खेलकुद

विश्वकप २०२६: मेस्सीको ऐतिहासिक ह्याट्रिक

विश्वकप २०२६: मेस्सीको ऐतिहासिक ह्याट्रिक

मेस्सीको जादू: ८० मिनेट भित्र तीन गोल, तीन शैली, एकै कथा—महानताको


क्यान्सस सिटी स्टेडियममा खेलिएको आजको खेल फुटबल इतिहासमा अविस्मरणीय बन्यो। विश्वकप २०२६ को समूह ‘J’ अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्‍यो। तर आज अर्जेन्टिनाले अल्जेरियालाई जितेको भन्दा ठूलो कथा थियो —लियोनेल मेस्सीको पहिलो विश्वकप ह्याट्रिक। ३८ वर्षको उमेरमा पनि विश्व फुटबलको केन्द्रबिन्दु बन्न सक्ने क्षमता केवल मेस्सीमा नै छ भन्ने कुरा उनले फेरि एकपटक प्रमाणित गरे।

मेस्सीको जादू: ८० मिनेट भित्र तीन गोल, तीन शैली, एकै कथा—महानताको

Advertisement

खेल सुरु हुनासाथ अर्जेन्टिनाले बलमा नियन्त्रण जमायो। तर खेलको वास्तविक मोड १७औँ मिनेटमा आयो, जब मेस्सीले बक्स बाहिरबाट गरेको शटले जाली चुम्यो। गोलकिपरले छोए पनि रोक्न नसकेको त्यो प्रहारले स्टेडियममा उपस्थित ६० हजारभन्दा बढी अर्जेटिनी समर्थकले एकैपटक उठेर ताली बजाएको क्षण हेर्न लायक थियो।

मेस्सीले दोस्रो गोल ६०औँ मिनेटमा गरे। एन्जो फर्नान्डेजको प्रहार गोलकिपरबाट फर्किएको थियो, तर मेस्सीको प्रतिक्रिया यति छिटो थियो कि अल्जेरियाली डिफेन्सले पत्तै पाएनन्। उनले नजिकैबाट सहज तर घातक फिनिश गरे। यो दोश्रो गोलले खेल पूर्ण रूपमा अर्जेन्टिनाको नियन्त्रणमा गयो।

खेलमा साँच्चिकैको रोमान्चकता त्यति बेला आयो जब मेस्सीले ७६औँ मिनेटमा तेश्रो गोल गरे र विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक दर्ज गरे। मेस्सीको ह्याट्रिक जारी विश्वकपमा पहिलो हो। मेस्सीको तेश्रो गोल ऐतिहासिक त छँदै थियो, उनले मैदानको बायाँ छेउबाट बल लिएर दुई डिफेन्डरलाई छकाउँदै ट्रेडमार्क शैलीमा गरेको ‘कर्लिङ-फिनिश’ झनै दर्शनीय थियो। मेस्सीको ह्याट्रिकसंगै क्यान्सास सिटी स्टेडियम तालीको गड्गडाहटले गुन्जायमान भएको थियो।

मेस्सीको आजको ह्याट्रिकसंगै उनी अझै पनि विश्वकप २०२६ का सबैभन्दा प्रभावशाली खेलाडी हुन भन्ने पु्ष्टि भएको छ। ३८ वर्षको उमेरमा ह्याट्रिक गरेर उनी विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरका ह्याट्रिककर्ता बने। अल्जेरिया विरुद्ध तीन गोल गरेसंगै उनको विश्वकप गोल संख्या १६ पुगेको छ, जसले उनलाई विश्वकपमा सबभन्दा बढी गोलको किर्तिमान राखेका जर्मनीका मिरोस्लाभ क्लोजसंग बराबरी गर्ने सौभाग्य प्राप्त भएको छ।
अल्जेरिया विरुद्ध गरेको पहिलो गोल ‘अफसाइड’ भए पनि ७६ मिनेटमा तेश्रो गोल नगरुन्जेल मेस्सी रोकिएनन्। उनको जादुमयी गोलमा खुसी हुन फिफाका अध्यक्ष- जियानी इन्फान्टिनो समेतलाई बाध्य बनायो।

भूमध्यसागरको दक्षिण किनारमा रहेको अफ्रिकाको सबैभन्दा ठूलो देश अल्जेरियाले राम्रो खेल्यो। पहिलो हाफमा अल्जेरियाले गरेको केही काउन्टर–अट्याकले अर्जेन्टिनालाई सतर्क बनायो। मेस्सीको पहिलो गोल ‘अफसाइड’ भएको दोश्रो मिनेटमै अल्जेरियाको गोल पनि ‘अफसाइड’ घोषित भएको थियो। त्यसपछि केही गोल गर्ने अवसरहरु बनाएपनि अल्जेरियाई खेलाडीहरुले कुनै सफलता पाउन सकेनन्।

क्यान्सस सिटी स्टेडियम जुन १६ को साँझ मेस्सीमय बन्यो। ८० मिनेटसम्म मेस्सीले पुरै स्टेडियमका करिब ६५ हजार दर्शकलाई मन्त्रमुग्ध बनाइराखे। ८० औं मिनेटमा ‘सब्स्टिट्यूट’ हुँदा समेत दर्शकहरुको तालिको गड्गडाहटले स्टेडियम गुञ्जायमान भएको थियो।