नवलपुर (नवलपरासी) । नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नं–२, दाउन्नेस्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई राजमार्गबाट नालीमा खसेको प्रहरीले जनाएको छ ।
बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु, १० जना घाइते भएका र दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।
बस दुर्घटनामा ज्यान गुमाउनेहरूमा भेरीगङ्गा नगरपालिका-३ (जाजरकोट) का ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका-३ (बाँके) का ३२ वर्षीय दीपेन्द्र के.सी., स्वामीकार्तिक खापर गाउँपालिका (बाजुरा) का ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका-१० (बाँके) का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका-७ (बाँके) का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने अन्दाजी ४०–४२ वर्षका एक पुरुषको पहिचान खुल्न बाँकी छ।
घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेमध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन् ।
घाइते हुनेहरुमा गोरखाको गोरखा नगरपालिका वडा नं–९ बस्ने ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन–६ बस्ने २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा–१ बस्ने २० वर्षीया आकृति, बाजुराको स्वामीकात्तिक–५ बस्ने ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर–९ बस्ने २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकात्तिक–१ बस्ने २५ वर्षीय प्रेम बम, ललितपुरको कुञ्जय सोमपाक–५ बस्ने २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी–७ बस्ने ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज–१६ बस्ने ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगढ–कुपिन्डे–१ बस्ने २१ वर्षीय अनिल बुढाथोकी रहेका छन् ।













प्रतिक्रिया