्छ । यति बचाउन पनि कन्जुस नै हुनु पर्छ । सानो तिनो मोजमस्ती गर्ने हो भनेपनि पैसा जोगिदैंन । यस हिसाबले २० लाख रुपैंया खर्च गरेर आउँदा यो पैसा उठाउन झन्डै २ वर्ष लाग्छ । यहाँ बस्ने अधिकांश नेपालीले परिवारका दुवै जनाले काम गरेर एक जनाको रकम बचत गर्छन् । यही बचतले यहाँ घर किन्ने लगायत अन्य खर्च उठाउने हो । एउटा राम्रो पक्ष कानुनी रूपमा अमेरिका बस्दा कम आम्दानी भए पनि परिवारको स्वास्थ्य र शिक्षामा भने चिन्ता लिनु पर्दैन । कम कमाउनेले यी सुविधा लगभग सित्तैमा पाउंछन् । सामान्य आम्दानी हुने परिवारलाई पनि घरमा पकाएर खान र ठिकैको मोटर चढ्न भने पुग्छ । 
 
पर्यटक भिसामा अमेरिका छिरेपछि तोकिएको समयमा नफर्किने हो भने कसरी यहाँ बस्न आवश्यक कानुनी कागजात बनाउने यो मुख्य चुनौती हुन्छ । नेपालमा जाँदा ज्यानको खतरा छ भन्दै आश्रय माग्ने, असाधारण प्रतिभा रहेको दाबी गर्दै ग्रिनकार्डका लागि निवेदन दिने, यहाँ कानुनी रूपमा वस्नेसंग विवाह गरी यही आधारमा स्थायी बसोबासका लागि निवेदन दिने जस्ता उपायबाट कागजात बनाउन सकिन्छ । तर, यी प्रक्रिया पहिलेभन्दा जटिल हुदैं गएका छन् । कागजात पाउन पहिले भन्दा कठिन छ । कागत (बस्न पाउने स्थायी अनुमति) पाउन नसकेर १०,१२ वर्ष बसेर नेपाल पर्खिएका उदाहरण पनि छन् । अपराध नगर्ने हो भने यहाँ बस्न र फर्किदां कहीँ कतै जवाफ दिनु पर्दैन ।  
 
पैसा खर्च गरेर अमेरिका आएर जोखिम लिई यता न यता  हुनु भन्दा आफूसँग भएको पुँजी नेपालमै व्यवसायमा लगानी गर्दा जीवन सुखी हुन सक्छ । जसरी पनि अमेरिका जाने सपना देख्नु अघि यसबारेमा राम्ररी सोचेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ । अरूका विश्वासमा पर्दा जीवन सुखी होइन समस्यामा परेको थुप्रै उदाहरण अमेरिकामा छन् ।