मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मलाई माफ गर मेरो छोरा !

मलाई माफ गर मेरो छोरा !


प्रिय छोरा,
आज जुलाई ४, तिमीलाई थाहा छ बाबु ! आज तिमी दोस्रो बसन्त पार गरेर तेस्रो बसन्तमा पाइला टेक्दै छौ । तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना अनि माया, तिमी सधै खुसी र सुखी रहनु !
तिम्रो जन्मदिन तिमीलाई काखमा लिएर ‘ह्याप्पी बर्थ डे बाबु’ भन्दै मनाउन नपाउँदा कति नरमाइलो लागेको छ ब्यक्त गर्ने कुनै शब्द नै छैन। मलाई थाहा छ, त्यहाँ पनि तिम्रो अबोध मनले मलाई खोजिरहेको छ।
समयपनि कति छिटो बितेछ, अस्ति जस्तो लाग्छ तिमीले मलाई आमा नाम दिएर यस धर्तीमा सन्तान सुखको अनुभूति गराएको । जब तिमीलाई हस्पिटलको नर्सले मेरो छातीमा टाँसीदिए सबै प्रसव पीडा भुलेर मेरो जीवनमा खुसीको बहार आएको थियो । एउटा नारीको लागि आमा हुनु भनेको कति महत्वपूर्ण क्षण रहेछ भन्ने त्यसदिन मैले अनुभूति गरे जब तिमी आफ्नो पहिलो आवाज दिदै यस सुन्दर संसारमा पाइला टेक्यौं ।
हुन त म आमा बन्दैछु भन्ने थाहा पाएको दिनबाट नै तिमीलाई मैले नदेखे पनि अनुभव गरेको थिएँ । तिम्रा हरेक स्पर्शहरु जुन मभित्र मेरो मुटु जसरी धडकिन्थ्यो। कहिले तिमी मभित्र सलबलाएर काउकुति लगाए जस्तो गर्थ्यौ त कहिले तिम्रो कोमल स्पर्श जसले मलाई रातभरि सुत्न दिदैनथ्यो ।
कति रात त म राम्ररी नसुती उज्ज्यालो भएको थियो भने कति दिन केही खान नसकेर एउटा रोटी र पानीमात्र खाएर बसेको थिएँ। आज म तिमीलाई धेरै सम्झीरहेको छु बाबु, यो घर जहाँ मैले तिम्रो पहिलो जन्मदिन मनाएको  थिएँ, कति रमाइलो भएको थियो, आज यहाँ सुनसान छ। म चाहन्थे तिम्रो हरेक जन्मदिन म सधै मेरै काखमा मनाउन पाउँ, हामी सधै सँगै बसेर हाम्रो खुसी साट्न पाउँ। मलाई माफ गर छोरा, सधै आफूले सोचे जस्तो हुँदोरहेनछ, आज म यहाँ सात समुद्रपारीबाट तिमीलाई जन्मदिनको शुभकामना पठाउँदै छु। म जहाँ भएपनी मेरो शुभकामना, माया र आशिर्बाद सधै तिमिसँगै छ।
तिमी पक्कैपनि नेपालमा तिम्रो हजुरबुवा आमा, दिदी, बहिनीसँग रमाएर, खुसी भएर बसेको छौ, धेरै माया पाएको छौ। तर मेरो आँखामा म हिड्ने बेलामा तिमीले रूदै बाई बाई गरेको मात्र आइरहन्छ। तिमीलाई थाहा थिएन तिम्रो मामु तिमीलाई छोडेर यति टाढा जादैछ भनेर तरपनि तिमी थाहा पाए जसरी रूदै थियौ, मैले घरबाट पर आउने बेलासम्म सुनेको थिएँ तिम्रो त्यो रुवाई।
मेरो मनपनि भक्कानिएर आएको थियो तर म आफ्नो आँशु लुकाउने कोशिश गर्दै थिएँ किनकि म एक्लै यति टाढाको यात्रा गर्नु थियो, म स्ट्रोंग बनेर आउनु थियो ।
त्यो दिन तिमी मलाई खोजेर कतिबेरसम्म रोयौं होला अनि भुल्यौ होला छतमा बसेका परेवा देखेर। जहिले म बिहान छोडेर गएपनि बेलुका घर फर्किन्थे, त्यो दिन पनि तिमीले साँझ परेपछि मेरो बाटो हेरेर बस्यौ होला, तिमीले भन्न सकेनौं होला मेरो मामु आज किन आएन भनेर ।
म यहाँ आएपछि तिमि त्यसरी नै रोइरहेको छ कि भनेर झस्किरहन्छु । भर्खरमात्र बोल्न सिकेको तिम्रो त्यो तोतेबोली जतिबेला पनि मेरो कानमा गुन्जिरहन्छ बाबु ।
यहाँ म युनिभर्सिटीमा हुँदा आफ्नै पढाईमा ब्यस्त हुन्छु, केही सोच्ने फुर्सद नै हुँदैन तर जब घर फर्किन्छु तिमीलाई नै देख्छु आँखाभरि र सम्झिन्छु तिमी यहाँ जापान हुँदाका ति रमाइला दिनहरू।।।। यहाँ हुँदा तिमी, तिम्रो पापा र म बिहानसँगै घरबाट निस्किन्थ्यौ, तिमीलाई डे केयरमा छोडेर हामी युनिभर्सिटी  जान्थ्यौ अनि बेलुका सँगै फर्किन्थ्यौ । कति रमाइलो थियो त्यो समय तर अहिले जब म युनिभर्सिटी जान्छु बाटोमा तिम्रो डे केयर पर्छ, तिम्रा साथीहरू देख्छु अनि यो मन थामिदैन बाबु जति कठोर बनाएर हिड्ने प्रयास गरे पनि । कहिलेकाही तिम्रो डे केयरको म्याडमहरू भेट हुन्छन् र सोध्छन तिम्रो बारेमा, म केही बोल्न सक्दिनँ, पहिले नै मेरो आँखा बोलिदिन्छ। जब म युनिभर्सिटीबाट फर्केर घरको ढोका खोल्छु यो घर जस्तो अध्यारो र सुनसान केहि लाग्दैन।
अनि एकछिन भित्तामा टाँसीएका तिम्रा फोटोहरूसँग एक्लै कुरा गर्छु । तिमीलाई आमाको न्यानो माया चाहिने बेलामा मैले दिन सकिन। अहिले म आफ्नो पढाइ र व्यस्तताले गर्दा तिमीलाई समय दिन सकिनँ । पछि तिमी मलाई समय दिन सक्दैनौ होला, त्यो बेलामा मैले तिमिसँग गुनासो गर्ने कुनै ठाउँ राखिनँ, मलाई माफ गर छोरा ।
त्यसो त तिमिमात्र होइन छोरा सानैमा आफ्नो मामुसँग टाढा भएर बसेको, हाम्रो नेपालमा म जस्तो विदेशिने आमाहरू धेरै छन । आफ्नो र परिवारको सुन्दर भविष्यको आशामा कति आमाहरु काखेनानी छोडेर खाडीमुलुक पनि गएका छन्। जीवनमा धेरै दुःख र कष्ट झेलेका छन, आफ्नो सन्तानलाई खुसी र सुख दिनको लागि ।
के गर्नु छोरा यो हाम्रो बाध्यता हो, जुन उच्चस्तरको शिक्षा र सुविधा विदेशमा छ त्यो हामी नेपालमा पाउन सकिरहेका छैनौं । तिम्रो जन्मदिनको अवसरमा म यही शुभकामना दिन चाहन्छु बाबु, ‘विदेशमा पाउने गुणस्तरीय शिक्षा, सुविधा र रोजगारी तिमीलाई नेपालमा नै प्राप्त होस्, तिमी शिक्षा र रोजगारीकै लागि बाध्य भएर विदेशिन नपरोस्।’    –सेतोपाटीबाट