मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

मनकारी मेयर जो दीनदुःखीका अन्तिम विकल्प हुन्

मनकारी मेयर जो दीनदुःखीका अन्तिम विकल्प हुन्

अपाङ्गता भएकी आनिया खान र उनकी आमासँग मेयर सापकोटा ।

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा जनप्रतिनिधिका हिसाबले नगरका अभिभावक हुन् । नगरपालिकामा मेयरका हैसियतले उनको अग्रणी भूमिका रहने नै भयो । नगरवासीका समस्या, जनप्रतिनिधिका गुनासा र नेता तथा कार्यकर्ताका भेटघाट त नियमित प्रक्रिया भइहाल्यो । उनको कार्यकक्षमा दैनिक यस्ता मानिसको भीड लाग्छ, जो अन्तिम विकल्प खोजिरहेका हुन्छन् ।

आर्थिक अवस्थाले परिवार पाल्न नसकेकादेखि बस्ने बास नभएका, उपचार गर्न नसकेका, पढ्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभावले बीचैमा पढाइ छाड्न बाध्य भएका, शारीरिक अवस्थाले गर्दा आफ्नो सपना पूरा गर्न नसकेका, केही उद्यम गर्न खोजेका तर नसकेका, आफूसँग क्षमता भएका तर अवसर नपाएका थुप्रै–थुप्रै पात्रहरुका सहारा हुन् उनी ।

Advertisement

उनी मानवीय भावना, करूणा र प्रेमका प्रतिमूर्ति हुन् । असहाय, अनाथ र दीनदुःखीका लागि त प्रेरणादायी र अनुकरणीय पात्र हुन् । उनी निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । उनी भन्छन्, ‘म गर्न सक्ने काम गर्छु, गर्न नहुने काम गर्दिनँ । कानुनविपरीतका काम गर्दिनँ । लोकप्रियताका लागि ठूला–ठूला आश्वासन बाँड्ने काम म गर्दिनँ ।’

उनले चुनावी अभियानमा हिँड्दा गर्भवती महिला दिदीबहिनीलाई लक्षित गर्दै भनेका थिए, ‘म निर्वाचित भएँ भने पहिलो काम म तपाईंहरुका निम्ति गर्छु ।’ उनी भारी मतका साथ विजयी पनि भए । र, उनले प्रतिबद्धता गरेअनुरुप हरेक महिना वडा–वडामा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे र इसिजी परीक्षण सेवा सञ्चालन गरे । आधारभूत स्वास्थ्यकेन्द्रहरुमा निःशुल्क ल्याब सेवा सुरू गरे । रगत नपाएर समस्यामा परेकाहरुलाई मध्यनजर गर्दै रत्न्नगर–२, टाँडीस्थित रेडक्रस भवनमा रक्तसञ्चार सेवा (ब्लड बैंक) सञ्चालन गरे ।

उनले ‘कोखदेखि शोकसम्म सँगसँगै’ भन्ने नारालाई आफ्नो चुनावी एजेन्डा बनाएका थिए । सोहीबमोजिम ‘कोख’ अर्थात् गर्भवती महिलालाई वडा–वडामै विशेषज्ञसहितको परीक्षण र ‘शोक’ अर्थात् मृत्यु वरण गरेपछि दिने सेवाका लागि निःशुल्क ‘शववाहन’को व्यवस्था गरे । जुन शववाहन अहिले बकुलहर रत्ननगर अस्पतालमा रहेको छ । आपतकालीन अवस्थामा रहेका वा उपचारका क्रममा निधन भएकालाई घर–घाटसम्म पु¥याउन सहज भएको छ । जसले गर्दा एम्बुलेन्स बिरामीका लागि मात्र प्रयोग हुने गरेको छ ।

उनले वृद्धवृद्धाका लागि घर–घरमै उपचार तथा परामर्शसेवा सुरू गरे । जसले गर्दा आधारभूत स्वास्थ्यकेन्द्रसम्म पुग्न नसकेका वृद्धवृद्धालाई ठूलो राहत मिलेको छ । यस्तै, उनले अतिविपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमाको अवधारणा अघि सारे । जसबाट वार्षिक तीन हजार बढी विपन्नले उपचार सेवा पाए । बिमामा नसमेटिएका, असहाय, विपन्नका लागि बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालमा ‘असहाय विपन्न उपचार कोष’ खडा गरे । सो कोषमार्फत रत्ननगर नगरपालिकाका नागरिक मात्र नभएर छिमेकी तीन पालिकाका नागरिक र असहाय अवस्थामा रहेका जुनसुकै नागरिकले पनि न्यूनतम एक हजार रूपैयाँदेखि पच्चिस हजार रूपैयाँसम्मको उपचार निःशुल्क पाइरहेका छन् ।

उनले क्यान्सरपीडितको उपचारका लागि रत्ननगर नगरपालिकाबाट २५ हजार रूपैयाँ सहायता दिने निर्णय स्वास्थ्य क्षेत्रमा गरेको अर्को कदम हो । संघीय सरकारले एक लाख, प्रदेश सरकारले ५० हजार उपचार खर्च दिने गरेकोमा स्थानीय सरकारबाट केही राहत होस् भन्ने उद्देश्यले सम्भवतः पालिकास्तरबाट गरिएको यो पहिलो निर्णय हो ।

‘श्रम गर्नुपर्छ, मेहनत गरेर खानुपर्छ’ भन्ने भावना राख्ने उनले नगरका थुप्रै महिला तथा युवाहरुलाई उद्यमी बन्न प्रेरित गरेका छन् । नगरप्रमुखसँग उद्यमशील कार्यक्रममार्फत उनले नगरका एक सय बढीलाई उद्यमशीलतामा जोड्न तीन वर्षका लागि तीन लाख रूपैयाँ सहुलियतपूर्ण ऋणको व्यवस्था गरे । सीप भएर अपाङ्गता हुनेका लागि अटोरिक्सा दिलाए । अपाङ्गता भएका कारण हिँडडुल गर्न समस्या भएका उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका लागि इलेक्ट्रिक स्कुटर प्रदान गरे ।

आफूले पाउने सेवासुविधासमेत उनले बालबालिकाको शिक्षादीक्षा, पोसाक र स्टेसनरीमा खर्च गर्ने गरेका छन् । उनले वार्षिक एक सय बढी विद्यार्थीलाई आफ्नै खर्चमा छात्रवृत्ति दिलाएका छन् । रासन छैन भन्नेलाई दाल–चामल किनिदिन्छन् । पढ्न पाइनँ भन्नेलाई निःशुल्क पढाइदिन्छन् । रोगदेखि शोकमा परेका परिवारको सारथि हुन्, मेयर सापकोटा ।

उनको कार्यकक्षमा देखिएका एक दृष्टिविहीन विद्यार्थीले गर्वका साथ भने, ‘मेयर साब हजुरले दिनुभएको ल्यापटपको मैले सही सदुपयोग गरेँ । मैले झुवानी स्कुल टप गरेँ ।’
देब्रे खुट्टा छोटो भएर अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, बनेपामा उपचार गराइरहेकी रत्ननगर–४ बस्ने १० वर्षीया आनिया खानकी आमा अनिया खानले खुसी हुँदै भनिन्, ‘छोरीको उपचारका लागि मेयर साबलाई भेटेर सबै कुरा राखेँ । उहाँले निःशुल्क उपचारको व्यवस्था गरिदिनुभएको छ । हामीलाई चाहिएको मेयर यस्तै त हो नि ।’

शेयर गर्नुहोस:

513
Shares