काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न विपक्षी पक्षलाई उपस्थित गराउन आदेश दिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले यस्तो प्रकृतिको मुद्दा हेर्ने अधिकार विशेष अदालतलाई मात्रै रहेको जिकिर गरेका छन् । देउवाले काठमाडौँ जिल्ला अदालतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पक्राउ पुर्जी जारी गरेको दाबी गरेका छन् ।
उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् । देउवा दम्पती केही समयअघि हङकङ गएका थिए र हालसम्म नेपाल फर्किएका छैनन् । उनीहरूविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न विभागले प्रक्रिया अघि बढाए पनि इन्टरपोलले अहिलेसम्म त्यस्तो नोटिस जारी गरेको छैन ।












प्रतिक्रिया