काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
कर्मचारी गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजको शैक्षिक योग्यता नक्कली फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
कर्मचारी गिरीले फेटा गाउँपालिकामा २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए।
प्रवक्ता न्यौपानेका अनुसार कर्मचारी गिरीले सो नियुक्ति लिँदा पेस गरेको तीन वर्षे बिएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण भई आउँदा निजको नभई अन्य व्यक्तिको भएको भनी खुल्न आएकाले शैक्षिक योग्यता ढाँटी/झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्र सेवकको पद र ओहदा प्राप्त गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको हो।













प्रतिक्रिया