मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

बोस्टनमा एभरेष्ट फेडेरल क्रेडिट युनियनको वीत्तीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बोस्टनमा एभरेष्ट फेडेरल क्रेडिट युनियनको वीत्तीय अन्तरक्रिया कार्यक्रम सम्पन्न


अमेरिकाबासी प्रवासी नेपालीहरु मिलेर सञ्चालनमा ल्याएको वित्तीय संस्था ‘एभरेष्ट फेडेरल क्रेडिट युनियन( Everest Federal Credit Union- EFCU)ले अमेरिकाको बोस्टन सहरमा वित्तीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम यही जुलाई २० तारिख शनिबारका दिन 594 Washington Street, Braintree स्थित नेपालीहरुको सामुदायिक भवन(पशुपतिनाथ बुद्ध मन्दिर)मा सम्पन्न भएको हो।

संस्थाको उद्देश्य, निति, गतिविधि, हालको अवस्था र भावी योजनाहरुका बारेमा सदस्य तथा सरोकारवालाहरुलाई जानकारी दिने र अमूल्य सुझाव सल्लाहहरु सङ्कलन गर्ने मुख्य उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक संस्था इएफसियुले जनाएको छ।

विशेष कारणवश कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसकेका कारण भर्जिनियामा रहेका संस्थाका अध्यक्ष मदन उप्रेतिले भर्चुयल माध्यमबाट नै कार्यक्रमलाई सम्बोधन गर्दै इएफसियुको बारेमा प्रकाश पारेका थिए। सम्बोधनका क्रममा उनले अमेरिकामा रहेका प्रवासी नेपालीहरुलाई सहज, सरल, सस्तो र छिटो छरितो ढंगबाट वित्तीय सेवाहरु उपलब्ध गराउने मुख्य उद्देश्यले नेपालीहरुले नै मिलेर सञ्चालन गरिरहेको इएफसियुलाई सबै मिलेर अघि बढाउनु पर्नेमा जोड दिएका थिए। संस्थाका संस्थापक सदस्य सञ्जय तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा, संस्थाका अर्का संस्थापक सदस्य भुवन गुरुङले कार्यक्रमको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्धक राज बिराज रिजालले संस्थाको इतिहास, वर्तमान अवस्था र भविश्यका योजनाहरुका बारेमा सहभागीहरुलाई संक्षिप्त जानकारी दिएका थिए। कार्यक्रमका दौरानमा सहभागीहरुले संस्थाको निति, गतिविधि, उपलब्धि र भावी योजनाहरुका बारेमा जिज्ञासा राखेका थिए भने, संस्थाका अध्यक्ष उप्रेति र प्रमुख कार्यकारी अधिकृत रिजालले सहभागीहरुले राखेका जिज्ञासाहरुलाई मेटाउने प्रयास गरेका थिए।

न्यू ह्येमसायर, म्यासाच्युसेट्स र कनेक्टिकट क्षेत्रमा रहेका सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको संस्थाका डाइरेक्टर खड्ग गुरुङले जानकारी दिए। कार्यक्रममा संस्थालाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै न्यू ह्येमसायर, म्यासाच्युसेट्स र कनेक्टिकटका २१ जना संस्थापक सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

हाल अमेरिकाको न्यू योर्क सहरमा मुख्य कार्यालय रहेको यस वित्तीय संस्थाको स्थापना सन् २०१८ मा भएको हो। स्थापनालगतै सन् २०१९, अक्टोबर ५ बाट सञ्चालनमा आएको थियो। तर, कोभिड महामारीका कारण आफ्ना वीत्तीय गतिविधिहरुलाई सोचे अनुरुप अगाडि बनाउन नसकेको इएफसियुले, कोभिड पछिको सुध्रिएको अवस्थामा आफना गतिविधिहरुलाई तिब्रता दिन थालेको छ। हाल संस्थामा एक हजार एक सय पचास जना शेयर सदस्यहरु रहेका छन्।

संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सिफारिसको आधारमा ३ हजार डलरसम्मको छिटो ऋण(Quick loan), विना धितो १५ हजार डलरसम्म उपभोक्ता कर्जा र सवारी साधनमा ५० हजार डलरसम्मको कर्जा प्रवाह गरिरहेको छ। प्रवाह गरेको कर्जामा भने कर्जा शिर्षक र ऋणीको वीत्तीय कारोबारको साखका आधारमा ७ देखि १५ प्रतिशतसम्म व्याज लिने गरेको संस्थाका डाइरेक्टर खड्ग गुरुङले जानकारी दिए।

डाइरेक्टर गुरुङका अनुसार अमेरिकाको टेक्सास राज्यमा शाखा खोलेर आफ्ना वित्तीय गतिविधिहरुलाई अगाडि बढाइरहेको यस संस्थाले, निकट भविश्यमै भर्जिनियामा पनि आफ्नो वित्तीय कारोबारलाई बिस्तार गर्ने उद्देश्यले शाखा विस्तार गर्ने तयारी गरिरहेको छ। त्यसैगरी, प्रवासी नेपालीहरुका अलावा नेपाली भाषीहरुलाई पनि संस्थामा समेट्ने उद्देश्यले शेयर सदस्यको योग्यताको दायरालाई फराकिलो बनाउने तयारी गरिरेको बुझिएको छ।