केही समयअघि कवि रमेश गुरुङको कविता सङ्ग्रह महाप्रस्थानसँग मेरो एउटा अप्रत्याशित र भावनात्मक संयोगबाट भेट भयो। अमेरिकी-नेपालीहरूको संस्था एएनएमा सँगै सामाजिक सहकार्यबाट परिचित हुँदै गहिरिएको हाम्रो आत्मीयता पछिल्लो २/३ वर्षदेखि आ-आफ्नै व्यस्तताले पातलिएको थियो।
एक दिन अग्रज मित्र रमेश गुरुङले अचानक म्यासेन्जरमा मेरो घरको ठेगाना सोध्नुभयो। मैले पनि किन, कसो केही नसोधी ठेगाना लेखिदिएँ। उहाँले पनि केही बताउनुभएन। केही दिनपछि हुलाकबाट एउटा पत्र मेरो घरमा आइपुग्यो। खाम खोलेँ। भित्र एउटा सुन्दर हार्डकभर पुस्तक थियो – महाप्रस्थान।
त्यति बेलासम्म मलाई रमेशजीले कविता सङ्ग्रह प्रकाशित गर्नुभएको छ भन्ने जानकारीसमेत थिएन। त्यति मात्र होइन, झण्डै ४-५ वर्ष एउटै संस्थामा बसेर काम गरे पनि हाम्रा साहित्यिक कुराहरू खासै भएनछन्। मलाई उहाँको साहित्यिक गहिराइका बारेमा हेक्कै रहेनछ।
पुस्तक हातमा लिएँ, आवरण हेरेँ र केही कविता पढौँला भनेर पाना पल्टाउन थालेँ। तर केही कविता पढेपछि ‘केही कविता’ भन्ने उद्देश्य आफैँ हरायो। म क्रमशः पुस्तकभित्र प्रवेश गरिसकेको थिएँ। एउटा कविताले अर्को कवितातर्फ डोर्याउँदै गयो र अन्ततः सङ्ग्रहका सबै कविता पढेर मात्र पुस्तक बन्द गरेँ।
पुस्तक बन्द गर्दा मनमा पहिलोपटक आएको अनुभूति थियो- यो केवल कविता सङ्ग्रह मात्र होइन रहेछ। यो त जीवनलाई बाहिरबाट हेर्ने होइन, जीवनभित्रै पसेर त्यसलाई बुझ्ने प्रयास रहेछ। त्यसपछि मैले रमेश गुरुङलाई केवल मित्रका रूपमा मात्र होइन, एउटा कविका रूपमा पनि नयाँ ढङ्गले चिन्न थालेँ।
‘महाप्रस्थान’ आफैँमा अत्यन्त अर्थपूर्ण शीर्षक हो। नेपाली सांस्कृतिक चेतनामा यो शब्द सुन्नासाथ महाभारतको अन्तिम यात्राको स्मरण हुन्छ- सांसारिक मोह, वैभव र सम्बन्धहरूलाई पछाडि छोडेर अन्तिम यात्रातर्फ अघि बढ्ने यात्रा। त्यसैले ‘महाप्रस्थान’ शब्दमा मृत्युको सङ्केत मात्र छैन; त्यसभित्र त्याग, आत्मबोध, अस्तित्वको खोजी र अन्तिम सत्यको सामना गर्ने साहस पनि अन्तर्निहित छ। रमेश गुरुङले आफ्नो कविता सङ्ग्रहको शीर्षकका रूपमा यही शब्द चयन गर्नुले कृतिको मूल चेतनातर्फ सङ्केत गर्छ।
तर महाप्रस्थानलाई केवल मृत्युको कविता सङ्ग्रहका रूपमा बुझ्नु यस कृतिको आयामलाई सीमित गर्नु हुनेछ। यहाँ मृत्यु अन्त्य मात्र होइन, जीवनलाई बुझ्ने एउटा माध्यम बनेर आएको छ।
जीवनको अन्तिम सत्यतर्फ हेर्दा कवि फेरि जीवनकै सुरुवात, अर्थ, सम्बन्ध, मोह, पीडा, स्मृति र मानवीय संवेदनातर्फ फर्किन्छन्। मृत्युको अनिवार्यतालाई स्वीकार गर्ने क्रममा जीवनको मूल्य अझ गहिरो भएर प्रकट हुन्छ। यही कारणले महाप्रस्थान पढ्दा मृत्युको चर्चा भएर पनि निराशा पैदा हुँदैन; बरु आफ्नै जीवनतर्फ फर्केर हेर्ने इच्छा जाग्छ।
असल साहित्यले पाठकलाई सधैँ उत्तर दिँदैन। कहिलेकाहीँ उसले पाठकको मनमा त्यस्ता प्रश्नहरू जन्माउँछ, जसको उत्तर खोज्ने यात्रा पुस्तक पढिसकेपछि सुरु हुन्छ। महाप्रस्थानको सबैभन्दा ठूलो शक्ति यही प्रश्नशीलता हो। हामी कहाँबाट आएका हौँ? कहाँ जाँदैछौँ? जीवनमा हामीले जे प्राप्त गर्न खोजिरहेका छौँ, त्यसको अन्तिम अर्थ के हो? समयसँगै हराउँदै जाने उपलब्धि, पद, प्रतिष्ठा, सम्पत्ति र सम्बन्धहरूको बीचमा मानिसको वास्तविक परिचय के हो? अनि सबै कुरा छोडेर जानुपर्ने अन्तिम क्षणमा मानिससँग बाँकी रहने कुरा आखिर के हो?
यी प्रश्नहरू कुनै दार्शनिक ग्रन्थका जटिल प्रश्नजस्ता लाग्दैनन्। कवितामार्फत ती आफ्नै जीवनका प्रश्न बनेर पाठकसामु आउँछन्। यही कारणले महाप्रस्थानको दार्शनिकता बोझिलो छैन। विचारले कवितालाई थिचेको छैन; बरु अनुभूतिले विचारलाई जन्म दिएको छ। जीवनलाई भोगेर, समयलाई नजिकबाट नियालेर, सम्बन्धका उतारचढावलाई महसुस गरेर र अस्तित्वका प्रश्नहरूसँग जुधेर आएको दर्शन कवितामा स्वाभाविक रूपमा अभिव्यक्त भएको अनुभूति हुन्छ।
कविताको अर्को महत्त्वपूर्ण पक्ष यसको मानवीय संवेदना हो। मानिसको जीवन केवल दर्शन र विचारले मात्र बनेको हुँदैन। त्यसमा प्रेम हुन्छ, पीडा हुन्छ, बिछोड हुन्छ, स्मृति हुन्छ, आशा हुन्छ र कहिलेकाहीँ शब्दले व्यक्त गर्न नसक्ने मौनता पनि हुन्छ। महाप्रस्थानका कवितामा यही मानवीय तह बलियो देखिन्छ। कविता पढ्दै जाँदा कतै आफ्नै जीवनका घटनाहरूको सम्झना आउँछ, कतै पुराना सम्बन्धहरू आँखाअगाडि आउँछन्, कतै समयले छोडेका घाउहरू फेरि महसुस हुन्छन्। यही भावनात्मक स्पर्शले कवितालाई पाठकको निजी अनुभवसँग जोडिदिन्छ।
कविता तब मात्र प्रभावशाली हुन्छ, जब कविको अनुभूति पाठकको अनुभूति बन्न पुग्छ। महाप्रस्थानमा यही सम्भावना देखिन्छ। कविले आफ्ना प्रश्न लेखेका छन्, तर ती प्रश्न कविमै सीमित रहँदैनन्। पढ्दै जाँदा ती पाठकका प्रश्न बन्न थाल्छन्। कविले आफ्नो जीवनलाई हेरेका छन्, तर त्यसमा पाठकले आफ्नो जीवनको प्रतिबिम्ब भेट्न सक्छ। यही नै कविताको वास्तविक शक्ति हो।
आधुनिक जीवनको एउटा विडम्बना पनि यस कृतिको सन्दर्भमा उल्लेखनीय लाग्छ। मानिस आज संसारसँग पहिलेभन्दा धेरै जोडिएको छ, तर आफूभित्र भने पहिलेभन्दा धेरै एक्लो हुन सक्छ।
प्रविधिले दूरी घटाएको छ, सूचना हातमै आएको छ, संसारको कुनै पनि कुनासँग क्षणभरमै सम्पर्क गर्न सकिन्छ। तर आफ्नै मनसँग संवाद गर्ने समय भने कम हुँदै गएको छ। महाप्रस्थानले पाठकलाई यही हराउँदै गएको आत्मसंवादतर्फ फर्काउने काम गर्छ। बाहिरी संसारबाट भित्र पस्ने, भीडबाट आफूलाई अलग्याएर आफ्नै अस्तित्वलाई नियाल्ने र ‘म को हुँ?’ भन्ने सरल तर गहिरो प्रश्नसँग सामना गर्ने अवसर यी कविताले दिन्छन्।
यस अर्थमा महाप्रस्थान एउटा बाहिरी यात्रा होइन, भित्री यात्रा हो। यो शरीरबाट मनतर्फ, मनबाट चेतनातर्फ र चेतनाबाट आत्मबोधतर्फ अघि बढ्ने यात्रा हो। त्यसैले ‘महाप्रस्थान’ यहाँ मृत्युको पर्याय मात्र रहँदैन; यो मानिसले आफ्नो जीवनलाई गहिरोसँग बुझ्न सुरु गरेको क्षणको नाम पनि बन्न पुग्छ।
रमेश गुरुङको साहित्यिक यात्रालाई प्रवासको सन्दर्भबाट अलग गरेर हेर्न पनि मिल्दैन। अमेरिकामा बसेर नेपाली भाषामा निरन्तर साहित्य सिर्जना गर्नु आफैँमा महत्त्वपूर्ण सांस्कृतिक कर्म हो।
प्रवासले मानिसको भूगोल परिवर्तन गर्छ, तर भाषा, स्मृति, संस्कार र भावनाले बनाएको मातृभूमिको भूगोल सजिलै परिवर्तन हुँदैन। बरु दूरी बढ्दै जाँदा कतिपय स्मृतिहरू अझ गहिरा हुन्छन्।
आफ्नो जन्मभूमिबाट हजारौँ माइल टाढा बसेर मातृभाषामा कविता लेख्नु केवल साहित्य सिर्जना गर्नु मात्र होइन, आफ्ना सांस्कृतिक जरा र भावनात्मक पहिचानसँग निरन्तर संवाद गरिरहनु पनि हो।
प्रवासको जीवनले मानिसलाई दुई संसारको बीचमा उभ्याउँछ। एकातिर जन्मभूमिको स्मृति र अर्कोतिर कर्मभूमिको वर्तमान; एकातिर बाल्यकाल र विगत, अर्कोतिर आधुनिक जीवन र भविष्य; एकातिर आफ्ना जरा र अर्कोतिर नयाँ संसार। यस्तो जीवनानुभूतिको तहले कविको चेतनामा स्वाभाविक रूपमा प्रश्न जन्माउँछ। महाप्रस्थानका कवितामा यही व्यापक मानवीय र अस्तित्वगत प्रश्नहरूको प्रभाव भेटिन्छ। यस दृष्टिले यो केवल प्रवासमा लेखिएको कविता सङ्ग्रह मात्र होइन; प्रवासमा निर्माण हुँदै गएको नेपाली मनोविज्ञान र चेतनाको एउटा साहित्यिक अभिव्यक्ति पनि हो।
कविताको भाषा र शैलीको चर्चा गर्दा यसको सरलता र गहिराइबीचको सम्बन्ध महत्त्वपूर्ण देखिन्छ। दार्शनिक विषयलाई कवितामा उतार्दा धेरैपटक भाषा जटिल बन्न सक्छ र विचारले भावनालाई विस्थापित गर्न सक्छ। तर महाप्रस्थानको प्रभाव त्यसको भावनात्मक आधारमा टिकेको छ। दर्शन यहाँ पाठकलाई प्रभावित गर्न प्रदर्शन गरिएको छैन; जीवनका अनुभूतिहरूबाट स्वाभाविक रूपमा निस्किएको देखिन्छ। त्यसैले पाठकले कवितामा ‘दर्शन’ पढिरहेको भन्दा ‘जीवन’ पढिरहेको अनुभूति गर्छ।
साहित्यिक कृतिको मूल्याङ्कन गर्दा त्यसले कति कुरा भन्यो भन्दा पनि त्यसले पाठकको मनमा कति कुरा बाँकी राख्यो भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ। महाप्रस्थान पढिसकेपछि धेरै प्रश्नहरू बाँकी रहन्छन्। सायद त्यसैले यो पुस्तक पढेर सकिँदैन। यसको वास्तविक यात्रा त पुस्तक बन्द गरेपछि सुरु हुन्छ। पाठक आफ्नो जीवनतर्फ फर्किन्छ, आफ्ना सम्बन्धहरूलाई फेरि सम्झन्छ, आफ्नो समयलाई नियाल्छ र आफूले दौडिरहेको बाटोको अर्थ खोज्न थाल्छ।
मेरो लागि महाप्रस्थानको सबैभन्दा ठूलो विशेषता यही पाठकीय अनुभूति हो। मैले यो पुस्तक कुनै समीक्षा लेख्ने उद्देश्यले पढेको थिइनँ। मैले त मित्रले पठाएको उपहारका रूपमा पुस्तक खोलेको थिएँ। तर पुस्तकले मलाई मित्रको उपहारभन्दा धेरै कुरा दियो। एउटा आत्मसंवाद दियो, जीवनका केही पुराना प्रश्न सम्झाइदियो र कवि रमेश गुरुङलाई नयाँ दृष्टिले चिन्ने अवसर दियो।
सायद यही कारणले मलाई महाप्रस्थानको आगमनको कथा पनि यसको कविताजत्तिकै प्रिय लाग्छ। लेखकले पुस्तक पठाउने कुरा बताउनुभएन, मात्र म्यासेज गरेर “तपाईँको घरको ठेगाना?” भनेर सोध्नुभयो। मैले पठाइदिएँ। हुन सक्छ त्यसबेला हामी दुवै व्यस्त थियौँ। केही दिनपछि पुस्तक आइपुग्यो। त्यो सानो रहस्यले एउटा सुन्दर साहित्यिक भेट जन्मायो। मैले मित्रको हातबाट पुस्तक लिएको होइन; हुलाकको खामबाट एउटा कविको अन्तरात्माको संसार प्राप्त गरेँ।
कहिलेकाहीँ मानिसलाई उसको बोलीले भन्दा उसको लेखाइले बढी चिनिन्छ। दैनिक जीवनमा हामी कसैलाई मित्र, सहकर्मी वा परिचितका रूपमा चिन्छौँ। तर जब उसको पुस्तक हातमा आउँछ, उसको भित्र लुकेको अर्को मानिससँग भेट हुन्छ। महाप्रस्थान पढेपछि रमेश गुरुङसँगको मेरो परिचय पनि त्यही अर्थमा विस्तार भयो। मित्रका रूपमा चिनेको मानिसभित्र एउटा संवेदनशील, प्रश्नाकुल, दार्शनिक र जीवनको गहिराइ खोजिरहेको कवि रहेछ भन्ने अनुभूति भयो।
अन्तमा, महाप्रस्थानलाई म केवल कविताको पुस्तकका रूपमा होइन, कविताबाट जीवनको अन्तिम सत्यतर्फ जाने एउटा आत्मिक यात्राका रूपमा हेर्छु।
पुस्तक बन्द गरेपछि यात्रा सकिँदैन। बरु त्यहीँबाट सुरु हुन्छ, आफूतर्फ फर्किने यात्रा।
बाहिरको संसारबाट भित्रको संसारतर्फ।
प्रश्नबाट आत्मबोधतर्फ।
जीवनबाट जीवनकै अर्थतर्फ।
र अन्ततः
महाप्रस्थानका लागि कवि रमेश गुरुङलाई यो अर्थपूर्ण कृतिका लागि हार्दिक बधाई तथा नेपाली भाषा, साहित्य र संस्कृतिको सेवामा उहाँको निरन्तर साहित्यिक यात्राका लागि हार्दिक शुभकामना।












प्रतिक्रिया