बिजनेस/ इकोनोमी

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ : चेम्बर

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ : चेम्बर


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सो अवसरमा उद्योगी व्यवसायीले लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो रहेको औँल्याए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन लगानीकर्ताको मनोबल बढाउने वातावरण आवश्यक रहेको बताएका छन्। उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सकारात्मक संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको धारणा राखे।

Advertisement

अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले व्यवसायीहरूमा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै नीतिगत स्थिरता र लगानी सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। ‘विस २०६४ सालमा सम्पत्ति शुद्धीकरण ऐन लागू हुनुपूर्व सदियौंदेखि वैधानिक तवरले उद्योग, व्यापार कृषि एवं पुख्र्यौली हस्तान्तरणबाट आर्जित सम्पत्तिको कुनै प्रमाणित आधार (अभिलेख) राज्य संयंत्रबाट कहिले हुन सकेन,’ उनले भने।

उनले सार्वजनिक सवारी साधन दर्ता रोक्कासम्बन्धी निर्णयले अटोमोबाइल क्षेत्र प्रभावित भएको भन्दै पूर्वसूचना र परामर्श बिना नीति परिवर्तन नगर्न सरकारलाई आग्रह गरे।

उनले सेयर बजार सुधार, सिंगल आईएसआईएन प्रणाली लागू, कर प्रणाली सुधार, पूँजीगत खर्च वृद्धि, तथा नियामक निकायबीच समन्वय बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै वित्तीय र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नन-नार्कोटिक गाँजाको खेतीलाई वैधानिकता दिनुपर्ने आवश्यकता औँल्याए । उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिए पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने व्यवस्था उपयुक्त नभएको बताए । नागरिकता जारी गर्दा प्यान कार्ड अनिवार्य गर्नुपर्ने सुझाव दिँदै उनले प्राकृतिक स्रोत साधनको समुचित उपयोग गर्न सक्ने वातावरण निर्माण गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने धारणा राखे ।

चेम्बर अफ कमर्सका सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सम्मान नहुने मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए। बजेट तथा विद्युतीय सवारीसाधन ९ईभी० आयातका विषयलाई लिएर अर्थमन्त्रीलाई गलत रूपमा चित्रण गर्ने प्रयास भएको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरे। ट्राफिक व्यवस्थापन, करसम्बन्धी प्रावधान तथा अन्य प्रशासनिक जटिलताका कारण व्यवसाय क्षेत्र समस्यामा रहेको उनको भनाइ थियो।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले सम्पत्ति शुद्धीकरण निवारण ऐन र संगठित अपराधसम्बन्धी कानुनी व्यवस्थाले व्यवसायी तथा लगानीकर्तामाझ त्रासको वातावरण सिर्जना गरेको बताए। लगानीकर्तामैत्री वातावरण अझै बन्न नसकेको उल्लेख गर्दै उनँले यसतर्फ सरकारले विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखे।

चेम्बरका पूर्वअध्यक्ष सुरेश कुमार बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, घरजग्गा तथा पैतृक सम्पत्तिको कारोबारमा समेत अधिक कर लगाउनु उपयुक्त नभएको बताए।

कार्यक्रममा सहभागी उद्योगपति तथा व्यवसायीहरूले एमआरपी प्रणाली, धितोपत्र बजार, कर प्रशासन, बैंक कर्जा, सम्पत्त शुद्धीकरणसम्बन्धी कानुन, नीतिगत व्यवस्था तथा व्यावसायिक वातावरणमा देखिएका विविध अवरोधबारे आफ्ना धारणा राखेका थिए।