मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
नेपाल   

अपाङ्गताको भेषमा मानव तस्करीको कालो धन्दा

अपाङ्गताको भेषमा मानव तस्करीको कालो धन्दा

अमेरिका बसेर नेपालबाट मानव तस्करी, जसले २०० युवालाई अवैध बाटोबाट अमेरिका पुर्‍याए

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अवैध बाटोबाटै अमेरिका पुगेका नेपाली मूलका अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतम मानव तस्करीको आरोपमा पक्राउ परेका छन् । ह्विलचियरको सहायतामा हिँड्डुल गर्ने उनी अमेरिका बसेरै नेपालबाट मानव तस्करी गर्ने गिरोहका नाइके हुन् । अन्ततः अपाङ्गताको भेषमा उनको मानव तस्करीको कालो धन्दा खुलेको छ ।

रुकुमपूर्वको सिस्ने स्थायी घर भएका गौतमलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आफू पनि अवैध बाटो हुँदै अमेरिका पुगेर २०० युवालाई अमेरिका लगिसकेका गौतमलाई भारत हुँदै नेपाल आउने क्रममा भैरहवा नाकाबाट ब्युरोको टोलीले पक्राउ गरेको हो ।

गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बताएको छ ।

छ जनाले दिएको उजुरीका आधारमा गौतमलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । ‘उनीविरुद्ध ६ जना पीडितको जाहेरी छ,’ एसएसपी श्रेष्ठले भने, ‘गौतमसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’

गौतम आफैँ अवैध बाटो हुँदै अमेरिका पुगेका थिए । उनले प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव भएका बेला कार्यक्रममा सहभागी हुन अमेरिकाको टेक्सास पुगेका थिए। सोही बेला टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका छिरेका थिए ।

उनले सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड र सन् २०१५ मा पासपोर्ट लिएका थिए । उनले प्रहरीसँग नेपालीलाई मोटो रकम लिएर अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन् ।

कसरी परे प्रहरीको फन्दामा ?

हस्त गौतमविरुद्ध सन् २००५ देखि नै प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा उजुरी परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।

उनी अमेरिका पुगिसकेको खुलेपछि उनलाई पक्राउ गर्न प्रहरीको टाउको दुखाइको विषय बनेको थियो । उनी अमेरिका नै बसेर मानव तस्करीको धन्दामा सक्रिय रहेको तथ्य खुलेपछि प्रहरीलाई पक्राउ गर्न थप चुनौती नै सिर्जना भएको थियो ।

सन्  २००५ देखि नै उनी नेपाल आउन छाडेका थिए । उनी आफैँ पनि अवैध बाटो हुँदै अमेरिका छिरेका हुन् । त्यसै कारण अमेरिका लैजाने अवैध बाटोबारे उनले राम्रोसँग जानकारी हासिल गरेका हुन् । पछिल्लोपटक उनी अमेरिका हुँदै मेक्सिको र त्यहाँबाट दिल्ली आएका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान टोली लामो समयदेखि उनको ट्राभल रेकर्डको अनुसन्धानमा केन्द्रित थियो ।

केही दिनअघि उनी फेरि नेपालीलाई अमेरिका लैजाने उद्देश्यले भारतीय हुँदै स्थलमार्ग प्रयोग गरेर रुकुम पुग्न खोजे । त्रिभुवन विमानस्थल बाटो प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने भयले उनले भारत हुँदै स्थलमार्ग रोजेका थिए । भारत पुगेको सूचना पाएको ब्युरोको टोली उनको खोजीका लागि दिल्ली नै पुग्यो । प्रहरी दिल्ली पुग्दा उनी भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेको सूचना प्रहरीले पायो । सोही सूचनाका आधारमा प्रहरीले उनलाई बेलहिया नाकाबाट पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले हस्त गौतमसहित पक्राउ परेको समूहमाथि संगठित मानव तस्करी मुद्दामा अनुसन्धान थालेको छ । पक्राउ परेकामाथि सात दिनको म्याद थप गरेर अनुसन्धान सुरू गरिएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले हिमालय खबरलाई जानकारी दिए ।

अमेरिकामा सन् २०२१ मा १९ नेपालीको शरणार्थी केस फैसला