मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नगरकोट भ्रमण वर्ष सुरू : दुई दिनमै एक लाख पर्यटकको आगमन

नगरकोट भ्रमण वर्ष सुरू : दुई दिनमै एक लाख पर्यटकको आगमन

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । यही वैशाख १ गतेदेखि सुरू भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दुई दिनमा एक लाख पर्यटकको आगमन भएको छ ।

पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्डटकको आगमन भएको हो । पर्यटन प्रवर्द्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारीका अवसर सृजना, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापितलगायत उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिएको हो ।

नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको भ्रमण वर्षका अवसरमा पहिलो दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको छ ।

उनले भने, “नगरकोट भ्रमण वर्षको सुरुमा पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित हुनुभएको छ । गत चैत अन्तिम दिन कुनै पनि होटलका कोठा खाली थिएनन्, होमस्टेसमेत भरिएका थिए । वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो । आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।”

भ्रमण वर्ष उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्री भइरहेको छ भने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

तेस्रो तथा उद्घाटन कार्यक्रमको समापनका दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहको प्रस्तुति रहेको छ । सांस्कृतिक कार्यक्रममा २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष एवं चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

नगरकोटमा सुरू भएको भ्रमण वर्ष १२ महिना अर्थात् आगामी चैत मसान्तसम्म सञ्चालन हुने जानकारी दिँदै नगरप्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको भ्रमण वर्षको सुरूआत पूर्णरूपमा सफल भएको बताए ।

नगरकोट आएका हजारौँ पर्यटकले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँका विभिन्न स्टलको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेका उनको भनाइ छ । नगरकोटमा उद्घाटनका तीन दिनमा एक लाख स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने उद्देश्य रहेकामा उक्त उद्देश्य पूरा भएको भन्दै एक वर्षमा ११ लाख पर्यटकलाई नगरकोट ल्याउने र पर्यटनको विश्वबजारमा नगरकोटलाई चिनाउने नगरप्रमुख खत्रीले बताए ।

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाले प्रत्येक महिनामा कम्तीमा एउटा संयुक्तरूपमा नगरकोटकेन्द्रित पर्यटकलक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य बनाउने गरी थप कार्यक्रम वडास्तरबाट सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।

भ्रमण वर्षले चारवटै पालिकाको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत सम्पूर्ण क्षेत्रका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलाई पूरा गर्ने विश्वास लिइएको नगरप्रमुख खत्रीले बताए ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी नवीन लामाले नगरकोट आउने पर्यटकलाई एक वर्षसम्म खान र बस्न १० देखि १५ प्रतिशतसम्म छूट दिने व्यवस्था गरिएको जानकारी दिए ।