केही यात्रा गन्तव्य पुगेर समाप्त हुँदैनन्, मनभित्रको यात्रा सुरु हुन्छन्।
हाम्रो विवाह भएको जुन ३० बाट २५ वर्ष पूरा हुँदै थियो। अन्य वर्षगाँठ एकदिन मनाइन्छ, २५ वर्षे त एक हप्ता मनाउनु पर्छ भन्ने हाम्रो सल्लाह हुँदै थियो। कहाँ जाने भनेर ठाउँ तय गर्न मैले इन्टरनेटको सहयोग लिएँ। खोज्दै जाँदा अरुबा अमेरिकीहरुको मधुमास र वर्षगाँठ मनाउन निकै लोकप्रिय देश रहेछ। हामीले त्यहीं जाने निर्णय गर्यौ।

हाम्रो २५औँ वैवाहिक वर्षगाँठ मनाउन रोजिएको क्यारिबियनको सानो टापु अरूबाको यात्रा यसरी नै बनेको थियो। नक्सामा सानो देखिने यो देशले हामीलाई प्रकृतिको विशालता, जीवनको सरलता र यात्राको वास्तविक आनन्द नयाँ ढंगले चिनायो।
दक्षिणी क्यारिबियन सागरमा, दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको उत्तरतर्फ अवस्थित अरूबा पूर्वदेखि पश्चिमसम्म करिब २० माइल (३२ किलोमिटर) र उत्तरदेखि दक्षिणसम्म करिब ६ माइल (१० किलोमिटर) मात्र फैलिएको छ। केही घण्टामै गाडीमा पुरा देश घुम्न सकिने यो टापु आकारले सानो भए पनि अनुभूतिले असाध्यै ठूलो लाग्यो।
हामी हिड्ने अघिल्लो साँझ भेनेजुएलामा ठूलो भुकम्प गयो ।हजारौं जनजीवन प्रभावित भएको खवरले समाचारहरु भरिए। प्रभावित देशहरुको नाममा समाचारहरुमा अरुबाको नाम पनि जोडियो। सुटकेश तयार पारिसकेका हामी जाने-नजाने दोधारमा पर्यौ।
अमेरिकन ट्राभल एडभाइजरिमा चेक गर्यौ, सचेत पूर्वक यात्रा गर्न सकिने लेखिएको थियो। त्यतिले चित्त बुझेन, पछि आफैं जाने होटेलमा सम्पर्क भयो र भुकम्प आएको कुरा उनीहरुले पनि समाचार सुनेर थाहा पाएको र त्यहाँ किने प्रभाव नरहेको बताए पछि हामी ढुक्कले प्रस्थान गरेका थियौं।
अरूबा नेदरल्यान्ड्सको स्वशासित देश हो। एक लाख आठ हजार मात्र जनसंख्या रहेको यो देशको आफ्नै निर्वाचन प्रणाली, २१ सदस्यीय संसद र सरकार रहेछ। नेपालको झैँ संसदीय निर्वाचित प्रधानमन्त्री भए पनि रक्षा र केही अन्तर्राष्ट्रिय विषयमा भने नेदरल्यान्ड्ससँगको सहकार्य गर्नु पर्ने राजनैतिक सम्बन्ध रहेछ। हामी त्यहाँको संसद भवन समेत पुग्यौं।

त्यहाँको आधिकारिक मुद्रा अरुबान फ्लोरिन (AWG) हो। तर अमेरिकी डलर (नगद र क्रेडीट कार्ड) जहाँसुकै सजिलै चल्दोरहेछ। हामीले त्यहाँको मुद्रा नसाटि भ्रमण पूरा गर्यौ। स्थानीय भाषा पापियामेन्टो र डच भए पनि अंग्रेजी यति सहज रूपमा बोलिन्छ कि भाषा कहिल्यै यात्राको बाधा बनेन।
प्लेनबाट ओर्लने बित्तिकै रमाइलो त के लाग्योभने एयरपोर्टमा सवैतिर अमेरिकन नागरिकका लागि छुट्टै गेट र इमिग्रेशन सिस्टम रहेछ। १६ वर्ष भन्दा मुनिको बच्चा आफूसंग छ भने एयरपोर्टमा मात्र हैन सिंगो देशमै कहीं पनि लाइन लाग्नु नपर्ने। हामीसंग यात्रामा रहेकी हाम्री छोरी १६ वर्ष नपुगेकीले हामीले यस कुराको भने निकै सुबिधा प्राप्त गर्यौ।
पर्यटकीय देश भएको र पर्यटकहरु मुलत: समुन्द्री आनन्द लिन आउने हुँदा त्यहाँ आइतवार बजार बन्द हुने, ट्याक्सी पनि प्रिबुकिंग बाहेक नचल्ने, सार्वजनिक बस पनि नचल्ने रहेछ। अरु दिन पनि साँझ ५ बजे पछि सिमित एरियामा मात्र सार्वजनिक यातायात चल्दा रहेछन। हामी यो जानकारीबाट अनभिज्ञ थियौं। प्राय: पर्यटकहरु साँझ परेपछि आ-आफ्नै होटलको रमझममा रमाउने भएकोले त्यस्तो भएको हुनसक्छ।
एकपटक भने अलिक रमाइलो भयो। आइतवार विहान ब्रेकफास्ट खाएर हामी हाम्रो होटलबाट करिव एक घण्टा टाढा रहेको सामुद्रिक किनारमा गयौं। ४-५ घण्टा समुन्द्रमा रमाए पछि थकाई लाग्यो र होटल फर्कन निस्कियौ। ट्याक्सी पाइहालिन्छ भन्ने अनुमान थियो र प्रिबुकिंग गरेका थिएनौ। पछि त्यहाँ भेटिएका सवै ट्याक्सीले प्रिबुकिंग भएकोले हामीलाई लाग्न असमर्थता जनाए।

ड्यालसमा धेरै साथीहरु म्याराथुन दौडन्छन, ८-१० माइल त हो, हिडेर जाऔं भनेर हामी हिडेर फर्कन लाग्यौ तर दिउसो करिव २ बजेको हुँदो हो घाम मनग्गे लागेको थियो, १ माइल नहिडदै छोरी र श्रीमतीले हिडेर जान नसक्ने बताए। सवारी साधन केही पाइएन। बडो असमन्जसमा पर्यौ हामी। म बाटोमै रहेको एउटा होटलमा छिरे र आफ्नो व्यथा सुनाए र आफू जे-जति पैसा लागे पनि तिर्ने र आफ्नो होटल सम्म पुर्याइदिन अनुरोध गरें। त्यो होटलले पैसा लिन मानेर तर हामीलाई हाम्रो होटल सम्म पुर्याइदियो। हामी पर्यटकलाई आफ्नोपनको अनुभूति गराउने उनीहरूको व्यवहारले यात्रा अझ आत्मीय बनायो।
सार्वजनिक यातायातमा भने क्यास (नगद) मात्र चल्ने रहेछ। हरेक यातायातमा Cash Only नै लेखिएको हुन्छ। हामी हिंडेर र गाडी चढेर सिंङ्गो देश घुमिसक्दा पनि कतै ट्राफिक लाइट देखिएन। हामी आफैँ छक्क पर्यौ। पछि हाम्रो ट्याक्सी ड्राइभरलाई सोध्यौ। पूरै देशमा एउटा पनि ट्राफिक लाइट नै रहेनछ।
अनुशासित चालक, व्यवस्थित राउन्ड अबाउट र सडक संस्कृतिले देखायो सवारी व्यवस्था ट्राफिक लाइटले मात्र होइन, नागरिक चेतनाले पनि चलाउँछ। पैदल यात्रीलाई भने निकै प्रार्थमिकता दिइने रहेछ। अर्को रमाइलो कुरा के थियो भने समयको निश्चितता। हरेक सार्वजनिक यातायात १ मिनेट पनि तल माथि भएनन्, सवै स्थानमा पिकप र ड्रप अति नै पन्चुवल।
अमेरिका फर्किने दिन अर्को रोचक अनुभव भयो। विमानस्थलमा अमेरिका जाने यात्रुका लागि छुट्टै प्रस्थान क्षेत्र (USA Departure Building) र अमेरिकी अध्यागमन सुविधा रहेछ। त्यसैले अरूबा बाटै अमेरिकी अध्यागमन प्रक्रिया पूरा गरेपछि अमेरिका पुग्दा फेरि अध्यागमनको लाइनमा उभिनु पर्दैन। आन्तरिक उडानबाट आएझैं एयरपोर्टबाट सरासर निश्कन पाइन्छ।
अरूबाको सबैभन्दा ठूलो परिचय भने समुद्र हो। स्थल मार्गबाट अरुबा जान सकिदैन। यो टापु हो। यहाँका प्राय: सवै होटलहरु समुन्द्री किनारमा छन्। हरेक होटल आफैंमा पूर्ण सुविधा युक्त र प्राय: सवै आ-आफ्नै आगाडी Beach संग जोडिएका र ब्यबस्थित छन्। रमाइलो कुरा त ८० डीग्री तापक्रमको Beach मा मज्जाले चीसो वियर पिउदै घुम्न पाइन्छ।
ईगल बीच, पाम बीच, अराशी बीच, ट्रेस ट्रापी, बोका क्य़ाटलिना बीच, बेबी बीच यहाँका प्रमुख बीचहरु हुन्। यी हरेक समुद्री किनार (बीच) को आफ्नै कथा रहेछ। सेता रेशमी बालुवा, पारदर्शी फिरोजी पानी र क्षितिजसम्म फैलिएको नीलो आकाश। कतिपय बेला समुद्रको रङ यति स्वच्छ देखिन्थ्यो कि पानी हो कि आकाशको प्रतिबिम्ब छुट्याउनै गाह्रो पर्थ्यो। साँझपख सूर्य समुद्रमा बिस्तारै विलाउँदै गर्दा समय नै केहीबेर रोकिएको जस्तो लाग्थ्यो।
यद्यपि एउटा सानो कुरा यात्रुहरूले सम्झनुपर्छ। धेरै समुद्री किनारमा पानीभित्र वा किनारछेउ प्राकृतिक चुच्चे ढुंगाहरू छन्। त्यसैले पौडी खेल्दा वा स्नोर्केलिङ गर्दा केही सावधानी अपनाउनु राम्रो हुन्छ। तर यही प्राकृतिक बनोटले समुद्रलाई अझ जीवन्त बनाएको छ।
हामीलाई विशेष रूपमा आकर्षित गरेको अर्को स्थान थियो रेनेसान्स क्षेत्र। यहाँको निजी टापु (Private Island) पुग्न डुंगाबाट जानुपर्छ। त्यहाँ दुई फरक समुद्री किनार छन्; एउटा परिवारका लागि, अर्को केवल वयस्कहरूका लागि। शान्त वातावरण, सीमित आगन्तुक, सेतो बालुवा र क्रिस्टलजस्तै स्वच्छ पानीले त्यो ठाउँलाई कुनै चलचित्रको दृश्यजस्तै बनाइदिन्छ। त्यसमाथि स्वतन्त्र रूपमा हिँडिरहेका गुलाबी फ्लेमिङ्गोहरूले प्रकृतिलाई अझ मनमोहक बनाइदिन्छन्।
हामी भने आकाश मार्गबाट गएका थियौं। हामीले उहीं पुगेपछि थाहा पायौं टेक्सासको ग्यालभेष्टन बाट प्रस्थान गर्ने कार्निभल क्रुजको एउटा डेस्टीनेशन अरुबा पनि रहेछ।
करिव एक हप्ता अरूबामा बिताएपछि हामीले महसुस गर्यौँ, यो केवल समुद्र हेर्ने ठाउँ मात्र होइन, जीवनलाई केही दिनका लागि व्यस्तताबाट शान्त बातावरणमा रमाउने ठाउँ रहेछ। युरोप अति व्यस्त देखिन्थ्यो, भागदौड धेरै थियो मान्छेहरुमा। यहाँ हतार छैन, भीडभाड छैन, अनावश्यक कोलाहल छैन। केवल न्यानो घाम, हल्का समुद्री हावा, मुस्कुराइरहेका मानिसहरू र सम्झनामा बसिरहने प्रकृति।

हामीले त्यहाँ केवल आफ्नो २५औँ वैवाहिक वर्षगाँठ मात्र मनाएनौँ; २५ वर्षको सहयात्रालाई नयाँ सम्झनाले सजायौँ। फर्किंदा हाम्रो साथमा केही तस्वीर, केही भिडियो र केही उपहार मात्र थिएनन्, हाम्रो मनमा जीवनभर ताजा रहने अनुभवहरूको एउटा सुन्दर अध्याय पनि थियो।
यदि तपाईं प्रेमको कुनै विशेष क्षण मनाउन चाहनुहुन्छ, परिवारसँग केही अविस्मरणीय दिन बिताउन चाहनुहुन्छ, वा केवल समुद्रको किनारमा बसेर जीवनलाई केही बेर शान्तसँग महसुस गर्न चाहनुहुन्छ भने, अरूबा एक पटक अवश्य पुग्नुपर्ने गन्तव्य हो। केही ठाउँहरू घुमिन्छन्, केही ठाउँहरू भने मनभित्र सधैंका लागि बस्छन्। हाम्रो लागि अरूबा मनभित्र सजिएको देश बन्यो।












प्रतिक्रिया