ड्यालस (अमेरिका) । नेपाली समुदायमा अध्यागमन कानुन र पछिल्लो अवस्थाबारेमा चासो राख्ने क्रम बढेपछि आउँदो साता टेक्ससमा कानुनविदसँग अन्तरकृया कार्यक्रम हुन लागेको छ ।
न्यूयोर्कमा अध्यागमन कानुनका क्षेत्रमा प्राक्टिस गर्दै आएका अधिवक्ता बासु फुलारासँग आउँदो सप्ताहन्त टेक्ससका दुई ठूला शहरहरु ड्यालस र अस्टिनमा नेपाली समुदायले अन्तरकृया कार्यक्रम राखेको छ ।
फुलारासँग गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टरको आयोजनामा आउँदो मार्च १ तारिक शनिबार ड्यालसमा छलफल तथा अन्तरकृया हुँदैछ । त्यस अवसरमा फुलाराले अमेरिकी सरकारले अध्यागमनको क्षेत्रमा गरेको पछिल्लो संशोधन, त्यसले आप्रवासी तथा नेपाली समुदायमा पर्ने प्रभावका विषयमा जानकारी दिने कार्यक्रम रहेको छ ।
गत जनवरी २० तारिकबाट अमेरिकामा ४७ औं राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि आप्रवासी समुदायमा चासो र चिन्ता बढेको छ । ट्रम्प प्रशासनले गैरकानुनी र अपराधमा संलग्न आप्रवासीलाई देश निकाला गर्ने बताएपनि कानुनी रुपमा बस्दै आएका आप्रवासीहरुमा समेत चासो र अन्यौलता छ ।
सोही विषयमा जानकारी गराउन फुलारासँग एनआरएनए टेक्सस च्याप्टरले मार्च १ तारिक शनिबार अर्भिंगमा कार्यक्रम राखेको हो ।
त्यसैगरि ग्रेटर अस्टिन नेपाली सोसाइटीको आयोजनामा मार्च २ तारिक आइतबार ग्यान्स कम्युनिटी सेन्टरमा फुलारासँग अन्तरकृया राखेको छ ।
कार्यक्रममा सहभागी भएर चासो र सरोकारका जिज्ञासाहरु राख्न दुबै संस्थाले आव्हान गरेका छन् ।
प्रतिक्रिया