मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

दुई पक्षको संयुक्त पत्रकार सम्मेलन : एनआरएनएको विवाद समाधानतर्फ

दुई पक्षको संयुक्त पत्रकार सम्मेलन : एनआरएनएको विवाद समाधानतर्फ


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । 
 
अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । संस्थाका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारीहरुको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।  
 
तीनै जनाले संस्थालाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको सो अवसरमा जानकारी दिइयो ।
 
सो अवसरमा अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान भएकाले यसलाई निरन्तरता दिन सहमतिको विकल्प नभएको बताउँदै संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भई एउटा निचोडमा पुगिएको बताए । उनले संस्थालाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प गर्न आवश्यक भएको उल्लेख गर्दै यो सहमति त्यही भावनाअनुरुप संस्था बचाउने उद्देश्यले भएकाले यसअघिका सबै समानान्तर कार्यलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए । 
 
अध्यक्षका प्रत्यासी बद्रि केसीले संघको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट सङ्घको नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर सङ्घको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौँ महाधिवेशन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।
 
यस्तै अध्यक्षका अर्का प्रत्यासी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताइन् । एनआरएनएमा आगामी अधिवेशनको प्रतिनिधि छनोटमा विवाद हुँदा केही समयदेखि विवाद रहँदै आएको थियो । रासस