मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
बोस्टन   

समरभिल सिटि कार्यालयमा नेपाली राष्ट्रिय झण्डा फरफराउने तयारी

समरभिल सिटि कार्यालयमा नेपाली राष्ट्रिय झण्डा फरफराउने तयारी


‘एक पटकको नेपाली, सधैका लागि नेपाली’ – यो भनाई हो गैर आवासीय नेपाली संघ, (एनआरएनए-NRNA)को। यो भनाइले विविध कारणले तन नेपालबाट टाढा रहे पनि प्रवासी नेपालीहरुको मनको अन्तरकुन्तरमा नेपाल र नेपालीप्रतिको माया मोह जिवितै हुन्छ भन्ने सन्देश दिन खोजेको छ। व्यवहारमा पनि विविध क्रियाकलापहरु गरेर नेपाल र नेपालीलाई विश्वभर चिनाउन प्रवासी नेपालीहरुले सक्दो प्रयास गरिरहेको तथ्य जग जाहेर नै छ।

यसै सिलसिलामा, अमेरिकाको मासाच्यसेट्स राज्यको समरभिल सिटिमा, नेपाल र नेपालीहरुको गौरवपूर्ण गाथा र पहिचान बोकेको चन्द्र र सुर्य अंकित नेपाली राष्ट्रिय झण्डा फरफराउने तयारी गरिएको छ। त्यसको नेतृत्वकारी भूमिका गैर आवासीय नेपाली संघ(एनआरएनए-NRNA)अमेरिकाको मासाच्युसेट्स च्याप्टरले गरेको छ। सिटि अफ समरभिल र एनआरएनए, मासाच्युसेट्स च्याप्टरको संयुक्त आयोजनामा नेपाली नयाँ वर्ष २०८१ प्रारम्भको सुभ अवसर पारेर नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम तय भएको छ। उक्त झण्डोत्तोलनको कार्यक्रम यही आउदो अप्रिल १२ तारिख सुक्रवारका दिन मध्यान्न १२ बजेदेखि २ बजेसम्म समरभिल सिटिको ९३ हाइल्याण्ड एभिन्यु,(93 Highland Avenue) स्थित समरभिल सिटि हलमा गर्ने गरी तयारी गरिएको एनआरएनए(NRNA) मासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले जानकारी दिएका छन्।

उक्त कार्यक्रमको बारेमा जानकारी दिदै अध्यक्ष श्रेष्ठले झण्डोत्तोलन कार्यक्रम नेपाल र नेपालीहरुका लागि निकै गौरवपूर्ण रहेको प्रतिक्रिया दिए। उनले भने, ‘अमेरिकाको स्थानीय सरकारको कार्यालयमा नेपाली राष्ट्रिय झण्डा फरफराउन पाँउनु हाम्रो लागि निकै भाग्य र गौरवको कुरा हो।’ कार्यक्रमप्रति निकै उत्साहित हुदै अध्यक्ष श्रेष्ठले भने, ‘यो हाम्रो लागि निकै महत्वपूर्ण कार्य हो। हामी निकै उत्साहित छौं।र, खुशीका साथ तयारीमा जुटेका छौं।’

उनले उक्त कार्यक्रम गर्न सहमत भइ सहयोग र सहकार्य गर्ने समरभिल सिटि परिवारलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन्। र, कार्यक्रममा सहभागी हुन प्रवासी नेपालीहरुलाई अनुरोधसमेत गरेका छन्। अध्यक्ष श्रेष्ठले जानकारी दिए अनुसार उक्त झण्डोत्तोलन गरिएको नेपाली राष्ट्रिय झण्डा तिन दिनसम्म फरफराउने छ।

नेपाली समूदायको उल्लेखनीय बसोबास रहेको यस समरभिल सिटि कार्यालयसंग नेपाली समुदायको लामो समयदेखि संस्थागत सम्बन्ध कायम रहदै आएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि-GBNC)ले समरभिल सिटिको साथ र सहयोगमा सन् २०१२ बाट ‘नेपाल उत्सव (Nepal Festival) मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो, सन् २०१९ मा तेस्रो र सन् २०२२ मा चौथो ‘नेपाल उत्सव’ कार्यक्रम सम्पन्न गरेको थियो। गत वर्ष भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरी एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डेNepal Day) मनाइएको थियो। यसका अतिरिक्त समरभिल सिटीले मुख्य कामकाजी भाषा अंग्रेजी रहे पनि सहयोगी भाषाका रुपमा नेपाली भाषालाई मान्यता दिदै आएको छ।

यसरी, नेपाल,नेपाली भाषा, भेषभुषा, संस्कृति, परम्परा, रितिरिवाज र नेपाली भाषीहरुलाई प्राथमिकता दिदै सहयोग र सहकार्य गर्ने क्रममा समरभिल सिटिले अहिले गैर आवासीय नेपाली संघ, मासाच्युसेट्स च्याप्टरसंग सहकार्यको हात मिलाएको हो। अध्यक्ष श्रेष्ठले दिएको थप जानकारी अनुसार आगामी जुन १ तारिख शनिवारका दिन समरभिल सिटि र एनआरएनए, मासाच्युसेट्सको आयोजनामा नेपाली सांस्कृतिक पर्व(Nepali Cultural Festival) कार्यक्रम गर्ने तय भएको छ। उक्त कार्यक्रममा विभिन्न जातजातिहरुले आफनो पहिचान झल्किने गरी प्रस्तुति पस्किने छन्। सहयोग र साझेदारीमा हुने यस्ता कार्यक्रमहरुले नेपाली समुदाय र अमेरिकी स्थानीय सरकारका बिच स्थापित सम्बन्धलाई थप मजबुत र उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।