मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
न्युयोर्क   

अमेरिकामा सन् २०२१ मा १९ नेपालीको शरणार्थी केस फैसला

अमेरिकामा सन् २०२१ मा १९ नेपालीको शरणार्थी केस फैसला

अवैध बाटोबाट आउनेलाई कागजात बनाउन निकै कठिन


अमेरिका । अमेरिकामा अवैधरूपमा छिरेका नेपाली यताउता भेटिनै रहन्छन् । केही वर्षयता रुकुम, रोल्पालगायत मध्यपश्चिम क्षेत्रबाट ज्यान नै जोखिममा राखेर बिनाभिषा हिँडेरै अमेरिका प्रवेश गर्नेहरु बढेका थिए । यसमध्ये केही त अहिले पनि अमेरिकाभित्र जेल र तारिखमा छन् ।

क्यालिफोर्निया, टेक्सस लगायतका राज्यमा अवैधबाट भई अमेरिका छिर्ने खोज्नेमध्ये केही नेपाली जेलमा भएको इमिग्रेसन मामिला हेर्ने वकिलहरु बताउँछन् । यसरी जेलमा पर्नेले नेपाल सरकारको मद्दत लिन चाहँदैनन् ।

मानव तस्करहरुले १८ वर्षभन्दा मुनिका युवालाई समेत जोखिममा पार्दै तल्लो बाटोबाट अमेरिका छिराएका छन् । यसरी अमेरिका छिराउनेमध्ये एक समूहका नाइके हस्त गौतम हालै नेपाल प्रहरीको फन्दामा परेका छन् । उनलाई मानव तस्करहरुसँग मिलेर २०० भन्दा बढी नेपालीलाई अवैध बाटोबाट अमेरिका छिराएको आरोप छ । केहीको उजुरीका आधारमा अमेरिकी नागरिकता लिइसकेका उनलाई नेपालमा प्रहरीको विशेष अनुसन्धान टोली (सिबिआई)ले पक्राउ गरेको हो ।

यसरी अवैध रूपमा विभिन्न देश हुँदै अमेरिका छिर्न खोज्नु जोखिमपूर्ण अवस्था हो । यसरी आउनेहरु भन्छन्, ‘बाँचियो सबैभन्दा ठूलो कुरा यही हो ।’ कतिको यसरी आउँदा ५० लाखभन्दा बढी खर्च भएको छ । यति धेरै पैसा कसरी कमाउने भन्ने चिन्तामा हुनेहरु पनि छन् । यसरी आएका कतिले कामसमेत पाएका छैनन् । कतिपय केशमा दलालले सस्तोमा अमेरिका पठाइदिन्छु भनेका हुन्छन् । तर, नेपालबाट हिँडेपछि विभिन्न देश पु¥याउँदै थप पैसा माग्न थाल्छन् । केही नेपालीहरु भने अवैध बाटोबाट आउन खोज्दा अमेरिका नछिर्दै जेलमा समेत पर्छन् । त्यसपछि नेपाल फर्किनुको विकल्प हुँदैन ।

अमेरिकामा सन् २०२१ मा १९ नेपालीको शरणार्थी केस फैसला

अमेरिकामा काम गर्नका लागि ‘वर्क परमिट’ चाहिन्छ । यो नहुँदासम्म अवैधरूपमा काम गर्नुपर्ने हुन्छ । नगदमा काम दिन कुनै व्यवसाय तयार भयो भनेमात्र ‘वर्क परमिट’ नहुनेले काम गर्न पाउँछन् । तर, यो व्यवसायीका लागि पनि जोखिम हो । यसरी अवैधरूपमा आउनेलाई जसको ‘वर्क परमिट’ छैन उसलाई काम लगायो भने काम लगाउनेलाई समेत कारबाही हुन्छ । त्यसैले सकेसम्म व्यवसायीहरु कागजात नभएकालाई काममा राख्न चाहँदैनन् । राखिहाले पनि कम पैसामा काम लगाउँछन् । यसरी राख्दा पनि सकेसम्म भित्र रेस्टुरेन्टको किचनतिर काम लगाउँछन् ।

अमेरिकामा कागजात नबन्दासम्म आफ्नो नाममा कोठा भाडामा समेत लिन पाइँदैन । बैँक खाता खोल्न सकिँदैन । यस्ता अन्य व्यावहारिक समस्या थुप्रै हुन्छ । सानोतिनो गल्तीमा पनि प्रहरीले पक्राउ गरेर नेपाल पठाइदिन सक्छ ।

हिँडेरमात्र होइन, विभिन्न कार्यक्रमको बाहनामा पनि अमेरिका छिराउने र छिर्ने छन् । मेला, महोत्सव, सम्मेलनका नाममा पनि अमेरिका ल्याउन खोज्ने समूह यहाँ सक्रिय छ । यसरी आउनेले पनि ठूलो रकम खर्च गरेको हुन्छ । अमेरिकाभित्र नाम चलेका व्यक्तिलाई पनि मुछेर यसरी मान्छे ल्याउँछन् भन्ने गरिन्छ ।

यसरी बैध बाटोबाट आएको भए पनि अमेरिकामा कागजात बनाउन सजिलो भने हुँदैन । कागजात बनाउन पहिले पहिलेभन्दा निकै कठिन भइसकेको छ । कागजात बनाउने चक्करमा कयौँ वर्ष पनि जान सक्छ ।

अमेरिका आएपछि के हुन्छ ?

अवैध बाटो अर्थात मेक्सिकोलगायतका देशबाट अमेरिका छिर्नेहरुलाई अमेरिकाभित्र पनि त्यति सजिलो हुँदैन । कतिलाई त सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरेर जेल लैजान्छ । जेलमा परेपछि धरौटीमा बसेर रिहा हुन खोज्ने हो । यसका लागि वकिलहरुको सहायता लिनुपर्छ । यो काम सजिलो होइन । यसमा थप खर्च आउँछ । समय पनि धेरै लाग्न सक्छ । धेरौटीमा रिहा भएपछि कागजातका लागि केस फाइल गर्ने हो । अमेरिका प्रशासन अहिले यसरी अवैधरूपमा आउनहरुप्रति कठोर हुँदैछ । यसरी आएकालाई जुन देशबाट अमेरिका छिरेको हो त्यही देश पठाउने वा आफ्नै देश फिर्ता गरिदिने नीति अमेरिकाले लिएको छ ।

त्यसैले यसरी अवैधरूपमा आउनेलाई कागजात बनाउन निकै कठिन हुने गर्छ ।

हालैको तथ्यांकअनुसार वैध वा अवैधरूपमा अमेरिका छिरेर यहाँ विभिन्न कारण देखाउँदै शरणार्थी माग्नेमध्ये २०२१ मा जम्मा १९ जना नेपालीको मात्र स्वीकृत भएको थियो । सन् २०२० मा जम्मा १६ जना नेपालीको शरणार्थी केस स्वीकृत भएको थियो । सन् २०१२ मा भने यहां शरणार्थी स्वीकृत हुने नेपालीको संख्या ५६३ थियो । यो १० वर्षयता कम हुँदै गएको छ । अदालतले भने यहाँको पछिल्लो आर्थिक वर्षमा करिब ३०० जनालाई शरणार्थी दिन फैसला गरेको थियो । अदालतमा गएर फैसला हुँदासम्म निकै लामो समय पनि लाग्न सक्छ ।

यो तथ्यांकले वैध बाटो भई आउनेलाई समेत अमेरिकामा कागजात बनाउन कठिन हुँदै गएको देखाउँछ ।

अपाङ्गताको भेषमा मानव तस्करीको कालो धन्दा