मुख्य समाचार

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हो : राष्ट्रपति पौडेल

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हो : राष्ट्रपति पौडेल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृतिलाई नेपाली समाजको मौलिक पहिचान तथा राष्ट्रिय गौरवको आधारस्तम्भका रूपमा व्याख्या गरेका छन्। उनले साहित्य केवल भावना अभिव्यक्त गर्ने माध्यम मात्र नभई समाजलाई सचेत, संवेदनशील र जिम्मेवार बनाउने शक्तिशाली साधन भएको बताएका छन् ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्यले लोकतान्त्रिक मूल्य, सामाजिक रूपान्तरण, देशभक्ति र न्यायप्रतिको चेतनालाई बलियो बनाउँदै सभ्य समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

Advertisement

उनले साहित्यको शक्ति समाजलाई एकताबद्ध गर्ने, जनचेतना अभिवृद्धि गर्ने तथा उज्यालो भविष्यतर्फ डोर्‍याउने क्षमतामा निहित रहेको उल्लेख गरे। राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, राष्ट्रिय भावना र जनचेतनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै नयाँ पुस्ताले उनलाई केवल इतिहासका कविका रूपमा नभई चेतना, साहस, सृजनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे ।

उनका अनुसार सिद्धिचरण श्रेष्ठले आफ्नो समयको सामाजिक चेतना, जनभावना र परिवर्तनप्रतिको आकांक्षालाई साहित्यमार्फत सशक्त रूपमा अभिव्यक्त गरेका थिए । नेपाली साहित्यको समृद्धिमा उनको योगदान अविस्मरणीय रहेको राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेलले तत्कालीन कठिन राजनीतिक र सामाजिक परिस्थितिका बीच पनि युगकविले स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनजागरणका पक्षमा निर्भीक आवाज उठाएको स्मरण गरे ।

विचार र अभिव्यक्तिको स्वतन्त्रताप्रति उनको अडानकै कारण उनले लामो कारावास जीवन व्यतीत गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसबाट उनको संघर्ष, त्याग र साहित्यप्रतिको समर्पण झल्किने बताए ।

उनले सिद्धिचरणका कृतिहरूमा जन्मभूमिप्रतिको गहिरो प्रेम, राष्ट्रप्रतिको निष्ठा र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रस्ट देखिने उल्लेख गर्दै विशेषगरी ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताले मातृभूमिप्रतिको प्रेमलाई नेपाली साहित्यमा अमर बनाएको बताए । कार्यक्रमका अवसरमा साहित्य र अनुसन्धान क्षेत्रमा योगदान पुर्‍याएबापत डा. दुबसु क्षेत्री तथा डा. गार्गी शर्मालाई ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिएको थियो ।