मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

दाँतले मान्छे चिन्नुपर्ने गरि मनाइएको यो होली

दाँतले मान्छे चिन्नुपर्ने गरि मनाइएको यो होली

शेयर गर्नुहोस:

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युलेस, (टेक्सस) – युलेसको होलीलाई रमाईलो तुल्याउने पात्रहरु धेरै छन् । हुनतः फागु घँस्ने अर्थात दल्ने काममा रमाइलो के नै हुन्छ र ? भन्ने जिज्ञासा पनि जाग्न सक्छ । तर विगत ७ वर्षदेखि टेक्ससको युलेस सिटीका नेपाली समुदायले मनाउँदै आएको होलीलाई वर्षेनी विशेष रमाइलो बनाउने दुई पात्र छन् । पहिलो व्यक्ति हुन् कमल सत्याल । दोस्रो चाँही वेदराज बस्नेत । 
यी दुई व्यक्तिको रंग घँसाईबाट उम्किन सक्ने व्यक्ति शायद कोही छैनन् । ‘हा दाई, यो चाँही हाम्रो बीरगञ्जको होली’ भन्दै शीरदेखि जीउसम्म अबीरको पुरै प्याकेट खन्याइदिन्छन् सत्याल । बीरगञ्जका रैथाने सत्याल भोजपुरी लवज निकाल्दै होलीको रंगबाट कसैलाई जोगिन दिँदैनन् । 

अनि उनलाई पनि माथ गर्दै ‘हाम्रो झापाको होली यस्तो हुन्छ’ भन्दै बस्नेतले अनुहारको कुनै कुना बाँकी नरहने गरि फागु दलिदिन्छन् । मधेशको लवज निकाल्दै बस्नेत पनि को सानो, को ठूलो सबैलाई फागु दलिदिन्छन् । 
 
यी दुईले युलेसको होलीलाई विशेष रौनकता दिँदै आएका छन् । विगतका वर्षहरु जस्तै यसवर्ष पनि अन्य धेरै व्यक्तिसँगै सत्याल र बस्नेतले होली मनाउन आएका सबैलाई कुनै ठाउँ बाँकी नहुने गरि रंग दले । 
ड्यालस–फोर्टवर्थ इन्टरनेसनल एअरपोर्टसँगै जोडिएको युलेसको बियरक्रिक पार्कमा आयोजना गरिएको यसपालिको होलीलाई अझै रोमाञ्चक तुल्याउन स्थानीय व्यबसायी विकल ढकाल अझै सकृय भए । बस्नेत र सत्यालले दलेको रंगलाई अझै गाढा बनाउन पानीका बोतलले भिजाउने काम ढकालले गरे । 

शुक्रबारसम्म हावा चलेर चिसो रहेको ड्यालसको मौसम शनिबार एकाएक आउटडोर होली खेल्न अनुकुल परिणत भएको थियो । त्यसैले पिचकारी हानेपनि, बोतलका बोतल पानी टाउकोबाट खन्याइदिए पनि कसैले नमिठो अनुभव गरेनन् । सबै रमाए, सबै खुशी भए ।
रातो, पहेँलो, नीलो, हरियो, बैजनी, गुलाफी लगायत धेरै रंगका फागु प्रयोग गरिएको थियो । यी सबै रंग अनुहारमा दलिएका कारण अधिकांशका अनुहार चिनिदैनथ्यो । दाँत र स्वरका भरमा मान्छे चिन्नुपर्ने अवस्था आयो । 
हुनतः नेपालमा र नेपाल बाहिर चाडपर्व एकै दिन पर्छन् । तिथीको घटबढले गर्दा कहिलेकाँही चाडपर्वहरु एक दिन अघिपछि परेपनि केही दिनकै अन्तर भने पर्दैनन् । तर नेपालको सीमा नाघिसकेपछि चाडपर्व त्यही दिन मनाउन विरलै पाइन्छ । दशैंको टीका, तिहारको भाइटीका, जनैपूर्णिमा, तीज, शिवरात्री लगायतका पर्वहरु त्यही दिन मनाएपनि बाँकी अधिकांश भने सप्ताहन्त (शनिबार/आइतबार) मिलाएर मनाउनुपर्ने अवस्था छ । 

केही वर्ष पहिले, जतिखेर म क्यालिफोर्नियामा थिएँ । नेपाली नयाँ वर्ष मनाउने सिलसिलामा एकजना अग्रजले भन्नुभएको अहिले पनि सम्झिरहेको छु । उहाँ भन्नुहुन्थ्यो–‘हप्तादिन भरिको सुख साट्ने पनि सप्ताहन्तमा हो । अनि हप्तादिनभरिका यता अमेरिकादेखि लिएर नेपालसम्मका दुःखका घटना, आफन्तजनको वियोग पर्दा रुने समय पनि सप्ताहन्तमै निकाल्नुपर्छ ।’ 
भरखरै नेपालबाट आएको थिएँ । उहाँले के भन्नुभएको होला भनेर लामो समयसम्म मनमा गुनिरहेँ मैले । पछिपछि हुँदै गएपछि पत्तो लाग्यो नेपालमा जसरी जुन दिन चाड प¥यो त्यही दिन यहाँ कामबाट छुट्टी नमिल्ने हुँदा चाड मनाउन, भेटघाट गर्न पनि शनिबारै कुर्नुपर्ने रहेछ । अनि कसैलाई दुःख परेको छ भने भेट्न जाने, सहानुभूति दिने, आफैँलाई दुःख परेको छ भने पनि धक फुकाएर रुनका लागि पनि शनिबार या आइतबारनै निकाल्नुपर्ने रहेछ । 

नेपालमा फागु पूर्णिमा अर्थात होली विहीबार मनाइयो । तराई क्षेत्रमा भने शुक्रबार मनाइयो । अमेरिकामा भने संस्थागत रुपमा धेरै ठाउँहरुमा शनिबार फागु दलेर शनिबार मनाइएको छ । किन दुई दिनपछि मनाउनुपर्यो भन्ने प्रश्न उठ्न सक्छ । जसको जवाफ मैले माथिनै दिइसकेँ । अर्थात खुशी साटासाट गर्न पनि शनिबारनै कुर्नुपर्छ र कुनै दुःखमा सान्त्वना दिन अनि दिन पनि शनिबार या आइतबारकै प्रतिक्षा गर्नुपर्छ ।

यसै क्रममा टेक्ससको युलेसवासीले फागु पूर्णिमा अर्थात होली शनिबार भव्य रुपमा मनाएका छन् । युलेस नेपाली सोसाइटी र हिमालयखबर अनलाइनले संयुक्त रुपमा आयोजना गरेको होलीले एउटा नयाँ ट्रेन्ड स्थापित पनि गरेको छ । सहभागी सबैलाई निशुल्क रुपमा खानेमात्र होइन पिउने र रंग पनि उपलव्ध गराउने काम भयो । धेरै संस्थाहरुले आयोजना गर्ने कार्यक्रम व्यबसायीक रुपमा गएको गुनासो विगतका वर्षहरुमा सुनिएपछि यसपटक सबै कुराहरु निशुल्क गरिएको युलेस सिटी काउन्सिल सदस्य समेत रहेका नेपाली समुदायका अगुवा टीका पौडेलले बताए ।
विगत वर्षहरुमा नेपालीहरुले टीकापुर भनेर चिन्ने सिग्नेट ड्राइभ नजिकै रहेको पार्कमा होली आयोजना हुने गरेको थियो । तर गाडी पार्किङ्गको समस्या चर्को रुपमा उठेपछि यसपटक ठूलो पार्कमा होली आयोजना गरिएको हो । 
युलेसको होली खेल्नका लागि युलेसबासी मात्र नभएर साउथ टेक्ससमा रहेको स्टेफनभीलदेखि हरिबोल भण्डारी, इष्ट टेक्ससदेखि राजेश अर्याल, ओक्लाहोमादेखि अमृत कट्टेल जम्मा भए । भण्डारी, अर्याल, कट्टेलको सहभागिताले अझै रौनकता बढेको थियो ।
नेपाली समाजका पूर्ब अध्यक्ष कृष्ण लामिछानेलाई सबैले समातेर रंग दलेर चिन्नै नसक्ने तुल्याइदिए । लगत्तै हरिबोल भण्डारीको हालत त्यस्तै बनाइयो । कट्टेललाई त बोतलको पानी समेत खत्याएर धेरैले मज्जा लिए । केही ढिलो गरि आइपुगेका एनआरएन अमेरिकाका उपाध्यक्ष सुमन थापा र नेपाली समाजका पूर्ब अध्यक्ष दिनेश शर्मालाई बाटैमा रंग दलेर चिन्न नसक्ने बनाइयो । पिताको आशौच बारेर बसेका अर्का उपाध्यक्ष विकास उप्रेतीलाई भने धेरैले चिन्ने भएका कारण रंगको लसपसमा नपारेर विवेक प्रयोग गरे । 
‘मलाई सानो टीका मात्र है’ भन्नेलाई ‘हुन्छ’ भन्दाभन्दै एकैछिनमा चिन्नै नसक्ने रुपमा परिणत गरेको दृश्य निकै रमाइलो थियो । के वृद्ध, के बालक, के युवक, के युवती सबैलाई रम्न र रमाउन सक्ने वातावरण मिलाइएको थियो यसपटकको होलीमा । डिजे सहितको संगीत, खानपिनले गर्दा विद्यार्थी समुदाय समेत नेपालको न्यास्रो मेट्दै रमाएका थिए । 
दिउँसो २ बजे सुरु भएर ठीक ६ बजे समापन भएको युलेसको होलीमा झण्डै एकहजार दुईसय जना सहभागी भएका थिए । नेपालीहरुको संख्या देखेर अष्ट्रेलियाबाट कार्यक्रमको सिलसिलामा अमेरिका आएका पत्रकार भरतराज पौडेल समेत अत्यन्तै खुशी भए । 
ड्यालसको नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले आइतबार पनि होली आयोजना गर्दैछन् । ग्रेपभाइन लेकमा आयोजना गर्न लागिएको संयुक्त होलीमा सहभागिताका लागि दुबै संस्थाले आव्हान गरेका छन् ।