मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

राजनितिक लडाइले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिला भएको हो : डा. रिजाल

राजनितिक लडाइले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिला भएको हो : डा. रिजाल

सबै पार्टीहरुको प्रतिबद्धता छ। यो कार्यान्वयन हुन्छ, हुनु पर्छ : डा. रिजाल


डा रिजाल

नेपाली काँग्रेसका नेता एवम् नेपाल सरकारका पूर्व रक्षा मन्त्री डाक्टर मिलेन्द्र रिजालले नेपालको राजनितिक लडाइ झगडाका कारण गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिला सुस्ती भएको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले नै व्यवस्था गरे अनुरुप ऐन पारित गरेर गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्न थालिएकाले त्यसको कार्यान्वयन सोही अनुरुप हुनु पर्नेमा जोड दिएका छन्।

अमेरिकाको भ्रमणमा रहेका डाक्टर रिजालले ४२औं बिपी स्मृति दिवसको अवसर पारेर ‘उन्नत लोकतन्त्रमा साझेदारहरुको भूमिका’ विषयक एक छलफल कार्यकक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्। अमेरिकामा रहेका क्रियाशिल पत्रकारहरुसंगको भर्चुयल भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरुलाई प्रदान गरिएको गैरआवासीय नागरिकताले राजनितिक अधिकार बाहेकका आर्थिक, सामजिक, साँस्कृतिकलगायत अधिकारहरुलाई स्थापित गराउनका लागि समयमै नियमावलीहरु र निर्देशिकाहरु बनाएर कार्यान्वयनमा जान नसकिएको स्विकार गरे।

यस विषयमा सबै राजनितिक दलहरुको प्रतिबद्धता रहेकाले छिट्टै पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै डाक्टर रिजालले भने, ‘नेपालको राजनितिक लडाइ झगडा फसादले समयमा हुन नसकेको हो। यो काम हुन्छ। हुनु पर्छ।’ डाक्टर रिजालले यस विषयको आफै पनि अभियान्ता भएको र आफ्नो पार्टी नेपाली काँग्रेसले एनआरएनए अभियानको प्रारम्भदेखि नै सचेत मनका साथ साथ, सहयोग र समर्थन गर्दैआइरहेको प्रष्ट पारे।

उनले नेपालको संविधानमा ‘नागरिकता’ भनेर लेखिएको भएतापनि ‘गैरआवासीय नेपाली नागरिकता’ वास्तवमा ‘नागरिकता’ नभएर अमेरिकामा बुझिने पर्मानेन्ट रेसिडेन्स(पिआर) कार्ड जतिकै हैसियत भएको कार्ड भएको जिकिर गरे। गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा संविधानमै उल्लेख भइसकेकाले प्रवासी नेपालीहरुको त्यो प्राप्ति गर्ने अधिकार कसैले खोस्न नसक्ने र त्यसलाई कार्यान्वयनमा लैजान ऐन पनि बनिसकेकाले अब नियमावलीहरु र निर्देशिकाहरु बनाएर अघि बढ्न केही चिजले नरोकेको उनले बताए।तर, राजनितिक अस्थिरताका कारण काम हुन ढिलो भएको कुरा भने डाक्टर रिजालले स्विकार गरे।

छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डाक्टर रिजालले स्वर्गीय बिपीको व्यक्ति र दर्शनलाई स्मरण गरेका थिए। प्रजातन्त्र /लोकतन्त्रको बुझाइमा ‘स्वतन्त्रता’ महत्वपूर्ण रहेकोले त्यो ‘स्वतन्त्रता’ स्वच्छन्दताको सिमाना छिचोल्ने खाले हुनु पर्दछ र त्यसमा कुनै किसिमको अङ्कुश हुनु हुदैन भन्ने बिपीको प्रष्ट धारणा रहेको उनले स्मरण गरे। पछिल्लो समय लोकतन्त्रको माध्यमबाट निर्वाचित व्यक्ति अधिनायकवादी शासनको अभ्यासतिर उन्मुख हुदैगइरहेकोप्रति चिन्ता व्यक्त गर्दै डाक्टर रिजालले अमेरिकाको राष्ट्रपति निर्वाचन अमेरिकाका लागि मात्र नभएर सबैका लागि महत्वपूर्ण रहेको बताए।

सम्बोधनका क्रममा नेता रिजालले असल नियतका साथ समावेशी प्रतिनिधित्वका लागि अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीका कारण पछिल्लो समय नेपालमा खतरा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए। यही अवस्था रहिरहने हो भने कसैको पनि बहुमत नआउने, देशको शासन झन झन बिग्रदै जाने र भ्रष्टाचार मौलाउदै जाने उनको जिकिर थियो। वर्तमान निर्वाचन प्रणालीका कारण कसैको पनि एकलौटी सरकार बन्न नसकिरहेकाले राजनितिक अस्थिरता बढ्दै गइरहेको र त्यसका कारण संघीयताको मर्म अनुसार आपसी समन्वय र काम हुन नसकिरहेको, संसदले सरकार बनाउने र भत्काउने काम मात्र गरिरहेको, आवश्यक ऐनहरु बनाउन र विधेयकहरु पारित गर्न नसकिरहेको, सरकारको पूँजीगत खर्च गर्ने तागत कम्जोर भइरहेको र भ्रष्टाचार मौलाइरहेको उनले औल्याए।

जनताको मतका आधारमा सरकार बन्नु पर्नेमा नेताहरुका केमेस्ट्रीका आधारमा सरकार बन्ने र भत्किने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका डाक्टर रिजालको उन्नत लोकतन्त्र, समाजवाद र समृद्धिका लागि निर्वाचन प्रणालीलगायत संवैधानिक अंगहरुको समन्वय र कार्यान्वयनमा देखा परेका अप्ठ्याराहरुलाई सच्याएर अघि बढ्नु पर्नेमा जोड थियो। कार्यक्रममा रिजाललगायत सहभागी पत्रकारहरुले स्वर्गीय बिपी कोइरालालाई स्मरण गर्दै उनको व्यक्तित्व, दर्शन र योगदानका बारेमा चर्चा गरेका थिए। सम्बोधनका क्रममा वक्ताहरुले नेपाली जनतामा राजनितिक चेतना जगाउदै आमूल राजनितिक परिवर्तन गर्न बिपीले महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै कदर स्वरुप श्रद्धासुमन अर्पण गरेका थिए।