न्युजर्सी(अमेरिका)- अमेरिकाको न्युजर्सीमा हुन लागेको गैर आवासीय नेपाली नवौँ क्षेत्रीय सम्मेलनमा एनआरएन भिजन २०२० एण्ड बिओण्डमा केन्द्रित रही छलफल हुने भएको छ ।
नेपाली नागरिकता र नेपालमा लगानीमा बढी केन्द्रित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले आफ्नो दायरा अझ बढाउन बहसका रूपमा भिजन २०२० को अवधारणा अघि सारेको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताए ।

अगष्ट २७ र २८ मा हुने एनआरएन नवौँ क्षेत्रीय सम्मेलनमा ५ सय भन्दा बढीको सहभागिता हुने पौडेलले जानकारी दिए । भावी रणनीतिमा छलफलका लागि विज्ञहरुको समूह पनि बनाइएको पौडेलले जानकारी दिए । नेपालबाट आउने सहभागी र विदेशबाट आएका एनआरएन प्रतिनिधिहरुसंग एनआरएनलाई अझ सशक्त रूपमा अघि बढाउन नयाँ अवधारणा छन् कि ? अव एनआरएनएले कुन बाटो लिदां अझ सशक्त हुन्छ यही विषयलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाइएको उनले बताए ।
लगानी मात्र होइन विदेशमा आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका थुप्रै नेपाली विज्ञहरु छन् उनीहरूको क्षमतालाई पनि नेपालले उपयोग गर्न सकेको छैन पौडेलले, यस्ता विषयमा पनि छलफल हुनु पर्यो ।
के कस्ता कार्यक्रम छन् यो अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, युवा सहभागिता, आर्थिक, संविधानमा राखिएको एनआरएन नागरिकताको व्यवस्था, एनआरएन सङ्गठन जस्ता विषयमा पनि सम्मेलनमा छलफल हुने आयोजकले जनाएका छन् । कार्यक्रमको खाका मोटामोटी रुपामा बनेको छ, कार्यक्रम संयोजक तथा एनआरएन उत्तर अमेरिका संयोजक सोनाम लामाले भने अन्तिम परामर्शका लागि एनआरएन अध्यक्ष शेष घलेलाई पठाएका छौँ ।
नेपालका तीन अरबपति विनोद चौधरी, उपेन्द्र महतो र शेष घले
कार्यक्रममा नेपालका तीन अरबपति विनोद चौधरी, उपेन्द्र महतो र शेष घले सहभागी हुने तय भएको छ । यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उद्यमी चन्द्र ढकाल, प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन लगायतका सहभागिता हुने लामाले जानकारी दिए ।
नेपालबाट पराराष्ट्रमन्त्रीलाई वोलाईएको छ । तर, नयाँ सरकार गठनभएकाले यसमा पनि टुंगो लाग्न नसकेको हो । पूर्व सभामुख तथा सांसद सुभाष नेबांगलाई पनि निमन्त्रणा पठाइएको हो । उनको आउने नआउने पनि टुंगो छैन । नेबांगले संविधानमा एनआरएन नागरिकताका लागि सकरात्मक पहल गरेका थिए । यसैले उनलाई डाकिएको हो ।
डेनमार्कको कोपेनहेगनमा गत साता भएको एनआरएन युरोपेली क्षेत्रका देशको क्षेत्रीय भेलामा सामूहिक रूपमा नेपालमा कम्तीमा १ अर्ब रुपैंया लगानी गर्ने निर्णय भएको थियो । अमेरिकामा हामीले सधैँ भरी नेपालमा लगानी गर्न अभिप्रेरित गरेका छौँ म सहित केही साथीहरूले लगानी गरेका पनि छौँ, पौडेलले भने तर, लगानीका लागि वातावरण हुनु पर्यो उपयुक्त क्षेत्र पाउनु पर्यो यो भएमा अमेरिकामा बस्ने थुप्रै नेपालीको लगानी जान्छ I
नेपालबाट कार्यक्रममा सहभागी हुन २१ जनालाई निमन्त्रणा पठाइएको र यसमा कुनै विवाद नरहेको पौडेलले दाबी गरे ।
प्रतिक्रिया