गोकर्णेश्वर (काठमाडौँ) । सुक्खा पहिरो बारम्बार जान थालेपछि सिन्धुपाल्चोकका तीन गाविसका स्थानीयवासी शरण खोज्दै गोकर्णस्थित राष्ट्रिय सहिद स्मारक निर्माणस्थलमा आई बस्न बाध्य भएका छन् ।
तिब्बतसँग सीमा जोडिएका जिल्लाको पूर्वी भेगका फुल्पिङकट्टी, मार्मिङ र गाती गाविसका ३८४ जना गोकर्णेश्वर नगरपालिका यज्ञडोल (जगडोल) सामुदायिक वनस्थित स्मारक निर्माणस्थलमा पाल टाँगेर बसेका हुन् । दैनिक पहिरोको जोखिम बढ्दै जाँदा गाउँ छोडी यहाँको अस्थायी शिविरमा आउनेको सङ्ख्या बढ्न थालेको छ ।
“वैशाख १२ गतेको भूकम्प र पटक–पटकका परकम्पले जिल्लाका अधिकांश स्थानमा जमिन चिरा पर्ने र सुक्खा पहिरो जान थालेपछि डरले थातथलो छोड्न बाध्य हुनुप¥यो” – मार्मिङ गाविस– ४ रङ्गाका दिपेश शेर्पाले भन्नुभयो ।
पुख्र्यौली थातथलो छोड्न बाध्य भएका स्थानीयले मार्मिङ, गाती र फुल्पिङकट्टी भूकम्पपीडित व्यवस्थापन समिति गठन गरेर गोकर्ण जङ्गलमा अस्थायी शिविर खडा गरेका छन् । “९८ घरपरिवार जमिन भासिने र सुक्खा पहिरो गएकै कारण जन्मभूमि छोड्न बाध्य हुनुप¥यो, जन्मभूमि नै छोड्नुपरेपछि खानपानलगायत धेरै कुरामा समस्या भएको छ” – समिति सदस्य एवम् पीडित नवाङरब्गेल लामाले भन्नुभयो ।
भूकम्पपछिका परकम्प पनि पटक–पटक सिन्धुपाल्चोक केन्द्रविन्दु भएर जान थालेपछि चिरा परेका स्थानमा बढी फाटिएकाले शनिबारमात्र २३ जना स्थानीयवासी गाउँ छाडेर गोकर्णको पालमा आइपुगेको समितिका सचिव दावा शेर्पाले जानकारी दिनुभयो । पहिरोले भोटेकोसी नदी थुनिएर डुबानमा परिने भयमा नदी किनार नजिकका स्थानीय सुरक्षित स्थलको खोजीमा काठमाडौँ आएका हुन् । गत वर्ष साउन १७ गते सिन्धुपाल्चोकको राम्चे गाविसको जुरे पहाड खसेर भोटेकासी नदी थुनिएपछि एक सय ५० स्थानीयवासीले ज्यान गुमाएका थिए ।
नदी थुनिने डरले कोदारी राजमार्ग वरपरका मानिस सुरक्षित बासको खोजीमा काठमाडौँ आएको र माथि लेकाली गाउँका मानिस मार्मिङ– ४ को चदली भन्ने स्थानमा रहेको सम्म परेको ठाउँमा बसेको शनिबारमात्र गाउँ छोडेर गोकर्ण आइपुगेका दिपेशले राससलाई जानकारी दिनुभयो ।
“मार्मिङ गाविसको वडा नं ३ देखि ९ सम्मका करिब दुई हजार मानिस चदलीमा एकै ठाउँमा जम्मा भई बसेका छन्, यो ठाउँमा जमिन नभासिएको र नजिकै चिरा पनि नपरेकाले सुरक्षित भएको आशामा बसेका हुन्, सडकबाट आठ घन्टा हिँड्नुपर्ने यो लेकाली गाउँमा खाद्यान्न सामग्रीको अभाव छ” – उहाँले भन्नुभयो ।
काठमाडौँमा आई आश्रय खोजेर बस्न थाले पनि खाद्य सामग्री र खानेपानीको समस्या ज्यादा भएको समिति सचिव शेर्पाको गुनासो छ ।
“राजधानीको केन्द्रमा पीडित आएर बस्दा पनि राज्यका तर्फबाट केही पाएका छैनौँ, हाम्रो क्षेत्रका सभासद्लगायत विभिन्न दलका नेता आउँदा पनि यो समस्या जानकारी गराएका छौँ, सक्दो सहयोग गर्ने आश्वासन पाए पनि अहिलेसम्म केही आएको छैन, केही सहयोगीले दिएको सामग्रीका भरमा जीवन जोगाएका छौँ” –समितिका अध्यक्ष छिरिङ शेर्पाले भन्नुभयो ।
सुक्खा मौसममा पालमा जीवन धानिए पनि वर्षा लागेपछि जङ्गलको पालमुनिको बासले कसरी जीवन बचाउने भन्ने चिन्ताले ७० वर्षीय स्याङ्वो लामालाई चिन्तित बनाएको छ । “जीवन बचाउने आशामा जन्मभूमिका सबै कुरा छोडेर यहाँ आई बसेका छाँै, यहाँ पनि कति दिन जीवन बाँच्ने भन्ने निश्चितता देखिएन” – उहाँले भन्नुभयो ।
पालको बासमा बालबच्चा र वृद्धवृद्धालाई भने समस्या हुन थालेको समितिले जनाएको छ । पालमा पाँच वर्षमुनिका ३४ बालबालिका, १६ वर्षमुनिका १०४ बालबालिका र ६० वर्षमाथिका २५ जना वृद्धवृद्धा रहेका छन् ।
गाती गाविस– ९ का मोहन श्रेष्ठ सिग्मनडाँडा सामुदायिक वनमा फराकिलो रूपमा जमिन चिरा परेकाले गाउँमा बस्न नसकिने अवस्था रहेको बताउनुहुन्छ । “गातीमै धेरै ठाउँमा सुक्खा पहिरो गएको छ, जमिन भासिएर डर लाग्दो भएको छ” – उहाँले भन्नुभयो ।
फुल्पिङकट्टी– ४ का सोनाम शेर्पा पहिरोकै समस्याका कारण छ जनाको परिवार गाउँ छोडी शरणार्थीको जीवन बिताउन बाध्य हुनुपरेको गुनासो गर्नुहुन्छ । रासस
प्रतिक्रिया